कोरोना सङ्क्रमणको चौथो लहरको सङ्केत : हेलचेक्र्याइँ नगर्न र खोप लगाउन सुझाव

 साउन ३, २०७९ मंगलबार ७:२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै - नेपालमा कोरोना सङ्क्रमण फेरि बढ्न थालेकाे छ । सङ्क्रमण बढेसँगै कोरोना सङ्क्रमणको चौथो लहर सुरु भएको विज्ञले चेतावनी दिएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले नेपालमा कोरोना सङ्क्रमणको चौथो लहरको सङ्केत देखिएको बताउनुभयो । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमध्ये झन्डै १० प्रतिशतमा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हिजो देशभरका ल्याबमा ४ हजार ६ सय ५१ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा ४ सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको छ । भर्ना भएका बिरामीमा ज्वरो आउने, घाँटी दुख्ने, जिउ दुख्ने, रुघा लाग्ने, थकित, पसिना आउनेजस्ता लक्षण देखिएको छ । गएको असार १ गते परीक्षण गरिएकामध्ये ० दशमलव ६४ प्रतिशतमा कोरोना पुष्टि भएको थियो ।

सङ्क्रमण बढेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । एक महिनामा सक्रिय सङ्क्रमित १ हजार ७ सय ७६ पुगेको छ, यसमध्ये काठमाण्डौ उपत्यकामा सबैभन्दा धेरै १ हजार १ सय १३ जना सक्रिय सङ्क्रमित रहेका छन् । धेरैजसोमा अहिले ओमिक्रोनको उपप्रजाति बीए टू र अन्यमा बीए वान र बीए फाइभ पुष्टि भएको छ। 

यस्तै, पछिल्लो साढे दुई महिनामा कोरोना सङ्क्रमणका कारण पहिलो पटक अस्ति आइतवार एक जनाको ज्यान गएको  थियो भने हिजो पनि अर्का एक जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ज्यान गुमाएका दुवै जनाले कोरोना विरुद्धको खोप लगाएका थिएनन्।

कोराेना भाइरसको सङ्क्रमण कम भएसँगै पछिल्लो समय लापरबाही र हेलचेक्र्याइँ बढ्दै गएको छ । विज्ञले जनस्वास्थ्यका मापदण्ड पालनामा गम्भीर हुन र कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरेका छन् । सकेसम्म भिडभाडमा नजान, मास्कको प्रयोग गर्न र खोप लगाउन डाक्टरको सुझाव छ।

विभिन्न अध्ययनहरुले बीए फाइभ भेरियन्ट ओमिक्रोनका अन्य प्रजातिभन्दा बढी सङ्क्रामक देखाएको छ । खोप लगाएकामा जोखिम कम हुने भएकाले खोप  लगाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

यसैबीच, काठमाण्डौमा आजदेखि १८ वर्षमाथिका नागरिकलाई कोरोना भाइरस विरुद्धको खोपको बुस्टर मात्रा दिइँदै छ । काठमाण्डौका सबै स्वास्थ्य संस्थामा  १८ वर्षमाथिका नागरिकलाई कोभिसिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाण्डौले जनाएको छ।  

बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म पायक  पर्ने ठाउँमा खोप लगाउन सकिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आउँदो शुक्रवारसम्म बुस्टर मात्रा लगाउन पाइने छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया