वाग्मती प्रदेशमा शीतभण्डारका लागि सम्झौता विपरीत थप ३ करोड ८५ लाख रुपैयाँ भुक्तानी

 साउन ७, २०७९ शनिबार १२:११:१४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - वाग्मती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले शीतभण्डार निर्माणका लागि आर्थिक वर्ष २०७७/७८ मा सम्झौता विपरीत थप ३ करोड ८५ लाख ११ हजार रुपैयाँ रकम भुक्तानी दिएको पाइएको छ ।

शीतभण्डार निर्माण गर्दा ७० प्रतिशत कृषि मन्त्रालयले बेहोर्ने र ३० प्रतिशत सहकारी संस्थाले बेहोर्ने भनिए पनि तत्कालीन सचिव डा. योगेन्द्रकुमार कार्की र योजना महाशाखाका प्रमुख डा. शरणकुमार पाण्डेले सरकारलाई थप भार पर्ने गरी ३ करोड ८५ लाख ११ हजार रुपैयाँ थप रकम भुक्तानी गरेको मन्त्रालयका एक कर्मचारीले बताएका छन् ।

प्रदेश सरकार कार्यसम्पादन नियमावली, २०७४ को नियम १६ अनुसूची १ मा थप आर्थिक दायित्व बहन गर्ने व्यवस्था उल्लेख गरिएको छैन । थप रकम निकासा गरेकोमा महालेखा परीक्षकको कार्यालयले पनि प्रश्न गरेको छ । मन्त्रालयले ७० प्रतिशत र फलफूल तथा तरकारी सहकारी संस्था लिमिटेड, बेनीघाट रोराङको ३० प्रतिशत लागत साझेदारीमा १ हजार ५ सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गर्ने सम्झौता भएको थियो ।

यो शीतभण्डार निर्माण गर्न १२ करोड ८३ लाख ७० हजार रुपैयाँमा सम्झौता भएको थियो । यस विषयमा महालेखाले थप रकम दिन नहुने भनेको छ । वाग्मती प्रदेश सरकारले १० वटा शीतभण्डार निर्माण गरिरहेको छ । तीमध्ये धेरैजसोको काम अलपत्र छ ।

प्रदेश कृषि मन्त्रालयका सचिव डा. सरोज पाण्डेका अनुसार ९७ करोड ८३ लाख ६३ हजार रुपैयाँ लागतमा १० वटा शीतभण्डार निर्माण सुरु भएको र अब नुवाकोटका दुईबाहेक अन्य सबैमा मेसिन जडानको काम भइरहेको छ । उहाँका अनुसार नुवाकोटको विदुर–५ र बेलकोटगढी–१० मा भने ६५ प्रतिशत मात्रै काम भएको छ । ती शीतभण्डार अबको ६ महिनाभित्र सञ्चालन गर्ने गरी काम भइरहेको र अरु अर्को महिनादेखि सञ्चालन हुने सचिव पाण्डेको भनाइ छ । मन्त्रालयले १० वटै शीतभण्डार निर्माणबापत ६५ करोड ४८ लाख ६० हजार रुपैयाँ निर्माण कम्पनीलाई भुक्तानी समेत दिइसकेको छ ।

चितवनको खैरहनी–६, धादिङको बेनीघाट रोराङ–७, रसुवाको कालीका–२, सिन्धुलीको सुनकोसी–५, सिन्धुपाल्चोकको लिसङ्खुपाखर–७ र इन्द्रावती, दोलखाको जिरी–५, रामेछापको मन्थलीमा शीतभण्डारको काम थालिएको थियो ।  प्रदेश सरकारले शीतभण्डारको निर्माणका लागि दुई वर्षको समय अवधि दिएर ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७८ मा नै हस्तान्तरण हुनुपर्ने थियो ।

विदुरमा १९ करोड ८५ लाख ८१ हजार रुपैयाँ र बेलकोटगढीमा २० करोड ३९ लाख ६८ हजार रुपैयाँ लागतमा शीतभण्डार निर्माण ठेक्का सम्झौता भएको थियो तर कोरोना महामारीका कारण काम रोक्किएर निर्माण सम्पन्न हुन दुई वर्ष ढिला भएको मन्त्रालयका सचिव पाण्डेको भनाइ छ ।

चितवनको खैरहनी–६ मा साना किसान कृषि सहकारी संस्थासँगको साझेदारीमा २०७५ साल चैत १३ मा शीतभण्डार निर्माण सम्झौता गरेर काम सुरु गरेकामा झण्डै ९५ प्रतिशत सम्पन्न भएको छ ।  १ हजार ५ सय मेट्रिक टन क्षमताको यो शीतभण्डार निर्माणका लागि १२ करोड ९४ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता गरेको थियो । यसमा ११ करोड ५२ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । 

सिन्धुपाल्चोक इन्द्रावतीमा पोखरे साना किसान कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ५ सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गर्न ५ करोड ३५ लाख ४९ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको हो । रामेछापको मन्थलीमा ५ सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणका लागि कुल ५ करोड ३० लाख ९५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।  त्यसैगरी सिन्धुलीको सुनकोसी–५ मा मुकुटेश्वर बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ५ सय मेट्रिक टन क्षमताको शीतभण्डार र सिन्धुपाल्चोकको लिसङ्खुपाखर–७ मा गोल्मुथान कृषि सहकारीसँगको साझेदारीमा शीतभण्डार निर्माणको ठेक्का सम्झौता भएको थियो ।

पाँच सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणका लागि ५ करोड ३५ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता भएर निर्माण कार्य सुरु भएको थियो । दोलखाको जिरी नगरपालिका र जिरी कृषि सहकारी संस्थासँगको साझेदारीमा ५ करोड ३७ लाख लागतमा ५ सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण थालिएको थियो । रसुवाको कालीका गाउँपालिकामा साना किसान कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ३ सय मेट्रिक टन क्षमताको शीतभण्डारकाे काम अन्तिम चरणमा पुगेको मन्त्रालयको दाबी छ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया