पोर्चुगल र स्पेनमा गर्मीका कारण ३ सय जनाको ज्यान गयो, पोर्चुगलको तापक्रम ४७ डिग्री सेल्सियस भन्दा धेरै

 असार ३२, २०७९ शनिबार १४:९:२५ | एजेन्सी
unn.prixa.net

पोर्चुगल र स्पेनमा गर्मीका कारण ३ सय जना भन्दा धेरैको ज्यान गएको छ । गर्मीका कारण कयौँ मानिस समस्यामा परेको र जनजीवन अस्तव्यस्त बनाएको बीबीसीले जनाएको छ ।

पोर्चुगलमा आगो निभाउने क्रममा जहाज दुर्घजना हुँदा पाइलटको ज्यान गएको छ ।  युरोपका ३ वटा देशका जंगलमा भीषण आगलागी पनि भइरहेको छ । स्पेन, पोर्चुगल र  दक्षिण पश्चिमी फ्रान्सको जंगलमा भीषण आगलागी भइरहेको र यसले समग्र युरोपमा तातो हावा फैलन सुरु गरेको खबरमा उल्लेख छ । बढ्दो गर्मीका कारण अग्नि नियन्त्रकलाई आगो नियन्त्रणमा लिन निकै हम्मे हम्मे परेको छ ।

आगोले फ्रान्सको गिरोन्डे क्षेत्र सखाप पारेको छ । ११ हजार भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । स्पेनको कोस्टा डेल सोल क्षेत्रको पहाडबाट ३ हजार ३ सय मानिस सुरक्षित ठाउँमा भाग्न सफल भएका छन् । गएको मंगलबार यता पोर्चुगलको तापक्रम ४७ डिग्रि र स्पेनमा ४० डिगी सेल्सियस भन्दा धेरै तापक्रम मापन गरिएको खबरमा उल्लेख छ । पोर्चुगलमा मात्रै ३० हजार हेक्टर जंगल आगोले नष्ट गरेको छ । यो सन् २०१७ मा १ सय जनाको ज्यान जानेगरी फैलिएको डढेलोपछिकै ठूलो भएको बीबीसीले जनाएको छ ।

युरोपका अरु देश पनि गर्मी र तातो हावाले प्रभावित भएका छन् । इटलीका केहि उपत्यकालाई सरकारले सुख्खग्रस्त क्षेत्र घोषणा गर्दै आपत्काल घोषणा गरेको छ । उत्तरी मोरक्कोमा आगो फैलिएपछि दर्जनौ गाउँ खाली गर्नुपरेको छ । फ्रान्सको तापक्रम पनि ४० डिग्री सेल्सियस भन्दा माथि पुगेको छ । आउँदो हप्ता तापक्रम थप बढ्ने चेतावनी जारी भएको छ । मानव प्रेरित जलवायु परिवर्तनको ठूलो असर युरोपले भोगिरहेको छ । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया