अर्थमन्त्रीमाथि छानबिन गर्न समिति गठनको तयारी, राजीनामा दिनुपर्ने एमालेको 'बटमलाइन'

 असार २२, २०७९ बुधबार १४:४२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश दिएको विषयमा संसदीय छानबिन समिति गठन गर्ने तयारी भइरहेको छ । संसद् भवन नयाँ बानेश्वरमा प्रमुख दलहरूबीच संसदीय छानबिन समिति गठन गर्ने सहमति जुटेको छ । तर कति सदस्यीय समिति बन्ने र को–को सदस्य रहने भन्ने विषय टुङ्गिएको छैन । 

अर्थमन्त्री शर्माको विषयलाई लिएर आज बिहान ११ बजे बस्ने भनिएको संसद् बैठक अहिलेसम्म सुरु भएको छैन । नेकपा एमालेले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने अडान लिएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्रीले गम्भीर गल्ती गरेकाले उहाँको राजीनामाविना संसद् राम्रोसँग चल्न नसक्ने प्रष्ट पार्नुभएको छ । यस्तै नेता योगेश भट्टराईले अर्थमन्त्रीको राजीनामा आफूहरूको 'बटमलाइन' भएको बताउनुभएको छ । 

यसअघि अर्थमन्त्री जनार्दन शर्माले आफूमाथि उठेका विषयमा संसदमा सम्बोधन गर्ने तयारी गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् चल्न नदिने चेतावनी दिएको थियो । ११ बजे बस्ने भनिएको बैठक १ बजेसम्म पनि सुरु हुन नसकेपछि सूचना टाँसेर दुई बजेसम्मका लागि स्थगित भएकोमा अहिलेसम्म सुरु हुन नसकेको हो । 

अर्थमन्त्री शर्मामाथि बजेटमा करका दर हेरफेर गर्ने क्रममा जेठ १४ गते अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेको छ । अर्थ मन्त्रालयले त्यति बेलाको सीसीटीभी फुटेज समेत डिलिट भएको सूचना दिएपछि विवाद झन् बढेको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया