प्राध्यापकले ‘अल्छी गर्दा’ प्रश्नपत्र हुबहु : त्रिभुवन विश्वविद्यालय

 असार ३०, २०७९ बिहिबार १७:३७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयको हुबहु प्रश्नपत्रमा प्राध्यापक नै दोषी रहेको पाइएको छ । शिक्षा तथा स्वास्थ्य समितिको आज बिहीवारको बैठकमा त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले प्रश्नपत्र बनाउने प्राध्यापकको लापर्बाहीले प्रश्नपत्र हुबहु भएको बताउनुभयो । 

‘प्रश्नपत्र बनाउने जिम्मा पाएका प्राध्यापकले अल्छी गरेर पहिले बनाएको प्रश्नपत्र नै दिने र अर्काले बनाएको प्रश्नपत्र सार्नेजस्ता समस्या देखिए’, उहाँले भन्नुभयो, ‘प्राध्यापकको अल्छीका कारणले प्रश्नपत्र दोहरिएको हो ।’

उहाँले त्रिविको परीक्षामा प्रश्नपत्र हुबहु सम्बन्धमा सम्बन्धित प्राध्यापकलाई कारबाही गरिएको बताउनुभयो । त्रिविले प्रश्नपत्र हुबहुका सम्बन्धमा प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । त्यही छानबिन समितिको सिफारिसमा तीन जना प्राध्यापकलाई कारबाही गरिएको उहाँले बताउनुभयो । अब हुबहु प्रश्नपत्र बनाउन जो सहभागी हुन्छ उसलाई तीन वर्षसम्म पठनपाठन र परीक्षामा सहभागी नगराउने निर्णय भएको छ ।  

त्रिविमा मानविकी सङ्कायले गएको जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेस्टरको अर्थशास्त्र विषयअन्तर्गत पब्लिक इकोनोमिक्स र जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको इन्टरनेशनल पोलिटिक्स विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो । यस्तै व्यवस्थापन सङ्कायको स्नातक तह बीबीए छैटौँं सेमेस्टरको यही असार २२ गते र असार २५ गतेको प्रश्नपत्र पनि हुबहु पाइएको छ । यस्तै मोर्डन नेपाल कलेजको तीन महिनाअघि सोधिएको प्रश्नपत्र असार २२ गतेको परीक्षामा र शङ्करदेव क्याम्पसले लिएको प्रिबोर्ड परीक्षामा सोधिएको प्रश्नपत्र यही असार २५ गते बीबीएलाई सोधिएको थियो । 

उपकुलपति बाँस्कोटाले सामाजिक सञ्जालले गर्दा हुबहु प्रश्नपत्रबारे जानकारी प्राप्त भएको भन्दै अबदेखि हस्तलिखित प्रश्नपत्र माग्ने बताउनुभयो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया