नेपाली रड पहिलो पटक भारत निर्यात

 साउन ४, २०७९ बुधबार १३:५७:४६ | रासस
unn.prixa.net

रुपन्देही – वर्तमान सरकारले चालु आर्थिक वर्षको बजेटमा प्रस्तुत गरेको प्रावधानका कारण नेपाली उद्योगीले सिमेन्ट र रड निर्यात गर्न थालेका छन् । बजेटमा निर्यातमा नै छुट दिने व्यवस्था गरिएकाले उद्योगी व्यवसायीले निर्यात सुरु गरेका हुन् । यसबाट व्यापार घाटा घटाउन सहयोग पुग्ने विश्वास लिइएको छ । 

बजेटमा निर्यातमा छुटको घोषणा भएसँगै श्री स्टिलले आज बुधवारदेखि रड निर्यात गर्न लागेको हो । रुपन्देहीको सेमरहवामा सञ्चालित श्री स्टिलले पहिलो चरणमा आज दुई ट्रक रड भारत निर्यात गर्न लागेको जनाएको छ ।

उद्योगका सञ्चालक राजेश अग्रवालले आजदेखि औपचारिक रूपमा रड भारत निर्यात गर्न लागिएको जानकारी दिनुभयो । उहाँले सरकारले निर्यातमा सहजीकरणको घोषणा गरेसँगै रड निर्यात सुरु गर्न लागिएको बताउनुभयो ।

तत्कालीन अर्थमन्त्री जनादन शर्माले उच्च निर्यात सम्भावना भएको क्लिङ्कर, सिमेन्ट, स्टिल, फुटवेयर र प्रशोधित पानी तथा सूचना प्रविधिमा आधारित क्षेत्र  पहिचान गरी निर्यात प्रवर्द्धन गर्ने व्यवस्था बजेटमा गर्नुभएको छ । 

त्यस्ता वस्तुमा आठ प्रतिशतसम्म नगद अनुदान उपलब्ध गराइने गरी बजेट सार्वजनिक गर्नुभएको थियो । बजेटमार्फत नै सरकारले निर्यातमा सहजीकरण गरेपछि सिमेन्ट, रड उद्योगीले निर्यात गर्न थालेका हुन् । पहिलो चरणमा परीक्षणस्वरूप ५० टन रड निर्यात गर्न लागिएको छ । 

नेपालको व्यापार घाटा कम गर्ने उद्देश्यका साथ भारतीय बजारमा रड पठाउन लागेको उद्योगीले जानकारी दिएका छन् । श्री स्टिलले भारत सरकारबाट गुणस्तर प्रमाणीकरण अनुमति पाएसँगै परीक्षणका लागि रड निर्यात सुरु गरिएको जनाएकाे छ ।  

सरकारले निर्यातमा नगद छुटको घोषणा गरेसँगै यसअघि तानसेन सिमेन्ट उद्योगले नेपाली सिमेन्ट भारत निकासी सुरु गरिसकेको छ ।  

सोसँगै अर्घाखाँची, जगदम्बा, सर्वोत्तम र सौर्य सिमेन्टले नेपाली सिमेन्ट भारत निर्यातका लागि तयारी थालेका छन् । यी उद्योगहरूले भारत सरकारबाट गुणस्तर प्रमाणीकरणको अनुमतिको पर्खाइमा रहेको जनाएका छन् ।

भारत सरकारले गुणस्तर प्रमाणीकरणको अनुमति दिनै १५ महिनाभन्दा बढी समय लगाएको भन्दै व्यवसायीले दुई देशका सरकारबीच समन्वय गरेर सहज रूपमा अनुमति दिनुपर्ने माग राखेका छन् । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया