जब जनप्रतिनिधिले सडकमै कार्यालय चलाए !

 असार २८, २०७९ मंगलबार ७:४६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – भक्तपुरको चाँगुनारायण नगरपालिका–६ कार्यालयले सडकमै सेवाग्राहीलाई सेवा दिएको छ । वडाध्यक्ष धनबहादुर लामासहित वडा सदस्यहरु हरिप्रसाद लामिछाने, आरती लामा, सोनु विश्वकर्मा, वीरमान तामाङले हिजो सडकमै मेच, टेबुल र वडाका कागजपत्र लिएर त्यहीँबाटै नागरिकलाई सेवा दिनु भएको हो ।

भक्तपुर नगरकोट सडक विस्तारका नाममा ८ वर्षदेखि अलपत्र छ ।आठ वर्षदेखि सडक निर्माण अलपत्र पारेर सास्ती दिने निर्माण व्यवसायी शारदा अधिकारीसँगको ठेक्का रद्द गरेर सडक निर्माण छिटो सम्पन्न गर्न माग गर्दै वडाध्यक्ष लामाले सडकबाटै वडाको सेवा दिएर सांकेतिक विरोध गर्नु भएको हो । उहाँले भन्नुभयो, “भक्तपुर नगरकोट सडक नबन्दा यहाँका नागरिकले कति दुःख पाएका छन्, सिंहदरबारमा हुइँकिने मन्त्रीलाई के थाहा, ठेक्का लिएर सडक अलपत्र पार्ने शारदाप्रसाद अधिकारीलाई के थाहा, यहाँका नागरिकले वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएर काटेको सास्ती ।”

आफ्नो साङ्केतिक विरोधले सरकारलाई सडक निर्माण छिटो सम्पन्न गर्न झकझकाओस् र ८ वर्षसम्म सडक निर्माण अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेर विकल्प खोजोस् भनेर सडकमै सेवा दिएको उहाँको भनाइ छ । सरकारले दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७१ साल जेठ २२ गते भक्तपुर नगरकोट सडक निर्माण गर्न शैलुङ कन्स्ट्रक्सनसँग सम्झौता गरेको अहिले आठ वर्ष पूरा भएर नौ वर्ष लागिसक्दा पनि सडक निर्माण सम्पन्न गर्न सकेको छैन ।

नागरिकले पटकपटक विरोध गर्दा पनि सरकार यो सडकको म्याद थप गरिरहने र निर्माण कम्पनी त्यही आडमा लागत बढाइरहने भएको छ । योे सडकखण्ड बन्ने निश्चित नगरेसम्म अब यहीँ सडकबाटै वडा कार्यालय चलाएर विरोध गर्ने भन्दै उहाँले शारदाप्रसाद अधिकारीलाई कारबाही गर्नुपर्ने बताउनुभयो । यसअघि पनि भक्तपुर नगरकोट सडकखण्डमा स्थानीयवासीन्दाले ठेकेदार अधिकारीको फोटो नै गाडी र भित्ता भित्तामा टाँसेर विरोध जनाएका थिए भने मन्त्रीको गाडी सडकमै रोकेर अवरोध गरेका थिए ।

सडक नबन्दा वर्षामा सडकबाटै खोला बगेझैँ पानी बग्ने, सडक बीचबीचमा भत्किएर पहिरो जाने, स्थानीयवासीन्दाको घरभित्रै सडकको पानी पस्ने, सडक हिलाम्मे हुँदा ओहोरदोहोरमा सास्ती हुनुका साथै दुर्घटना समेत बढेको स्थानीय बासिन्दाले बताएका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया