पार्टी नेतृत्वले चारजना मन्त्रीमाथि दबाब बढाउने काम मात्रै गर्‍याे

 असार १९, २०७९ आइतबार ११:५७:४४ | रामकुमारी झाँक्री
unn.prixa.net

सामान्य मान्छेसँग प्रेम, घृणा, समर्पण जस्ता भावहरु हुन्छन् । यो स्वभाविक पनि हो । असामान्यसँग यी भावहरु नहुन सक्छन् । म, सामान्य मान्छे हुँ त्यसैले मसँग सबै प्रकारका भावनाहरु छन् । मन्त्रालय छोड्ने बेलासाथीहरुले जुन वातावरण सृजना गर्नुभयो, त्यो तत्कालको २÷३ मिनेटको वतावरणले मलाई भावविव्हल बनायो । मैले आफूलाई नियन्त्रण गर्न सकिनँ । 

म धेरै पटक मन्त्री हुँदा मैले धेरै पाइला फुक्दै अघि बढाएँ । त्यतिबेला देखिएका मेरा खुशीहरु देखावटी थिए । त्यतिखेर म धेरै गम्भीर थिएँ । म मन्त्री भएको कहिले हो, खुशी हुने कहिले हो भने जस्तो पनि अनुभव हुन्थ्यो । तर, जब मैले १ सय दिनमा केही काम गरेर देखाउनु पर्छ भनेर काम गर्दै थिएँ । १ सय दिनमा धेरै काम गर्न सकिँदैन अनि आफूले गरेको प्रयास पनि परिपक्व भइसकेको हुँदैन । त्यो १ सय दिनमा म धेरै आत्तिएको थिएँ । सबैले परिणाम खोज्नुहुन्छ भन्ने लागेको थियो । 

१ सय दिन वरपर मैले यति धेरै मेहनत गरें । त्यसका परिणामहरु केही देखिन पनि थाले । मैले गर्न खोजेको काम अनि सत्प्रयास मेरो टिमले बुझ्यो । टिमले मात्र नभएर मन्त्रीपरिषद्का अन्य साथीहरुले पनि बुझे । अन्य सरकारी निकायले पनि बुझ्दै गयो । प्रधानमन्त्रीले पनि बुझ्नुभयो र मलाई काम गर्न केही सहज पनि भयो । पछिल्लो समय म काममा धेरै केन्द्रित भएँ । मसँग समय एकदमै कम हुन्थ्यो । म काम, काम भन्न थाल्दा बाहिरी मान्छेसँगको मेरो सम्पर्क कम भयो । 

मैले अहिले गरेका कामहरु पानी उम्लनु अघिको ९९ डिग्री जस्तो हो । पानी उम्लनलाई १ सय डिग्री चाहिन्छ त्यो ९९ सय डिग्रीमा पनि उम्लँदैन । मेरा कामहरु पनि अहिले ९९ डिग्रीमा पुगेका जस्ता भएका छन् । यसमा मैले गरेका काम देखाउन पाइन वा कामसँग वा मन्त्रालय छोड्दैछु भन्ने कुनै पनि कुरासँग मेरो भावना सम्बन्धित होइन । 

मैले गरेको कामको फेहरिस्त जसरी मिडियाहरुलाई निमित्त सचिवज्यूले राख्दै हुनुहुन्थ्यो त्यसमा मैले मेरो टिमलाई ओहो मलाई जसरी सहयोग गर्नुभयो त्यसमा म भावुक भएकी हुँ । सबैले कर्मचारीतन्त्रलाई नकारात्मक ढंगले सोच्छन् तर, त्यो नभएर आफूले कसरी चलाइयो भन्ने कुरामा निर्धारण हुने रहेछ भन्ने हिसाबले साथीहरुलाई छोड्नु पर्दा अलि भावुक भएँ । 

मैले सचेतता पूर्वक काम नबिगारीकन मन्त्रालयको टिमसहित सबैलाई विश्वासमा लिएर काम गरिरहेकी थिएँ । त्यस्तो काम गरिरहेको मान्छेलाई किन निकालेको होला भन्ने प्रसंगमा उहाँहरुले राजनीतिक टिप्पणी गर्नु भएको होला म त्यसलाई पनि केही भन्दिनँ । दलीय व्यवस्थामा दलले निर्णय गर्यो मैले त्यो मानेर आउने त भइ नै हाल्यो । 

पार्टीमा ओली प्रवृत्ति

ओली प्रवृत्ति पहिले ठूलो भाँडोमा थियो एमालेमा आउँदा । ठूलो भाँडोबाट केही पात र त्यो प्रवृत्तिसहित हामी छुट्टै केही सानो भाँडोमा बस्न आएका हौँ । त्यसकारण त्यो जम्मै छ, छैन म भन्दिनँ । यो पार्टी पुनर्गठनको प्रक्रियामा जसरी रुपान्तरण हुने हो त्यस्तो भएन । जस्तो एउटा बैठकमा अध्यक्षले निष्कर्ष निकाल्दा मन्त्री साथीहरुले के भन्नु भएको थियो भने चैतमा एउटा सूचना दिनुहोला ताकि हामी आफैँ मन्त्रालयबाट निस्कने एउटा वातावरण बनाएर निस्कन्छौँ । तर, निर्णय नै भएको छैन म कसरी भन्ने भनेर अध्यक्षले भन्दै गर्दा मैले कस्तो पार्टी बनाउने प्रयास गरें जसमा परामर्श भन्ने कुराको गुञ्जायस हुँदैन । पार्टीमा निर्णय मात्रै सुनाउने हो कि निर्णय पूर्वको परामर्श पनि हो । 

हामी त नेता पनि त हो नि । यस्ता विषयमा यस्तो कुरा उठ्दैछ भनेर परामर्श जरुरी थिएन त ? अध्यक्षले निर्णय नै सुनाउने हो त ? एउटा संस्थाको मेनेजरले पनि निर्णय सुनाउनु पहिले परामर्श गर्छ भने हामी त राजनीतिक नेतृत्व हो । एकैपटक निर्णय सुनाउने ? 

अध्यक्षले निर्णय नै नभइकन मैले कसरी सुनाउने, उहाँहरुलाई फिर्ता बोलाउने निर्णय हुन्छ÷ हुँदैन मैले कसरी सुनाउने भनेर अध्यक्षले भन्दै गर्दा हामी रुपान्तरण हुन्छौँ, गर्छौँ भनेर लागेको पार्टीमा हामीसँग सामान्य परामर्श पनि आवश्यक ठान्दो रहेनछ भने यो त निर्णय सुनाउने ठाउँ रहेछ, यान्त्रिक रहेछ भन्ने मलाई लाग्यो । अब म सरकारको कामबाट फर्किएँ त्यसकारण अब पार्टी बनाउने काममा लाग्छु । अब युवाहरुको आशा भरोसा हुनेगरीको पार्टी बनाउँछु र काम गर्छुु । आजसम्म नेतृत्वले गरेका गल्तीहरुलाई सच्याउँदै पार्टी बनाउने अभियानमा लाग्छु । 

शहरी विकास मन्त्री भइसकेपछि पार्टीको कामबाट झिकिएँ । मन्त्रीको बाहेक मेरो अर्को काम थिएन । त्यसकारण पनि पार्टीमा मेरो हस्तक्षेपकारी भूमिका भएन । प्रदेशका प्रमुख, इन्जार्च, महासचिव अनि संगठन विभाग अरुले नै हेर्नुभएको छ । विभिन्न संगठनको इन्चार्ज भएर अरुले काम गरेका छन् । सचिवालय पनि उहाँहरुले आफू, आफू बसेर बनाउनु भएको छ । त्यसकारण पनि म परामर्श गर्ने ठाउँमा छैन । यसकारण पनि धेरै कुरामा अनभिज्ञ छु । 
मैले साढे आठ महिना काम गर्दा निर्णय सार्वजनिक हुनुभन्दा लगभग दुई महिना अगाडि परामर्श गरेकी छु । जुन कुरा बाहिर आएपछि पछाडि हट्न नपरोस भनेर मैले त्यसो गर्ने गरेकी छु । कर्मचारीतन्त्रको त्यो संरचना भित्र त परामर्शको जरुरी हुन्छ भने राजनीतिक मान्छेलाई परामर्श चाहिँदैन र ? परामर्श गरेको भए उपाय त हामी निकाल्थ्यौँ । 

अहिले जसरी उहाँहरुले आफूलाई बचाउ गर्दै हिँड्नु भएको छ त्यो गर्नु पर्ने थिएन । हामी त राजनीतिक मान्छे हो । राजनीतिक प्रक्रियामा भाग लिँदै, लिँदै म मन्त्री भएँ हुँला । जिम्मेवारी अर्को भयो होला तर, परामर्श नगरी जुन किसिमको भाष्य बनाइएको छ त्यो गलत हो । 

६/६ महिनामा मन्त्री बनाउने कुरा

६/६ महिनामा मन्त्री बनाउने कुरा पनि केही मान्छेहरुले केही मान्छेहरुलाई आफ्ना सांसद नीजि लिएर आएको भन्ने कुरा जस्तो सुनिन्थ्यो । उनीहरुको बीचमा भएको सम्झौता हो । हामी बीचमा भएको होइन । हामीलाई थाहा पनि थिएन । तर, त्यो भन्न जरुरी विषय पनि होइन । हामीलाई त २ महिनामा बोलाएको भए पनि आउँथ्यौँ । तर यो भनिने र करारनामा गरिने विषय पनि होइन । हामीले ६ महिना चाहिन्छ भनेर गएको पनि होइन । 

पाटी विभाजन हुँदा मलाई देशभरीका साथीहरुले महासचिव बनेर काम गर भनिरहनु भएको थियो । म पनि त्यही चाहन्थेँ । तर, नेतृत्वले तपाईँहरु मन्त्री बनेर जिम्मेवारी निर्वाह गर्नुस् भनेपछि नमान्ने कुरा पनि भएन । 

म त्यसबेला पनि जुनसुकै जिम्मेवारीमा रहेर काम गर्न चाहन्थें । अहिले पनि इमानका साथ काम गरेकी छु । मेरो मूल्यांकन अझ हुँदै पनि जान्छ । म निराश पनि छैन । 

मिडियामा हामी नेतृत्वसँग बोल्दैनौं भन्ने कुरा पनि नेतृत्वको निरीहता हो । हामी अस्ति बैठकमा पनि गएका थियौँ । त्यसो त उहाँहरुले पार्टीमा रहेका अरु साथीसँग सामना गर्न किन सकिरहनु भएको छैन भन्ने उहाँहरुको पनि कुरा हो । उहाँहरुले बोलाउनु भएको भए हामी तुरुन्तै कुरा गर्न जान्थ्यौँ होला । परामर्श पनि गरे हुन्थ्यो । 

म परिषद्को बैठकमा गएको थिएँ । बैठकमा देशभरीबाट आएका साथीहरुलाई हाम्रा बारेमा भएका नकारात्मक कुराका बारेमा म केही समय लिएर बोल्न चाहन्थेँ जसले गर्दा कार्यकर्तालाई उत्साहित बनाएर पठाउँ । हामी पार्टीको निर्णय कार्यान्वयन गरेर आएका छौँ भनेर भनौं भनेर १३ गतेको बैठकमा बोल्न समय पनि मागेको थिएँ । तर, उहाँहरुले समय दिनु भएन । बरु संसदमा बोल्न पाइन्छ । त्यहाँ उहाँहरुले समय नदिइसकेपछि सबैले अपराधी, अपराधी भनेर करार गरिरहेको ठाउँमा के धेरैबेर बसिरहनु भनेर अलि चाँडो पनि निस्किएँ म । 

पार्टी विभाजनको औचित्य त किन सावित भयो भने हामीले एउटा राजनीतक घटनाक्रमको कोर्सलाई बदल्ने कोशिश गर्यौँ । एक हिसाबले बदलियो र आवधिक निर्वाचनको प्रक्रिया भित्र हामीले राजनीतिक प्रक्रियालाई छिरायौँ । हामी एमालेबाट बाहिर आउनुको कारण यसले पुष्टि गरेको छ । 

मध्यावधि र राजनीतिक अस्थिरताको जुन बाटोमा हामी हिँडिरहेका थियौँ र यसपछि के हुन्छ भन्ने संशयपूर्ण अवस्था थियो त्यहाँबाट हामीले राजनीतिलाई एउटा दिशा दियौँ । तर, मानिसको सोच, मनोविज्ञान, प्रणालीले गर्ने कामका बारेमा पनि केही न केही व्यवस्था भएकै छ । त्यसलाई अन्यथा भन्न मिल्दैन । 

यस्तो अन्तर्राष्ट्रिय घटनाक्रम भएको बेला हामी कोभिडको महामारीबाट गुज्रेर आयौँ । जिडीपीमा २७÷२८ प्रतिशत योगदान दिने रेमिट्यान्समा वैदेशिक रोजगारी बिग्रेर आयो, अर्थतन्त्रमा त्यति नै योगदान रहेको पर्यटन खस्किँदा पनि राजनीतिक रुपमा हाम्रो देशलाई आत्मविश्वासका साथ संचालन गरेका कारण देश दुर्घटनामा जाने बाटोमा छैन । 

कोभिडपछि हामी आरामले सुधार भयौँ । राजनीतिक प्रक्रियासँगै यी कुराले पनि एउटा आत्मविश्वास आर्जन भएको हो । यसकारण हामी सही बाटोमा छौँ । तर, पार्टी बन्ने काम के रहेछ भने एक वर्ष नभए पनि पार्टीलाई जसरी रुपान्तरण गर्नुपर्ने हो त्यसमा मान्छेहरु छेउ लागेर ४ वटा मन्त्री कसरी हिँड्छन अनि पार्टी कसरी बन्छ जस्तो गरेर सबै मान्छेको ध्यान हामी माथि केन्द्रित भयो । यसमा पार्टीको कमिटि बन्न पनि विकासको कुरा नलगि बन्दैन भन्ने जस्तो अनि एउटा सानो विकास आयोजना, सानो पार्टीको काम भनेजस्तो जोडेर सबै काम हामीप्रति केन्द्रित भयो । त्यसले गर्दा पार्टीमा बसेका मान्छेले काम भन्दा पनि हामी माथि निगरानी, दबाब तथा अपेक्षा थोपर्ने काम गरे । त्यसकारण उहाँहरुले पार्टी बनाउने काम त केही पनि गर्नु भएको छैन । सदस्यता त छाप्नु भएको छैन । देशभरी कमिटि बनाउनु भएको छैन । पालिका तथा वडा तहमा कमिटि बनेको छैन । 

म पार्टीको सचिव मैले आजसम्म पनि पार्टीको सदस्यता लिएको छैन । उहाँले सदस्यता छाप्ने काम गर्नु भएको छैन । संगठन विभाग सक्रिय भएको छैन । महासचिवले काम त गर्दै हुनुहुन्छ ? जनसंगठनका सम्मेलन अधिवेशनका कुरा छोडौँ उहाँहरुले बैठक त राख्दै हुनुहुन्छ ? ७ सय ५३ पालिकामा गठबन्धन बाहेकका पनि उम्मेदवार त खडा गर्नुभयो ? ६ हजार ७ सय ४३ वडाहरुमा उहाँहरुले उम्मेदवार खडा गर्नुभयो ? कति युवा, महिला विद्यार्थी निर्वाचनमा परिचालन भए ? कति भोट प्राप्त गरे ? यो दिइएको काम चाहिँ उहाँहरुले गर्नु भएन । उहाँहरुले ४ जना मन्त्री माथि दबाब बढाउने काम मात्रै गर्नुभयो । यसकारण पनि पार्टी रुपान्तरण भएन । अर्को कुरा निर्वाचनको समीक्षा गर्न बसेको बैठकले ४ जना मन्त्री हटाउने निर्णय गर्नु भएको छ । उहाँहरु कुन बाटोमा हिँड्दै हुनुहुन्छ ? यो निर्णय भनेको कुण्ठाग्रस्त निर्णय हो । 

सबैको कामको समीक्षा 

हामीलाई दिएको जिम्मेवारीको काममा कसैले औँलो ठड्याउने गरी काम गरेका छैनौँ । बरु स्याबासी दिने गरी काम गर्यौँ । उहाँहरुले आफ्नो काम गर्नु भएको छैन । आफ्नो काम, आफ्नो धन्दा, आफ्नो अभियान केही नगरेर हर चिज जब ४ जना मन्त्री माथिको दबाबमा केन्द्रित गर्नुभयो त्यसपछि पार्टीको कुनै प्रक्रिया अघि बढेन । 

म यसो हेर्छु मन्त्री हुनु अगाडि ४२ दिनमा ३६ वटा जिल्ला कमिटि बनाउन गएको थिएँ । त्यस बेला मलाई महासचिवको जिम्मेवारी दिएको भए सबै गर्थेँ । अहिले न पालिका कमिटि छ, न वडा, न जिल्ला, न क्षेत्रीय कुनै कमिटि छैन । न सदस्यताको रेकर्ड छ । केही छैन । 

उहाँहरु पार्टी कार्यालयमा बसेपछि मानिसहरु आउँछन् कतिलाई योजना चाहिन्छ, कतिलाई जागिर चाहिन्छ, कतिलाई पैसा चाहिन्छ ती सबैलाई मन्त्रीतिर देखायो । दिनभर त्यस्ता मान्छेसँग व्यस्त भयो अनि काम चाहिँ राति गर्नुपर्ने हुन्थ्यो हामीले । उज्यालो भएर मेरो गाडी देखुन्जेल मान्छे आउँथे । अनि ती सबै मान्छे हटाएर राति मैले काम गर्नुपथ्र्यो । मान्छे सिंहदरबार नछिर्दै गएर काम गर्नुपर्थ्याे त्यो खालको अवस्था थियो । त्यो अवस्थाबाट म गुज्रेर आएँ भने उहाँहरुको पनि समीक्षा हुनुपर्यो । 

गठबन्धनका बेला प्रधानमन्त्री अनि प्रचण्डसँग जुन किसिमको प्रतिबद्धता थियो त्यस अनुसार उहाँहरुले भाग लिन सक्नु भयो त ? उहाँहरु आफू जे हो त्यही बनेर निर्णय गर्न सक्नुभयो । उहाँहरुले के निर्णय गर्नुभयो भन्दा गठबन्धनका जुन जुन दलहरुले पहिले आफूले जितेका थिए त्यही ठाउँमा प्राथमिकता दिने अनि भोटको आधारमा आंकलन गर्ने भन्ने निर्णय गर्नुभयो । जब कि समाजवादी पार्टी पहिलो पटक यही स्थानीय निर्वाचन सामना गर्दैछ भने हाम्रो कुरा सम्बोधन हुने गरेर निर्णय गराउनु पर्दैन गठबन्धनमा, त्यो कौशलता खोइ उहाँहरुको । गठबन्धनमा जाने कसैले नपत्याउने ठूला कुरा गर्ने जुन कुरा सँगैको समकक्षीले पत्याउन्नन् । यी मान्छे किन आएका होलान भन्दिन्छन् । त्यो भएपछि सम्वाद सही हुन्छ ।  

यो ३० वर्षको राजनीतिक जीवनमा हामीले जे काम गर्दै गयौँ अर्थात जे अभ्यास गर्यौँ, जे सिक्यौँ यता मन्त्री भएर काम गर्न आएपछि यस्ता कुनै पनि कुरा काम नलाग्ने रहेछ । हामीले राजनीतिक रुपमा गरेको अभ्यास मन्त्री हुँदा कुनै पनि काम लाग्दैन । सांसद हुँदा केही काम लाग्ला । यता सबै नयाँ अध्याय सुरु हुन्छ । यसमा  म पनि नयाँ नै थिएँ । पार्टी विभाजन भएको थियो । थुप्रैे सहयात्री अग्रज साथीहरुलाई छोडेर आएको थिएँ । त्यसकारण न म खुशी न विस्मातको अवस्थामा थिएँ । म त्यस्तो अवस्थामा गएको हुनाले कसैलाई केही भन्दैनथेँ । राजनीतिक अभ्यासबाट यता आइसकेपछि मान्छेले बाहिर जे सोच्छन् हावा सोच्छन् । त्यो सोचेको कुरा यहाँ गर्नुपर्ने हुँदैन । 

अर्कै मन्त्रालयको कुरा थियो, शपथ ग्रहण अर्कै मन्त्रालयमा भयो 

यहाँ आइसकेपछि जुन मन्त्रालय मेरो भागमा पर्यो शहरी विकास भन्ने विषय मेरो शपथ ग्रहण गर्न जाँदाको बाटो भरीको म्याद हो जम्मा । किनकि मेरो लागि अर्कै मन्त्रालयको कुरा थियो । शपथ ग्रहण अर्कै मन्त्रालयमा भयो । रातभरी सोचेको कुरा त काम लागेन भने ३० वर्षको राजनीतिक अभ्यास पनि काम लागेन । 

बल्ल मैले शहर, बाटो, खानेपानी, शहरका सुख, दुःख, गरिबी अनि अरु कुरा सोच्न थालेँ । म शितल निवास जाने बेलामा एकीकृत रुपमा शहरको बारेमा सोचेर गएको थिएँ । यस बारेमा मैले कसैसँग कुरा गर्न पनि भ्याइन । पछि एक दुई जना अग्रजहरुलाई सन्देश पठाएपछि उहाँहरुले जवाफ फर्काउनु भयो । पदभार ग्रहण गर्न आउँदा धेरै साथीहरु हुनुहुन्थ्यो । लाइभ गरिराख्नु भएको थियो । त्यो मेरो लागि केही गर्ने दबाब पनि थियो । 

म गाउँबाट आएको मान्छे मैले शहरका बारेमा केही धारणा बनाएँ । धारणा भित्रबाट हामी कहाँ छौँ भन्ने हेरेँ र यसलाई फेर्न के गर्नुपर्छ भनेर टिममा काम गर्नुपर्छ भनेर मन्त्रालयमा भनेँ । त्यो बेलामा म थोरै बोल्छु र काम गरिरहन्छु अनि गरेको कामको बारेमा पछि भन्छु भनेको थिएँ । 

आएपछि सबैभन्दा पहिले मेरो मन्त्रालय, कार्यक्षेत्र, सीमा, यसका संरचनाहरु पनि मैले छोटो समयमा बुझेँ । रातभरी पढेँ पनि । अनि मैले सुधारमा हात हालेँ । जुन जुन योजनामा कमजोरी थियो त्यसका सम्बद्ध मान्छेसँग बसेर छलफल गरेँ । मलाई सुरुका दिनदेखि कर्मचारीले व्यवधान उत्पन्न गरे, सहयोग गरेननु अन्त लाँदैछन् भन्ने कहिले पनि महसुस भएन । मेरो र उहाँहरुको सोच्ने तरिका पनि मिल्ने । यसरी मिल्दै जाँदा काम गर्न रमाइलो भयो । अनि सुधारका यति योजना अगाडि सारियो कि जसले गर्दा मेरै मान्छे रिसाउने स्थिति भयो । उदाहरणका लागि बदनाम भएको अनि अख्तियार तथा महालेखा परीक्षकको कार्यालयबाट पटक पटक लेखिएको उपभोक्ताद्वारा गरिने काम थियो । अर्को व्यवस्था नहुन्जेलसम्मका लागि भनेर त्यसलाई रोकेँ । दलीय हिसाबले सबैभन्दा धेरै उपभोक्ता समिति बनाएर विकास बाँडेर खाने कार्यक्रम हो त्यो । त्यस्ता कुराले म आएको १ महिना नहुँदै प्रहार सुरु भयो । अनि केही मिडियाकर्मी साथीहरु पनि उपभोक्ताका ठेकेदार रहेछन् । उनीहरु आएर मलाई हतोत्साहित गरे । यो निर्णयमा अडिन सक्नुहुन्छ भन्ने जस्ता कुरा गरे । अडिन सकिन कि भनेर मैले त्यो निर्णयलाइ ढिलो बाहिर ल्याएँ । 

काम यसरी गरियो कि मन्त्रालयको टिमका सबै साथीहरुले कामको रमाइलो लिनुभयो । त्यसकारण कर्मचारीले काम गर्न दिँदैनन्, सहयोग गर्दैनन्, टार्छन भन्ने कुरा हुँदै होइन । राम्रोसँग नेतृत्व गर्ने, उहाँहरुको विश्वास लिने, सही कुरा गर्ने कारणले उहाँहरुले सहयोग गर्नु भएको हो । त्यसकारण म ८ महिना २० दिन जसरी बसेँ एकदमै सहयोग भयो । मेरो मन्त्रालयबाट मात्र होइन मुख्य सचिव, प्रधानमन्त्री कार्यालयका सचिव लगायतका सबैले सहयोग गरे । 

गठबन्धनको आवश्यक्ता

अब आउने चुनावमा आवश्यक्ता गठबन्धनको हो । गठबन्धनको माध्यमबाट नै हामी निर्वाचनमा जानुपर्छ । त्यसको अपरिहार्यता अहिले पनि त्यति नै छ । अब आउने चुनाव र त्यसपछि पनि यसको अपरिहार्यता रहन्छ नै भन्ने लाग्छ । हामी जुन निर्वाचन प्रणालीबाट आएका छौँ यसले एउटा दलको बहुमत नआउने हुनाले संयुक्त सरकार हुन्छ । संयुक्त सरकारमा सकभर गठबन्धनमा संयुक्त गठबन्धनको माध्यमबाट आएका दलहरुले काम गर्न पाए राम्रो हुन्छ भन्ने हिसाबले गठबन्धन जरुरी छ । 

वामपन्थीहरुको सहकार्य, एकता, सम्वादको कुरा आजै यो हुँदैन भनेर जानु परेन किनभने वामपन्थीहरुले पनि एउटा खास ग्राउण्डमा काम गर्न सक्यो भने वामपन्थीहरुको लागि पनि ठाउँ छ । तर, हामीले वामपन्थीको नाममा जे गरिरहेका छौँ त्यसले ठाउँ चाहिँ छैन । त्यसकारण अहिले हामी चुनावसम्म चाहिँ गठबन्धनमा जान्छौँ ।  

(निवर्तमान मन्त्री एवं एकीकृत समाजवादीकी सचिव झाँक्रीसँगको कुराकानीमा आधारित)

अन्तिम अपडेट: साउन २७, २०७९

रामकुमारी झाँक्री

झाँक्री निवर्तमान मन्त्री एवं एकीकृत समाजवादीकी सचिव हुनुहुन्छ ।

1 Comments

  • Dhama Paudyal

    July 9, 2022, 4:29 p.m.

    यस्को रोइलो याने रुवाबवासी अझै सक्किएको रहेनछ । माकुनेलाइ एकपटक् हात समाएर घिच्च्याएर कोठा भित्र लगेको पारितोशिक कति चाहियो त? धेरै असन्तोसि बन्दा त्यो दाङ्ग कि के जाति ओलि कै जस्तो अबस्था होला।

  •  0 Reply

तपाईको प्रतिक्रिया