याे अवस्थामा के आयात गर्ने/नगर्ने भन्ने अधिकार सरकार र राष्ट्र बैंककाे हाे : अध्यक्ष गाेल्छा

 साउन ६, २०७९ शुक्रबार १९:२६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र सङ्कटमा रहेको बेलामा आयात गर्ने/नगर्ने भन्ने अधिकार सरकार र राष्ट्र बैंकको भएको बताउनुभएको छ । 

आज शुक्रवार नेकपा एमालेको नीति तथा अनुसन्धान प्रतिष्ठानको उद्घाटन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले अहिलेको अवस्थामा के आयात गर्नुहुन्छ र के गर्नुहँदैन भन्ने विषय निजी क्षेत्रको सरोकारको विषय नभएको बताउनुभएको हो । उहाँले अहिले सरकारको भुक्तानी सन्तुलन, बैंकिङ तरलता के भइरहेको छ ? यो समयमा के आयात गर्नुहुन्छ, के आयात गर्नुहुन्न भन्ने कुरा निजी क्षेत्रको सरोकारको विषय नभएर राष्ट्र बैंक वा सरकारको भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘अन्य देशमा बैंकको ब्याजदर एक/दुई प्रतिशतले बढ्दा त्यहाँको अर्थतन्त्रमा ठूलो हलचल हुन्छ तर हाम्रोमा ६० प्रतिशत ब्याजदर बढेको छ, यसले हाम्रो अर्थतन्त्र कस्तो छ भनेर देखाएको छ । यस्ताे बेला के आयात गर्नुहुन्छ, के आयात गर्नुहुन्न भन्ने कुरा निजी क्षेत्रको सरोकारको विषय होइन । यो विषय राष्ट्र बैंक वा सरकारको हो । हामीले उत्पादनशील क्षेत्रमा किन लगानी गरेनौँ त ? किन बढी आयात गर्‍याैँ ?’

अध्यक्ष गोल्छाले निजी क्षेत्रले उत्पादन क्षेत्रमा लगानी गर्न नसक्नु 'कस्ट अफ डुइङ बिजनेस' अत्यधिक हुनु रहेको दाबी गर्नुभयो । उहाँले याे नघटेसम्म उत्पादन क्षेत्रमा लगानी नबढ्ने जिकिर गर्नुभयो । अध्यक्ष गोल्छाले अनुत्पादनशील क्षेत्रमा लगानी नभए सरकारकाे राजस्वसमेत नउठ्ने बताउनुभयो । उहाँले अहिले सरकारले उठाएको राजस्व व्यवसायीहरूले व्यापारमा लगानी गरेर नै उठेको भन्दै गाडी, मोटरसाइलको आयातलाई रोक्दा राजस्वसमेत रोकिने बताउनुभयो ।  

अध्यक्ष गोल्छाले पछिल्लो एक वर्षदेखि बैंक तथा वित्तीय प्रणालीमा देखिएको तरलता अभावका कारण कर्जा नपाउँदा निजी क्षेत्र निराश भएको गुनासाे गर्नुभयाे । उहाँले अझै पनि अर्थतन्त्र चलायमान नहुने र उत्पादन क्षेत्रमा लगानी न्यून रहने बताउनुभयो । उहाँले पछिल्लो समय हरेक क्षेत्रमा वस्तुको मागमा कमी आएको बताउँदै निर्माण उद्योगमा मात्रै ४० प्रतिशत वस्तुको मागमा कमी आएको बताउनुभयो ।

अर्थतन्त्रलाई चलायमान बनाउन नसकेको खण्डमा साधारण खर्च धान्न पनि कर्जा लिनुपर्ने अवस्था आउन सक्ने अध्यक्ष गाेल्छाकाे चेतावनी थियाे । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया