तत्काल राहदानी बनाउनेलाई राष्ट्रिय परिचयपत्र बनाउन प्राथमिकता दिऔँ, अरूले बिस्तारै भिडभाड नगरी बनाऔँ

 असार २२, २०७९ बुधबार १२:७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

सरकारले विद्युतीय राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि अहिले राष्ट्रिय परिचयपत्र बनाउनका लागि नागरिकले सास्ती भोग्न परेको छ । काठमाण्डौ उपत्यका लगायत सबैजसो जिल्ला प्रशासन कार्यालयहरूमा राष्ट्रिय परिचयपत्र बनाउनेको भिडभाड छ । काठमाण्डौ उपत्यका बाहिरका नागरिकका लागि विभिन्न केन्द्र तोकेर काठमाण्डौ उपत्यकामै​ राष्ट्रिय परिचयपत्र बनाउने व्यवस्था गरे पनि केन्द्रहरूमा बिहानैदेखि लाइन लाग्न पर्ने बाध्यता छ । सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पनि राष्ट्रिय परिचयपत्र बनाउन सहज नहुँदा त्यसकै लागि भनेर समय र पैसा दुवैको अनावश्यक खर्च भइरहेको छ । पञ्जीकरण विभागले वडा वडामै गएर नागरिकको विवरण सङ्कलन गरिरहेको छ । तर पनि जिल्ला प्रशासन कार्यालयमा गएर राष्ट्रिय परिचयपत्र बनाउन सहज छैन ।​ नागरिकता हुँदा हुँदै राष्ट्रिय परिचयपत्र किन अनिवार्य गरियो त ? नागरिकता र राष्ट्रिय परिचयपत्रमा के फरक छ ? नागरिकले सहज रूपमा राष्ट्रिय परिचयपत्र कहिले पाउलान् ? यिनै विषयमा सन्जिता देवकोटाले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका निर्देशक ललित कुमार बस्नेतसँग कुराकानी गर्नुभएको छ ।

नागरिकता हुँदा हुँदै राष्ट्रिय परिचयपत्र किन बनाउन परेको हो ?

नागरिकतामा मुलरुपमा व्यक्तिको वैयक्तिक विवरण हुन्छ भने राष्ट्रिय परिचयपत्रमा व्यक्तिको वैयक्तिक विवरणका साथै जैविक विवरण (बायोमेट्रिक डिटेल्स) पनि हुन्छ । नागरिकताबाट भन्दा व्यक्ति पहिचान गर्नको लागि राष्ट्रिय परिचयपत्रबाट सहज हुन्छ ।

अहिले राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणालीको विकास भएको छ । यो प्रणालीमा अरू प्रणालीहरू पनि जोडिइसकेपछि नागरिकता लगायत अन्य विभिन्न कागजात बोक्न पर्ने अहिलेको जुन बाध्यता छ त्यो बोक्न पर्ने बाध्यता हट्छ । १० अङ्कको राष्ट्रिय परिचयपत्र नम्बर मात्र व्यक्तिले याद गर्नुभयो भने त्यही नम्बरको आधारमा नागरिकले छिटो र सहज ढङ्गबाट सेवा प्राप्त गर्न सक्नुहोस् भन्ने अभिप्रायले यो व्यवस्था गरिएको हो।

अहिले वैयक्तिक विवरणबाट मात्र व्यक्ति पहिचान गर्दा खेरी झुक्क्याउने सम्भावना हुन्छ । जस्तो कि एक व्यक्तिले काठमाण्डौमा एउटा नामबाट केही अपराध गर्ला, नागरिकता लिएको होला फेरि अर्को ठाउँमा गएर अर्को अपराध गर्ला उसले आफ्नो रूप बदल्न सक्ला । तर यो राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध भइसकेपछि व्यक्तिले त्यसरी ढाँट्ने सम्भावना हुँदैन । 

किनभने राष्ट्रिय परिचयपत्रमा उसको औँठा छापदेखि आँखाको स्क्यान गरेर राखिएको हुन्छ । यसकै आधारमा व्यक्ति पहिचानको लागि र अपराधीहरू पत्ता लगाउनको लागि पनि सहज हुने हुँदा यो आवश्यक छ । 

राष्ट्रिय परिचय पत्र बनाइसकेपछि नागरिकताको काम के हुन्छ ? कस्तो अवस्थामा नागरिकता र कस्तो अवस्थामा राष्ट्रिय परिचयपत्र काम लाग्छ ?

अहिले नागरिकताको आधारमा राष्ट्रिय परिचयपत्र दिइरहेका छौँ । नागरिकता भएका व्यक्तिले मात्र राष्ट्रिय परिचयपत्र बनाउन पाइरहनुभएको छ । त्यस कारण अहिलेको आधारभूत कुरा भनेको नागरिकता नै हो । तर हामीले गर्न खोजेको नागरिकले सेवा प्राप्त गर्नका लागि नागरिकता लगायताका कुनै पनि कार्डहरू बोकेर हिँड्न नपरोस् भन्ने हो ।

केही वर्षभित्रमा त्यो हिसाबले राष्ट्रिय परिचयपत्रलाई प्रयोगमा ल्याइन्छ । राष्ट्रिय परिचय प्रणालीमा सबै विवरण आइसकेपछि थरी थरीका कार्डलाई एकीकृत गरेर एउटै कार्ड बनाउने विभागको सोच भनेको हो ।

केही वर्षपछि चाहिँ धेरै खाले कार्ड बोक्न नपर्ने र एउटै कार्डले काम गर्ने गरी हामी सिस्टम लागू गर्छौँ ।

त्यसो भए अहिले राष्ट्रिय परिचयपत्र र नागरिकता दुवै उत्ति नै आवश्यक छ । तर बिस्तारै नागरिकताको काम राष्ट्रिय परिचयपत्रले गर्छ भनेर बुझ्दा भयो ?

नागरिकताको मात्र होइन, मतदाता परिचयपत्र होला, सामाजिक सुरक्षा कार्ड होला, लाइसेन्स होला यी सबै अहिले छुट्टा छुट्टै कार्डहरू छन् । तर यी सबैको विवरण अन्तर आबद्ध गरिसकेपछि एउटा राष्ट्रिय परिचयपत्र त्यो पनि कार्ड बोकिराख्न परेन त्यसको १० अङ्कको जुन नम्बर हुन्छ त्यो नम्बर याद भयो भने त्यसको आधारमा सेवा सुविधा प्राप्त गर्न सकिन्छ । 

राष्ट्रिय परिचयपत्र र नागरिकतालाई एउटै बनाउन मिल्दैन ?

अहिले त नागरिकता र राष्ट्रिय परिचयपत्र छुट्टाछुट्टै छ । संविधानले पनि नागरिकता सम्बन्धी छुट्टै व्यवस्था गरेको छ । राष्ट्रिय परिचयपत्र सम्बन्धी पञ्जीकरण ऐनले पनि छुट्टै व्यवस्था गरेको छ । तर हामीलाई पनि लागेको के हो भने कुनै विन्दुमा गएर राष्ट्रिय परिचयपत्र र नागरिकता एकीकृत हुनै पर्छ । त्यो किसिमले एकीकृत बनाउन पर्छ भनेर पनि हामीले नेपाल सरकारलाई सुझाव दिएको अवस्था हो । अहिलेको कानुन विधि अनुसार यो छुट्टा छुट्टै नै छ ।

विद्युतीय राहदानी जारी हुन थालेपछि विद्युतीय राहदानीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरियो । त्यसपछि राहदानी बनाउन चाहने हरेकलाई राष्ट्रिय परिचयपत्र तत्काल बनाउन पर्ने बाध्यता नै भयो । तर यो बनाउन चाहिँ सहज भएन नि । एक दिन नै खर्च गरेर लाइन लाग्नु पर्ने बाध्यता छ । किन सहज रूपमा बनाउने व्यवस्था भएन ? 

हामीले २०७८ सालको मङ्सिर १ गतेदेखि विद्युतीय राहदानी बनाउँदा राष्ट्रिय परिचय प्रणालीबाट त्यसमा भेरिफिकेसन गर्ने र राष्ट्रिय परिचयपत्र नम्बर चाहिँ अनिवार्य राख्ने व्यवस्था गर्‍यौं ।  राहदानी बनाउने व्यक्तिहरू राष्ट्रिय परिचय पत्र बनाउन थाल्नुभयो ।

जसको कारण पनि एकै पटक सबैतिर भिड भयो । कुनै बेला राहदानी बनाउन पर्छ त्यो चाहिएला भनेर पनि बनाउन थाल्नुभयो । अर्को चाहिँ यो परिचयपत्र बनाउनै पर्ने रहेछ भनेर सबै नागरिकहरूले एकै पटक बनाउन खोज्दा पनि भिड भएको हो ।

विभागले भिड नहोस् । सरल र सहज रूपमा नागरिकको विवरण दर्ता गर्न सकियोस् भन्नका लागि पूर्वाधार विकास गरिरहेको छ । अहिलेकै कुरा गर्नुहुन्छ भने पनि ७७ वटै जिल्ला प्रशासन कार्यालयमा आवश्यकता अनुसार स्टेसनहरू स्थापना गरेका छौँ । अधिकांश इलाका प्रशासन कार्यालयहरूमा पनि विवरण दर्ता गर्ने व्यवस्था मिलाएका छौँ ।

भिडभाड नगरी बनाउनुहुन अनुरोध गर्छु । बनाउन त यहाँहरू सबै जनाले नै बनाउन पर्छ । अहिले जसलाई राहदानी बनाउन परेको छ उहाँहरूको लागि अनिवार्य हो तर अरूले चाहिँ बिस्तारै भिडभाड नगरी समय मिलाएर बनाउनुहोस् भन्न चाहन्छु । 

काठमाण्डौ उपत्यकामा बसोबास गर्नुहुने विभिन्न जिल्लाका नागरिकहरूलाई राष्ट्रिय परिचय पत्र बनाउनका लागि भनेर आफ्नो जिल्ला जान नपरोस् भनेर विभिन्न जिल्लाहरूलाई तीन वटा क्लस्टरमा बाँडेर काठमाण्डौ जिल्ला प्रशासन कार्यालय, ललितपुर जिल्ला प्रशासन कार्यालय र नारायणहिटीमा साबिकको राहदानी विभाग रहेको ठाउँबाट राष्ट्रिय परिचयपत्र बनाउन सक्ने व्यवस्था गरेका छौँ । त्यसै गरी कर्मचारी र अति आवश्यक भएका व्यक्तिहरूका लागि सिंहदरबार भित्रै रहेको विभागबाट पनि परिचयपत्र बनाउन सक्ने व्यवस्था गरिएको छ ।

नागरिकहरूलाई चाहिएको बेलामा जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालयका साथै यी स्टेसनहरूमा जान सक्नुहुन्छ । यो राष्ट्रिय अभियान भएको हुनाले नागरिकको घरदैलोबाटै विवरण सङ्कलन गर्न सकियोस् भनेर हामीले सबै वडामा विवरण अपरेटरहरू पठाउने क्रममा अहिलेसम्म ३३ जिल्लाको सबै वडामा विवरण अपरेटरहरू पठाएर विवरण सङ्कलन गरिसकेका छौँ । अहिले पनि विवरण सङ्कलन गर्ने हाम्रो अभियान जारी छ ।

अहिलेसम्म ७६ लाख नागरिकको विवरण सङ्कलन भइसकेको छ । पछिल्लो समय भिडभाड कम हुँदै पनि गएको छ । अहिले चाहिँ राहदानी बनाउनको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । त्यस हिसाबले सबैलाई म के अनुरोध गर्छु भने जसलाई अहिले राहदानी बनाउनका लागि यो परिचयपत्र बनाउन परेको छ उहाँहरूलाई प्राथमिकता दिनुहोस् । अहिले हामीले अरू प्रणालीसँग अन्तर आबद्ध नगरी सकेको हुनाले तुरुन्तै यो प्रयोगमा आइहाल्ने अवस्था छैन ।

त्यसैले यहाँहरूले भिडभाड नगरी बनाउनुहुन अनुरोध गर्छु । बनाउन त यहाँहरू सबै जनाले नै बनाउन पर्छ । अहिले जसलाई राहदानी बनाउन परेको छ उहाँहरूको लागि अनिवार्य हो तर अरूले चाहिँ बिस्तारै भिडभाड नगरी समय मिलाएर बनाउनुहोस् भन्न चाहन्छु । 

अनलाइनबाट आवेदन दिएर समय लिएर तोकिएको केन्द्रमा जाँदा पनि उही खालको भिडभाड छ र लाइन छ । समय लिएर जाँदा पनि सहज नहुनुको कारण के हाे ?

राष्ट्रिय परिचयपत्र बनाउने समय लिनको लागि प्री–इनरोलमेन्ट र प्री–अपोइन्टमेन्ट दुई वटा विधि अपनाइएको छ । एउटा चाहिँ पूर्ण रूपमा अनलाइन छ । त्यसमा अनलाइनबाट नै समय लिन सकिने भयो । त्यो गर्दा खेरि चाहिँ तत्काल आवश्यकता नभएका व्यक्तिहरूले पनि पहिले नै समय लिइदिने भए ।

जसको कारण जसलाई तत्काल चाहिएको छ उहाँहरूले नपाउने भए । तर जसलाई अति नै आवश्यक परेको छ उहाँहरूलाई राहदानी बनाउन अप्ठेरो नपरोस् भनेर टोकन दिने व्यवस्था गरेका छौँ । बिहान गएर लाइन लाग्ने भनेको चाहिँ अनलाइनबाट लिन नसक्नुभएका अथवा टाइम नआएको हुनाले छिट्टै आवश्यक परेर होला । जो सेवा लिन आउनुहुन्छ उहाँहरूलाई छिटो र सहज रूपमा सेवा प्रवाह गर्न सकियोस् भनेर हामीले स्टेसनहरू थप्दै गइरहेका छौँ ।

कतिपयले त फारम भर्नै झन्झण्ट भयो साइबरमा रकम बुझाउन पर्‍यो भन्ने गुनासो पनि गरिरहनुभएको छ । जसले अनलाइनबाट आफैँले आवेदन भर्न सक्नुहुन्न उहाँहरूको लागि कस्तो व्यवस्था छ ?

प्री–इनरोलमेन्ट गर्दा कतिपय ठाउँमा पैसा बढी लिइयो भन्ने गुनासोहरू आइरहेको छ । नागरिकले दुःख पाए भन्ने गुनासा विभिन्न ठाउँबाट आएका छन् । म यहाँहरूको सञ्चार माध्यमार्फत नै के अनुरोध गर्न चाहन्छु भने राष्ट्रिय परिचयपत्र बनाउन कति पनि पैसा तिर्न पर्दैन । यो निःशुल्क सेवा हो ।

खास गरी आफैँले सक्नुभयो भने आफैँले भरौँ र यदि सक्दै नसक्ने कोही व्यक्तिहरू हुनुहुन्छ भने चाहिँ जिल्ला प्रशासन कार्यालयहरूमा व्यवस्था छ त्यहाँ भरिदिनुहुन्छ ।

जो नागरिक आफैँ अनलाइनमार्फत फारम भर्न सक्नुहुन्न उहाँहरूका लागि भनेर अफलाइन सेवा सञ्चालन गरेका ठाउँमा छुट्टै स्वयंसेवकको पनि व्यवस्था गरेका छौँ । उहाँहरूले भरिदिन सहयोग गर्नुहुन्छ । खास गरी उपत्यका बाहिर त प्री–इनरोलमेन्ट गर्न अनिवार्य पनि गरिएको छैन । काठमाडौँ उपत्यकामा चाहिँ अलिक बढी भिड हुने हुनाले नागरिकहरूले आफैँले विवरण भरेर आउँदा गल्ती पनि कम होला र अलिक छिटो पनि होला भनेर त्यो व्यवस्था गरेका हौँ ।

साक्षर व्यक्तिहरूलाई त भर्न गाह्रो पनि छैन । तर नागरिकहरूले आफूले आफ्नो विवरण नभर्ने अनि साइबरहरूको सहायता लिने गर्दा चाहिँ बढी रकमहरू असुलेको हुनसक्छ । यदि तपाईँले यस्तो भोग्नुभयो भने चाहिँ हामीलाई खबर गर्नुभयो भने नियमन हुन्छ । खास गरी आफैँले सक्नुभयो भने आफैँले भरौँ र यदि सक्दै नसक्ने कोही व्यक्तिहरू हुनुहुन्छ भने चाहिँ जिल्ला प्रशासन कार्यालयहरूमा व्यवस्था छ त्यहाँ भरिदिनुहुन्छ ।

फारम भर्दा के कस्ता कागजात चाहिन्छ ? फारम भर्दा ध्यान दिनुपर्ने कुराहरू के के हुन् ?

राष्ट्रिय परिचयपत्र भनेको व्यक्तिको वैयक्तिक र जैविक विवरणलाई एकीकृत गरिएको एउटा डिजिटल कार्ड हो । यसमा आफ्नो नागरिकतामा भएको विवरणहरू हेरेर आफैँले फारम भर्दा हुन्छ ।

त्यसमा राख्ने विवरण भनेको आफ्नो नाम, आमाबुबाको नाम जन्म मिति लगायतका विवरण नै हो । आफैँले फारम भरेपछि उहाँहरू नजिकको स्टेसनहरूमा जानु पर्ने हुन्छ । नजिकको स्टेसन भनेको आफ्नो जिल्लामा हुनुहुन्छ भने आफ्नो जिल्ला प्रशासन कार्यालय भइहाल्यो । काठमाण्डौमा हुनुहुन्छ भने हामीले विभिन्न जिल्ला अनुसार ठाउँ तोकेका छौँ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका नागरिकहरू यदि काठमाण्डौमा बसोबास गर्नुहुन्छ भने उहाँहरूका लागि ललितपुर जिल्ला प्रशासन कार्यालयमा तोकेका छौँ ।

प्रदेश नम्बर १, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सबै जिल्लाहरू र प्रदेश नम्बर दुई का सिराहा महोत्तरी, बारा र रौतहटका लागि नारायणहिटी दरबार परिसर यसअघि राहदानी विभाग गएको ठाउँमा तोकिएको छ भने मधेस प्रदेशको पर्सा र धनुषा जिल्ला र ललितपुर र भक्तपुर बाहेकका बाग्मती प्रदेशका जिल्लाहरूको लागि काठमाण्डाै जिल्ला प्रशासन कार्यालय तोकिएको छ । यी ठाउँमा अनलाइनबाट प्री–इनरोलमेन्ट गरेर पनि जान सकिन्छ । 

दि केही बिग्रिएको छ भने बायोमेट्रिक गर्ने बेलमा पनि सच्याउन सकिन्छ । तर सकेसम्म आफ्नो विवरणहरू गलत नभर्नुहोस् भन्न चाहन्छु ।

बायोमेट्रिक गर्न जाँदा साथमा हुनु पर्ने कागजातहरूमा चाहिँ पहिलो नम्बरमा सक्कल नागरिकता हुनु पर्छ । सक्कल नागरिकता छैन भने कार्ड बनाउन सकिँदैन । यदि हराएको छ भने पनि प्रतिलिपि लिएर जानुपर्छ।

दोस्रो यदि यहाँहरूको नागरिकतामा उल्लेख भएको ठेगानाभन्दा अरू कुनै ठाउँमा बसाइसरेर जानुभएको छ भने बसाइ सराइको कागज साथमा हुनु पर्‍यो र अर्को चाहिँ त्यसमा पति पत्नीको पनि नाम लेख्नु पर्ने र सम्बन्ध खुलाउनु पर्ने भएकोले विवाह दर्ता अथवा पति पत्नी नाता खुल्ने कुनै सरकारी कागजात छ भने त्यो पनि लिएर जानुहोला ।

यदि कसैले पासपोर्ट बनाइसक्नु भएको छ र भिसा पनि लागिसकेको छ भने त्यहाँ लेखेको अंग्रेजी मितिसँग फरक नपरोस् भन्नका लागि पासपोर्ट पनि साथमा लैजान पर्छ । कतिपय अवस्थामा पुरानो नागरिकतामा जन्म मिति खुलेको छैन भने जन्म मिति खुल्ने कुनै कागजात छ भने त्यो पनि साथमा लैजान पर्छ । राष्ट्रिय परिचयपत्र निःशुल्क रूपमा बन्छ ।

अर्को कुरा यदि कुनै विवरण भर्दा गलत भएको छ भने हामीले तपाईँको बायोमेट्रिक लिँदा पनि जाँच गर्छौँ । यदि केही बिग्रिएको छ भने बायोमेट्रिक गर्ने बेलमा पनि सच्याउन सकिन्छ । तर सकेसम्म आफ्नो विवरणहरू गलत नभर्नुहोस् भन्न चाहन्छु ।

भिडभाड छ । नागरिकले राष्ट्रिय परिचय पत्र बनाउन सास्ती खेपिरहेका छन् भन्नेबारे तपाईँहरू पनि जानकार हुनुहुन्छ । अब लाइन नबसी नागरिकले कहिलेदेखि सहज रूपमा राष्ट्रिय परिचयपत्र बनाउन पाउलान् ? 

पछिल्लो समय सबैजसो जिल्ला प्रशासन कार्यालयहरूमा भिडभाड बढेको छ । काठमाण्डौ उपत्यकामा झन् भिड छ । यो भिडभाड नहोस् भन्नका लागि हामीले यो अभियानलाई पनि तीव्र बनाएका छौँ र जिल्ला प्रशासन कार्यालयहरूमा स्टेसनहरू पनि थपिरहेका छौँ । जस्तो काठमाण्डाै उपत्यकाकै भीड व्यवस्थापन गर्नका लागि काठमाण्डौ जिल्लामा पनि वडा स्तरमा अभियान सुरु गरेका छौँ ।

एक हप्ताअघिदेखि मात्रै काठमाण्डौ जिल्लाको दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकामा चाहिँ वडा वडाबाटै विवरण सङ्कलनको काम भइरहेको छ । बढी घना बस्ती भएको वडामा चाहिँ वडा स्तरबाटै विवरणहरू सङ्कलन भइरहेको अवस्था छ ।

जहाँ सेवाग्राहीको भीड छ ती जिल्लाहरूमा पनि स्टेसनहरू थप्दै गइरहेको अवस्था छ । अहिले धेरै हदसम्म भिड कम भइसकेको छ । अब बिस्तारै भीड कम हुँदै जान्छ र गइरहेको पनि छ।

अर्कोतिर जहाँ बढी भिडभाड भएको छ त्यहाँ हामीले स्टेसनहरू पनि थप्दै गएका छौँ । मानिसहरू लामो समयसम्म लाइनमा बस्न नपरोस् । आफ्नो घरमै बसेर समय लिन सकुन् भनेर हामीले अपोइन्टमेन्ट सिस्टम पनि लागू गरेका छौँ ।

पछिल्लो समय भीड भएका सबै जिल्ला प्रशासन कार्यालयहरूमा स्टेसन थपिइरहेको अवस्था छ । उदाहरणका लागि पर्सामा हामीले चार वटासम्म स्टेसन पुर्‍याएका छौँ । काभ्रेमा थपेका छौँ र खास गरी मधेस प्रदेशका जिल्लाहरूमा हामीले स्टेसनहरू थपेका छौँ ।

अरू पनि जिल्लाहरूमा जहाँ सेवाग्राहीको भीड छ ती जिल्लाहरूमा पनि स्टेसनहरू थप्दै गइरहेको अवस्था छ । अहिले धेरै हदसम्म भिड कम भइसकेको छ । अब बिस्तारै भीड कम हुँदै जान्छ र गइरहेको पनि छ।

काठमाण्डौमा जुन वडामा तपाईँहरूले विवरण सङ्कलन गर्नुहुन्छ त्यो वडामा बस्ने उपत्यका बाहिरका बासिन्दाले पनि परिचयपत्र बनाउन पाउँछन् ?

उपत्यका बाहिरका नागरिकहरूले बसाई सराई ल्याइनुभयो भने मात्र पाउनुहुन्छ नत्र पाउनुहुन्न । उहाँहरूले जिल्ला अनुसार तोकिएको स्टेसनमा नै गएर बनाउन पर्छ ।

अहिले राष्ट्रिय परिचयपत्र बनाउनेले नम्बर मात्र पाइरहेका छन् । राष्ट्रिय परिचय पत्र कार्ड चाहिँ कहिलेसम्म हातमा पर्छ ?

हो अहिले नम्बर मात्र उपलब्ध गराइरहेका छौँ । त्यो नम्बरको आधारमा अहिले त राहदानी विभागसँग मात्र सर्भिस इन्ट्रिग्रेसन भएको हुनाले त्यो नम्बरले काम गर्छ । जहाँसम्म कार्डको कुरा छ कार्ड पनि हामीले छाप्ने काम चाहिँ सँगसँगै गरिरहेका छौँ ।

अहिले विभागमा रहेको मेसिनमा १ घण्टामा १५ सयसम्मको दरले कार्ड छाप्न सक्छौँ । कार्ड छपाइको काम भइरहेको छ । यो वर्षको लागि मात्रै हामीसँग झण्डै ५० लाख कार्ड प्राप्त भइसकेको छ । आउँदो वर्ष झण्डै ७० लाख कार्ड छाप्ने हाम्रो लक्ष्य  छ । योबीचमा केही समय छपाइ प्रक्रिया रोकिएको हुनाले कार्ड वितरणमा अलिकति ढिला भएको हो । तर अहिले कार्ड छाप्ने काम धमाधम भइरहेको छ । कतिपयको कार्ड छापिई पनि सकेको छ । सिस्टमले नै कसको कति बेला छपाइको पालो आउने भन्ने बनाइएको छ ।

आम नागरिकले प्राप्त गर्ने सेवा सुविधा छिटो लिनका लागि हो । व्यक्तिको सही किसिमले पहिचान गर्न सकियोस् भनेर हो । सबै नागरिकले एकै पटक बनाउन खोज्दा भीड भएको होला ।

मलाई लाग्छ अबको चार छ महिनामा विवरण भरिसकेका नागरिकको कार्ड छापिन्छ । कार्ड छापिएपछि तपाईँको कार्ड छापिएको छ तोकिएको केन्द्रबाट लिनुहोला भनेर जानकारी पठाउँछौँ । अहिले हामी छापिएको कार्ड जिल्ला जिल्लामा कसरी पठाउने भन्ने संयन्त्र बनाउँदै छौँ ।

कार्ड दिने बेलामा फेरि बायोमेट्रिक भेरिफिकेसन गरेर मात्र दिन्छौँ । त्यसो हुनाले जिल्ला प्रशासन कार्यालयबाट दिने कि अथवा पालिकासम्म लग्नुपर्छ कि त्यो संयन्त्र अहिले विभागले बनाइरहेको छ ।  अहिलेसम्म डेढ दुई लाख कार्ड छापिइसकेको अवस्था छ । कार्ड छापिँदै जाँदा अब छिट्टै आम नागरिकलाई कार्ड वितरणसम्बन्धी सूचना जारी गर्छौँ ।

र अन्त्यमा भन्नुपर्दा राष्ट्रिय परिचयपत्र नेपाल सरकारले लागू गर्दै छ । यो भनेको आम नागरिकले प्राप्त गर्ने सेवा सुविधा छिटो लिनका लागि हो । व्यक्तिको सही किसिमले पहिचान गर्न सकियोस् भनेर हो । सबै नागरिकले एकै पटक बनाउन खोज्दा भीड भएको होला ।

सबै कागजात एकै पटक जुटाउन पर्दा अलिक झन्झटिलो लाग्न सक्छ । तर त्यसलाई यहाँहरूले सहज रूपमा लिइदिनुहुन म अनुरोध गर्छु । राष्ट्रिय परिचयपत्र बनाउँदा आफ्नो सही विवरण उपलब्ध गराउनुहोस् । केही गुनासो तथा समस्या छ भने हामीलाई जानकारी गराउनुहोस् ।

अन्तिम अपडेट: साउन १३, २०७९

तपाईको प्रतिक्रिया