जनमत गुमाएकाहरू प्रधानमन्त्री बन्न देश/विदेश दाैडाहामा निस्केका छन् : पाेखरेल

 साउन ४, २०७९ बुधबार १८:१५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्नका लागि देश/विदेश दौडाहामा निस्केको टिप्पणी गर्नुभएको छ । १२ प्रतिशत जनमतलाई समेत प्रभावित पार्न नसक्ने अध्यक्ष दाहालले प्रधानमन्त्री बन्ने प्रयास गर्नु लोकतन्त्रका लागि लज्जाको विषय भएको महासचिव पोखरेलको भनाइ थियो । 

आज बुधवार काठमाण्डाैमा आयोजित अनलाइन समाचार माध्यमका सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले दाहालप्रति सङ्केत गर्दै जनमत गुमाएकाहरूले देशकाे नेतृत्व गर्ने भन्ने कुरा लोकतान्त्रिक कुरा नभएको तर्कसमेत गर्नुभयो । महासचिव पोखरेलले भन्नुभयो, ‘जति साना दलहरू देशको राजनीतिमा हाबी हुन्छन्, त्यति देशले सही बाटो समाउन सक्दैन । आज तेस्रो, चौथो पार्टी प्रधानमन्त्री खोज्न हिँडिराखेको, भौतारिराखेको सुन्दा नेपालको लोकतन्त्रले सही बाटो समातेको छ र ? १२ प्रतिशतको जनमतलाई प्रभावित गर्न समार्थ्य नराख्ने प्रधानमन्त्री खोज्न देश/विदेश दौडाहामा कुदेको छ । योभन्दा लज्जाजनक लोकतन्त्र के हुन्छ त ?’

महासचिव पोखरेलले कालो धनलाई सेतो बनाउने आफ्नो प्रयास असफल भएपछि सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि प्रहार गरिरहेको आरोप लगाउनुभयो । उहाँले गभर्नरलाई एमालेको कुनै विभागको सदस्यको रूपमा मुछेर सरकारले हटाउने प्रयास गरिहेको भन्दै आपत्तिसमेत जनाउनुभयो । महासचिव पोखरेलले गभर्नर अधिकारीलाई पदबाट हटाउने काम गरिए देश श्रीलङ्काकरण हुने दाबी गर्नुभयो । 

महासचिव पोखरेलले गभर्नर अधिकारी एमालेको कुनै पनि विभागमा नरहेको कुरा उहाँ स्वयंमले भनेपछि त्यसमाथि थप बहसको कुनै जरुरी नरहेको पटक–पटक दोहोर्‍याउनुभयो । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया