तमोर करिडोको ट्र्याक खाेल्ने काम ८ महिनादेखि रोकियो

 साउन ३, २०७९ मंगलबार २०:३०:५९ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – चीनको तिब्बत जोड्ने तमोर करिडोर अन्तर्गतकाे दोभान ओलाङ्चुङ्गोला सडक निर्माण काम आठ महिनादेखि राेकिएकाे छ । वन क्षेत्रको प्रयोग गर्न गएको वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिए पनि अहिलेसम्म कार्यान्वयनमा आउन नसक्दा सडकको काम रोकिएको हो । 

सडक निर्माणका लागि वन क्षेत्र प्रयोग गर्दा पालना गर्नुपर्ने सर्तका कारण सडकको काम रोकिएको उत्तर–दक्षिण (मुलघाट दोभान ओलाङचुङगोला) सडक योजना कार्यालयका प्रमुख अमिन्द्र खड्काले जानकारी दिनुभयो । पालना गर्नुपर्ने सर्त अन्तर्गत ३१ दशमलव १७४ हेक्टर क्षेत्रफलभन्दा कम नहुने गरी निजी जग्गा खरिद गरी नेपाल सरकार, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तू संरक्षण विभागको नाममा सम्झौता हुनुअघि नै रजिष्ट्रेशन पास गरिदिनुपर्ने भएपछि समस्या आएको प्रमुख खड्काले बताउनुभयो ।

‘हामीलाई वन क्षेत्र प्रयोग गर्ने अनुमति प्राप्त भयो तर पालना गर्नुपर्ने सर्त कार्यान्वयन गर्न समस्या भएकाले काम रोकिएको हो’, कार्यालय प्रमुख खड्काले भन्नुभयो, ‘सर्त पालना गर्न सकिने किसिमको नै छन् । सट्टा जग्गा उपलब्ध गराउने प्रक्रियामा जानका लागि नै कम्तीमा पनि तीनदेखि चार वर्षसम्म लाग्न सक्छ । त्यसैले अन्य विकल्पको बारेमा छलफल गरिरहेका छौँ ।’ 

सडक निर्माणका क्रममा ६ सय २७ वटा रुख कटान गर्नुपर्नेछ । ती रुखको सट्टामा प्रतिहेक्टर १६ सय बिरुवा रोप्नुपर्ने पनि सर्तमा उल्लेख गरिएको छ । अन्य सबै सर्तहरू कार्यान्वयन गर्न सहज भए पनि यो सर्तका कारण समस्या भएको प्रमुख खड्काले बताउनुभयो । ‘राष्ट्रिय निकुञ्ज वा वन्यजन्तु विभागलाई जग्गाको सट्टा रकम दिँदा नहुने प्रावधान रहेको छ’, उहाँले भन्नुभयो । 

जग्गाको सट्टा पैसा दिँदा हुने भए बढीमा तीन महिनामा ट्र्याक खोल्ने काम पूरा हुने खड्काको भनाइ छ । यो खण्डको दुई किलोमिटर सडक खन्न बाँकी रहँदा काम रोकिएको हो । सुकेपानी भन्ने ठाउँमा पुगेपछि काम ठप्प छ । 

मोरङको रानी भन्सारदेखि ताप्लेजुङ हुँदै चीनसँग सीमा जोडिएको टिपतला भन्ज्याङ (३०० किमी) सडकको ट्रयाक २०७९ असार समान्तसम्म सक्ने गरी ४२ करोड रुपैयाँमा सम्झौता भएको थियो । यो सडकको काम २०६६ देखि सुरु भएको हो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया