सङ्क्रान्ति मनाउन राउटे समुदायलाई चामल सहयाेग

 साउन १, २०७९ आइतबार २०:२२:५७ | अमर सुनार
unn.prixa.net

दैलेख – फिरन्ते जीवन बिताइरहेको राउटे समुदायलाई साउने सङ्क्रान्ति मनाउन कर्णाली प्रदेश सरकारले चामललगायतका खाद्यान्न सहयाेग गरेकाे छ । भव्य र उत्साहसाथ सङ्क्रान्ति मनाउन आज आइतवार कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले राउटे समुदायका ४६ परिवारलाई खाद्यान्न सहयोग गरेको हाे । 

एक हप्ताअघि मात्र दैलेखको भगवतीमाई गाउँपालिका ४ मनघर चौरमा बसोवास गर्दै आएका राउटे समुदायलाई मन्त्रालयले सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको समन्वयमा चामल, नुन, खुर्सानी र कपडा सहयोग गरेको हो ।

कर्णाली प्रदेश सरकारका प्रमुख सचिव राजकुमार श्रेष्ठ, सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्री, भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापा, उपाध्यक्ष मीनाकुमारी खड्का, सामाजिक विकास मन्त्रालयको सामाजिक सुरक्षा तथा महिला विकास शाखाका महिला विकास अधिकृत अनिता ज्ञवाली राउटे बस्तीमा पुगेर खाद्यान्न सहयाेग गरेका हुन् । 

खाद्यान्न वितरण गर्न पुग्नुभएका सरकारका प्रमुख सचिव श्रेष्ठले प्रदेश सरकारले राउटे नागरिकको संरक्षणका लागि पहल गरिरहेको बताउनुभयो । सामाजिक विकास मन्त्रालयका सचिव काप्रीले राउटे समुदायको संरक्षणका लागि ‘राउटे नीति’ निर्माणकै क्रममा रहेको जानकारी दिनुभयो ।

हरेक दुई/तीन महिनामा बस्ती सर्दै गर्ने क्रममा जाजरकोटको छेडागाड नगरपालिका ५ बाँका थलहपछि एक हप्ताअघि मात्र दैलेखको मनघरचौर पुगेका ४६ परिवारका एक सय ४४ जनाले वैशाख, जेठ र असारको सामाजिक सुरक्षा भत्ता नपाएको राउटे समुदायका महामुखिया महिनबहादुर शाहीले गुनासाे गर्नुभयाे । कर्मचारीकाे आन्दाेलनका कारण भत्ता वितरणमा ढिलाइ भएकाे  गुराँस गाउँपालिका ८ का सचिव सुस्मिता खड्काले जानकारी दिनुभयो ।

कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान र जाजरकोट आसपासमा हरेक दुई/तीन महिनामा बस्ती सर्दै गर्ने राउटे समुदायकाे धेरै सङ्ख्या दैलेखमा बस्ने गरेकोले सङ्घीय सरकारले २०७४ असारदेखि गुराँस गाउँपालिका ८ नं. वडा कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो । राउटेहरू जहाँ पुग्छन् त्यही गएर भत्ता वितरण गर्न सरकारले गुराँस गाउँपालिका ८ नं. वडा कार्यालयलाई जिम्मेवारी दिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका अध्यक्ष हिरासिंह थापाले बताउनुभयो । राउटे समुदायलाई स्वास्थ्य, सरसफाइ र सामाजिक अभ्यास गराउन सोसेक नेपालले राउटे उत्थान परियोजना सञ्चालन गरेको छ ।

विसं. २०५८ मा एक सय ८० जना, विसं. २०६८ को जनगणनामा एक सय ६६ जना रहेका राउटेकाे सङ्ख्या घटिरहेकाे तथ्याङ्कले देखाउँछ । गुराँस गाउँपालिकाले विसं. २०७४ मा सङ्कलन गरेकाे तथ्याङ्कअनुसार एक सय ४९ जना रहेकामा अहिले एक सय ४४ जनामा झरेकाे छ । जन्मान्तर वा परिवार नियोजनको शिक्षा लिनै नचाहने राउटे समुदायको जनसङ्ख्या घट्नुमा सिकार खेल्न जाँदा मृत्यु हुनु, खानपिन र बस्ने ठाउँ स्वास्थ्य अनुकूल नहुनु लगायतलाई कारण मान्न सकिने अध्येताहरूको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया