दाङमा बिरुवा हुर्काउन र संरक्षण गर्न 'एक विद्यार्थी दुई बिरुवा रोप्ने' कार्यक्रम

 असार २१, २०७९ मंगलबार २०:१५:४५ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङमा बिरुवा हुर्काउन र संरक्षण गर्न एक विद्यार्थी दुई बिरुवा कार्यक्रम सुरु गरिएको छ । रोपिएका बिरुवा हुर्काउन र संरक्षण गर्न विद्यालयसँग सहकार्य गरेर कार्यक्रम थालिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

डिभिजन वन कार्यालय दाङको सहयोगमा घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलमा अध्ययनरत हरेक विद्यार्थीले दुई वटा बिरुवा रोप्ने र संरक्षण गर्ने कार्यक्रम सुरु गरिएको हो । ‘एक घर दुई वृक्ष, सहर हाम्रो बनाउ स्वच्छ’ कार्यक्रम र विद्यालयको ‘एक विद्यार्थी दुई बिरुवा, संरक्षण गरौँ पानीको मूल र जरुवा’ भन्ने कार्यक्रमअनुसार आज मङ्गलवार दुवै विद्यालयका विद्यार्थीलाई दुई वटाका दरले तीन हजार बिरुवा वितरण गरिएको छ । 

कार्यक्रमका लागि कागती, कपुर, धुपी, पारिजात, गुलमोहर, अमला, कपुर, दालचिनी, टिमुर, कल्कीलगायत प्रजातिका तीन हजार बिरुवा विद्यालयलाई निःशुल्क उपलब्ध गराएको डिभिजन वन कार्यालय दाङका प्रमुख डिभिजन वन अधिकृत मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । बिरुवा लगाउने ठाउँ,  क्षेत्रफल र विद्यार्थीको चाहनाअनुसार वितरण गरिएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय घोराही दाङका ‘समाज र विद्यालय सँगसँगै’ कार्यक्रमका संयोजक ध्रुवराज पौडेलले जानकारी दिनुभयो ।

विद्यार्थीमा जल, जङ्गल र जमिनप्रति स्नेह राखी वातावरण संरक्षण र प्रवर्द्धनमा सचेतना ल्याउनका लागि ज्योतिपुञ्जमा अध्ययनरत विद्यार्थीलाई बिरुवा घरमै लगेर अभिभावकको सहयोगमा रोप्ने र संरक्षण गर्ने काम सुरु गरिएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले जनाएको छ । विद्यार्थीले प्रयोगात्मक परीक्षामा अङ्क पाउने योजनासहित वृक्षरोपण कार्यक्रम गर्न लागिएको विद्यालयले जनाएको छ । 

वृक्षरोपण कार्यक्रम वर्षाैँदेखि गर्र्दै आइरहेको भए पनि हुर्काउने र संरक्षण गर्ने काममा विद्यालयसँग सहकार्य गरिएको यो कार्यक्रम सफल हुने डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीको विश्वास छ । विद्यार्थीलाई नै सहभागी गराएर हुर्काउने र संरक्षण गर्ने गरी गरिएको यो कार्यक्रम नै जिल्लामा पहिलो भएको कार्यालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया