‘रुसी सेना अब पूर्वी युक्रेनमा मात्र केन्द्रित रहँदैन’

 साउन ४, २०७९ बुधबार २०:९:३८ | एजेन्सी
unn.prixa.net

युक्रेनमा रुसको सैन्य लक्ष्य ‘केवल’ पूर्वमा मात्र केन्द्रित नरहने रुसले जनाएको छ ।

विदेशमन्त्री सर्गेई लाभरोभले भन्नुभयो,  ‘पश्चिमी हतियारको आपूर्तिले क्रेमलिनको अपेक्षामा परिवर्तन आएको छ । लाभरोभले राज्य सञ्चालित एक सञ्चारमाध्यमलाई दिएको अन्तवार्तामा भन्नुभयो, ‘अहिले भूगोल फरक छ । यो डोनेट्स्क पिपुल्स रिपब्लिक (डीएनआर)  र लुगान्स्क पिपुल्स रिपब्लिक (एलएनआर) को बारेमा मात्र नभइ खर्सन क्षेत्र, जापोरिज्हिया क्षेत्र र अन्य धेरै क्षेत्रहरूको बारेमा पनि हो । यो प्रक्रिया निरन्तर रूपमा चलिरहेको छ ।’ 

मस्को समर्थकको बाहुल्यता रहेको डोनेट्स्क र लुगान्स्क पूर्वी युक्रेनमा छन् । रुसी सेनाहरूले दक्षिणी खर्सन क्षेत्र र दक्षिणपूर्वी क्षेत्र जापोरिज्हियाका केही भागहरूलाई पनि नियन्त्रण गरिसकेका छन् ।

लाभरोभका अनुसार मस्कोको लक्ष्य युक्रेनलाई ‘नाजी र सैन्य’ मुक्त बनाउने पूरानो नै रहेको भए पनि मार्च २०२२ मा मस्को र कीभबीच इस्तानबुल वार्ता भएदेखि ‘भूगोल’ परिवर्तन भएको छ ।  

रुसी विदेशमन्त्री लाभरोभले भन्नुभयो, ‘किएभलाई अमेरिका निर्मित हिमार्स क्षेप्यास्त्र प्रणालीलगायत पश्चिमी हतियारहरूको आपूर्तिपछि मस्कोले आफ्नो योजनाहरूको पुनरावलोकन गरेको छ । यदि पश्चिमले युक्रेनलाई हतियार आपूर्ति गरिरह्यो भने रुसको भौगोलिक लक्ष्य वर्तमान रेखाबाट अझ टाढा जानेछ।’ 

लाभरोभले भन्नुभयो, ‘हामी युक्रेनको भागलाई युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की वा उनका उत्तराधिकारीले नियन्त्रण गरेमा वा रुसी इलाका तथा आफू स्वतन्त्र भएको घोषणा गरिसकेका डोनेस्क र लुगान्स्कलगायतका ठाउँमा हतियार राख्दा ती इलाकालाई प्रत्यक्ष खतरा उत्पन्न गर्ने भएकाले रुसले यसविरूद्ध लडिरहेको हो ।’

युक्रेनमा भएको आक्रमणको सुरुवातमा राजधानी किएभ लिन नसकेपछि रुसले आफ्नो सैन्य आक्रमण डोनेट्स्क र लुगान्स्कका पूर्वी क्षेत्रमा केन्द्रित गरेको छ । जुलाईको सुरुतिर मस्कोले लुगान्स्कमाथि पूर्ण नियन्त्रण भएको घोषणा गरेको थियो । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २४ मा युक्रेनमा रुसी फौज पठाइ युक्रेनविरूद्धको युद्ध सुरु गर्नुभएको थियो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया