डलरसँग भारतीय रुपैयाँ अहिलेसम्मकै कमजोर, विदेशी मुद्राको सञ्चिति पनि घट्यो

 साउन ३, २०७९ मंगलबार १४:६:१० | एजेन्सी
unn.prixa.net

अमेरिकी डलरसँग भारतीय रुपैयाँ इतिहासकै कमजोर अवस्थामा पुगेको छ । आज मङ्गलवार एक अमेरिकी डलरको मूल्य ८० रुपैयाँ शून्य दशमलव ५ पैसा पुगेको भारतीय सरकारी एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) ले जनाएको छ । आज मात्रै भारु ७ पैसाले कमजोर भएको छ । 

यसअघि कहिल्यै पनि भारतीय रुपैयाँ डलरसँग यति धेरै कमजोर नभएको खबरमा उल्लेख छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलमा भइरहेको मूल्यवृद्धि र शेयर बजारमा आएको गिरावटका कारण भारु पनि निकै कमजोर भएको अनुमान गरिएको छ ।

यसअघि सन् २०१४ मा एकै वर्ष भारु २५ प्रतिशतले कमजोर भएको थियो तर त्यति बेला एक डलर बराबर ६३ रुपैयाँ ३३ पैसा मात्रै रहेको थियो । 

यसैबीच भारतमा विदेशी मुद्राको सञ्चितिमा पनि निकै कमी आएको छ । भारतको विदेशी मुद्रा सञ्चिति आठ अर्ब डलर घटेर पाँच खर्ब ८० अर्ब डलर कायम रहेको बीबीसी हिन्दीले जनाएको छ । यो पछिल्लो १५ महिनायताकै कम सञ्चिति रहेको रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले जनाएको छ ।

यसअघि सन् १९९१ मा भारतमा विदेशी मुद्रा सञ्चिति एक अर्ब डलरभन्दा तल झरेको थियो, एक अर्ब डलरले भारतमा २० दिनका लागि मात्रै विदेशी वस्तु तथा सेवा आयातका लागि मात्रै पर्याप्त थियो । तर तत्कालीन प्रधानमन्त्री पीभी नरसिँह राव र वित्त मन्त्री मनमोहन सिंहको अत्यन्तै चुस्त व्यवस्थापनका कारण अर्थतन्त्र केही समयमै उठेको थियो । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया