गौरवशाली कमरेड/रेटको बातैपिच्छे खारेजीको बयान !

 साउन ८, २०७९ आइतबार ७:५०:२५ | मिलन तिमिल्सिना
unn.prixa.net

कमरेडलाई कसैकसैले कम रेट भनेर बोलाउँछन् । कमरेड भनेको साथी, कम रेट भनेको सस्तो दरको । दर भनेको मूल्य, अथवा दाम । कम रेट भनेको मूल्य र दाम कम भएको । दाम पनि टन्न छ, दाम भएपछि मूल्य चानचुने हुने कुरै भएन । त्यसैले आफूलाई कम रेट भनेर मूल्य घटाएको सुनेपछि कमरेडको पारो तात्छ । त्यसपछि उनी रेट अर्थात दर बढाउने उपायको खोजीमा मध्यरातसम्म भाैँतारिन्छन् । कहिलेकाहीँ बोलाउनेले कम रेट भने पनि उनले आफूलाई कमरेड नै भनेको सुन्छन् र गजक्क परेर गालामा उम्रेर सेतै फुलेका सिन्के दाह्री कन्याउँछन् । अनि आफूविरुद्ध बोल्नेहरुलाई खारेज गरिदिएँ भनेर पन्छन खोज्छन् ।

आफूलाई लागेको आरोपलाई आँखै नहेरी खारेज गर्नु कमरेडहरुको खानदानी चलन हो । त्यसैले गर्नै नमिल्ने ठाउँमा पनि उनीहरु खुरुखुरु खारेज गरिदिन्छन् र खारिजबाट बनेको खारिज शब्दको अर्थलाई क्वाप्पै खाइदिन्छन् । 

कुनै स्थान, सीमा, पद आदिबाट निकालिनु, निष्कासित हुनु या बहिष्कृत हुनु खारेज हुनु हो । कसैले भनेको मन परेन भने ‘त्यो हैन’, ‘हुँदै हुन्न’ भन्न मात्र सजिलो हुन्छ । तर सजिलोलाई अप्ठ्यारो र जटिल बनाउन कमरेडहरु खप्पिस छन् । त्यसैले अर्थ न बर्थसँग बुरुक्क उफ्रेर त्यसलाई खारेज गरेँ भनेर ख्वाक्क खोक्छन् । अहिलेसम्म त उनीहरु अरुको कुरालाई मात्रै खारेज गर्ने ठाउँमा पुगेका छन् । ‘त्यो होइन’ भनेर सजिलै भन्न मिल्ने ठाउँमा पनि खारेज शब्द घुसाएर जबरजस्ती ठालु पल्टिने मति सपारेनन् भने कुन दिन उनीहरु आफैँले आफैँलाई खारेज गरिदिन्छन् र खारेजको सोझो अर्थ लाग्ने निष्कासित या बहिष्कृतको ठाउँमा पुग्छन्। त्यसपछि आफैँले खारेज भनेको कुरालाई पनि खारेज गरेँ भनेर पन्छन बेर मान्दैनन् ।

कमरेडहरुको बोलीमा लोली मिलाउँदै मिल्ने/नमिल्ने ठाउँमा शब्दको दादागिरी मच्चाउने अरु पनि धेरै छन् । हिजोआज कमरेड र ‘बढीरेड’हरुको हुलमा चर्चामा आएको अर्को शब्द हो ‘नेता व्यवस्थापन’ । व्यवस्थापन भनेको कुनै काम कुराको व्यवस्था वा प्रबन्ध मिलाउने काम । कुनै वस्तु, मालसामान आदिलाई यथास्थान र यथाक्रममा राख्ने काम । हुनुपर्ने मालसामान या वस्तुको व्यवस्थापन । तर भैरहेको छ नेताको व्यवस्थापन । हुन त जानेरै भएको होला नेता व्यवस्थापन । नेता पनि वस्तु र मालसामान भन्दा कमका छैनन् । मालसामानजस्तै बिक्री हुन्छन् । वस्तु जस्तै छरपस्ट बन्छन् । वस्तु र मालसामान झै नेताको पनि व्यवस्थापन हुन थालेको वर्षौं भैसकेछ । त्यसैले त हिजोआज मिल्ने/नमिल्ने, हुने/नहुने ठाउँमा नेताको व्यवस्थापन भएर व्यवस्था नै खलबलिएको छ ।

कुठाउँको व्यवस्थापनले व्यवस्था नै खलबलिए पनि नेताहरुको अवस्था भने जता पुगे पनि उस्तै छ । आफ्नो अवस्थालाई अस्वस्थ पाराले बखान छाँट्दै उनीहरु बातैपिच्छे भन्छन्, ‘अहिले देश गम्भीर अवस्थामा छ, म चाहिँ हल्का भाषण ठोक्दै गरेको अवस्थामा छु ।’

यसो भन्दै गर्दा उनीहरु ‘वर्तमान अवस्थालाई बडो गम्भीर ढङ्गले विश्लेषण गरिरहेको छु’ पनि भन्छन् । विश्लेषणसम्मलाई त गम्भीर भनेर जोड्न सकिएला । तर कसैसँग भेट भएको कुरालाई पनि उनीहरु गम्भीर ढङ्गले भेट भयो भन्छन् । हालै चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुसँग सबैखाले शीर्षहरुको गम्भीर भेट भयो । दिल्ली दौडिएका प्रचण्डको मोदीसँग भने गम्भीर भेट भएन । त्यसैले उनी गम्भीर भएर फर्के । तर मोदीले भेट नदिँदैमा आफू गम्भीर छैन भने, अनि गम्भीर हुँदै हिजोआज खुमलटारमा झोक्राउँदै छन् । गम्भीरको अर्थ शान्त, धीर, गहन, विचारपूर्ण, घना, सघन, जटिल, गहिराइ थाहा नपाइने गहिरो भन्ने हुन्छ । तर हाम्रा कमरेड र कमरेडसँगै घुलमिल भैरहेने बडाहरुले जहाँ पनि गम्भीर शब्द झुण्ड्याएर अर्थ बुझ्नको लागि व्याख्यात्मक टिप्पणी गर्ने अवस्थामा पुर्याएका छन् ।

व्याख्यात्मक टिप्पणी घुसाइदिएपछि कालो रातभरमा खैरो समेत नभै एकैचोटी गाढा रातो हुन्छ । व्याख्यात्मक टिप्पणीपछि यथास्थितिवादी पनि रातारात राष्ट्रवादी र क्रान्तिकारी भैदिन्छ । घरमा छँदा वर्षौँदेखि विरोध गर्दै आएको भारतीय विस्तारवाद दिल्लीमा पुगेर व्याख्यात्मक टिप्पणी थपेपछि त्यो विस्तारवादले सुखभोग, कृपा र आशीर्वादको फल दिन्छ । त्यसपछि नेपालमा रहेको चलनचल्तीको शब्द दिल्लीबाट फर्केपछि रातारात माहोलमा  बदलिन्छ । 

यता त चलनचल्तीको शब्द माहोल हैन, वातावरण हो । तर सबैथोक सीमापारिबाटै चल्ने भएपछि माहोल मात्रै उतै रोकिराख्नुपर्छ भन्ने पनि छैन । त्यसैले हाम्रा नेताहरुले माहोललाई पनि राष्ट्रियकरण गरेर आफ्नै बनाइसके । त्यसैले हिजोआज उनीहरु चुनावी वातावरणको ठाउँमा चुनावी माहोल बनाउन व्यस्त छन् । 

वातावरण कुल्चँदै माहोल बनाएर भनेकै ठाउँमा मालसामानको सट्टा नेता व्यवस्थापन गर्ने प्रतिस्पर्धामा आफूलाई महान र गौरवशाली भन्नेहरु अझै अगाडि छन् । महान भनेको ठूलो, उच्च, विशाल । गौरवशाली भनेको गौरव या महिमाले युक्त, सम्मानित । सुकेर सकिनै लागे पनि, अनुहार हेर्दा आफैँले आफैँलाई सम्मान गर्न मन नलागे पनि उनीहरु आफूलाई महान र गौरवशाली भनेर नाक ठाडो पार्छन् । उनीहरुको ठाडो नाक हेर्दै हामीले पनि हो क्यारे भनेर मानिदिनुपर्छ । नत्र हरेक कुरामा व्याख्यात्मक टिप्पणी गर्नेहरुले हामीलाई पनि खारेज गरिदिन के बेर !

अन्तिम अपडेट: चैत ९, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया