हावाहुरीका कारण बोगटानमा एक दर्जनभन्दा बढी घरमा क्षति, एक जना बालक घाइते

 असार ३२, २०७९ शनिबार १३:८:५९ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीको बोगटान फुड्सिल गाउँपालिकामा आएको हावाहुरीले एक दर्जनभन्दा बढी घर तथा सार्वजनिक संरचनामा क्षति पुर्याएकाे छ। 

हिजाे बेलुका आएको हावाहुरीले धेरै घरमा क्षति पुगेको बोगटान फुड्सिल गाउँपालिका–७ का वडाअध्यक्ष चन्द्रमान सुनारले जानकारी दिनुभयो। 

हावाहुरीले घरको सिलेट खस्दा बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारा दाच्का बस्ने हिमाल कुडमालका तीन वर्षीय छोरा विजय कुडमाल गम्भीर घाइते भएका छन् । घरको आगनमा खेलिरहेका उनको टाउकोमा सिलेट खसेकाे थियाे। 

घाइते विजयको चवरा चौतारा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । टाउँकोमा दुई ओटा घाउ लागेकाले एउटामा ३ र एउटामा एक गरेर ४ वटा टाका लगाइएको स्वास्थ्य चौकी प्रमुख प्रकाश विकले जानकारी दिनुभयो।

हावाहुरीकै कारण सबैभन्दा बढी चवराचौतारामा रहेका थुप्रै निजी तथा सार्वजनिक संरचनामा क्षति पुगेको बताइएको छ। यसैगरी रुख विद्युतका तारमा खस्दा र पोल ढलेका कारण वडा-७ मा विद्युत् अवरुद्ध भएकाे प्रहरी चौकी चमराचौताराले जनाएको छ । यसैगरी वडा नं ७ उमुडीका ४ घर चर्केर जोखिममा रहेका छन् । 

हावाहुरीले दर्जनौँ घरका छाना उडाएको र चवराचौतारा बजार क्षेत्रमा जडान गरिएका सौर्यबत्तीमा समेत क्षति पुर्याएको स्थानीयवासी उपेन्द्र धामीले बताउनुभयो । हावाहुरीकै कारण पीपलको रुख भाँचिदा चनुकाँडा आधारभूत विद्यालयको संरचनामा क्षति पुगेको छ ।

भान्सा कोठा, चार वटा शाैचालय र ३ कोठे विद्यालय भवनमा क्षति पुगेको स्थानीयवासी रबहादुर बमले जानकारी दिनुभयो।

अन्तिम अपडेट: चैत ५, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया