झापा कपको अन्तिम क्वाटरफाइनलमा आज एनआरटी र चित्लाङ फुटबल क्ल...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै - प्रतिनिधि सभा बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा कारागार विधेयक छलफलका लागि पेस गर्ने र आजै पारितका लागि प्रस्ताव गरिने कार्यसूची रहेको छ ।
२०७६ मंसिर २९ मा संसदमा दर्ता भएको यो विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले २०७८ वैशाखमा पारित गरेको थियो । पारित विधेयकमा खुला कारागारको अवधारणा र कैदीबन्दीलाई प्रजननको अधिकार रहनेलगायतका विषय समेटिएको छ ।
विधेयकको दफा ४२ अनुसार कैद अवधिको दुई तिहाइ अवधि भुक्तान गरिसकेको र राम्रो आचरण भएको कैदीलाई कारागार प्रशासकले खुला कारागारमा राख्न सिफारिस गर्न सक्नेछ । खुला कारागारमा रहेका कैदीलाई नेपाल सरकार, प्रदेश सरकार मातहत सञ्चालित विकास आयोजना वा कार्यक्रममा काम गर्न लगाउन सकिनेसहितका प्रावधान समेटिएका छन् ।
काम लगाउँदा कैदीबन्दीलाई सरकारले तोकेको न्यूनतम तलब दिनुपर्ने समेत व्यवस्था समेटिएको छ । यसैगरी कारागार प्रशासकले गर्भवती वा सुत्केरी बन्दीलाई बसोबास, खानपान र स्वास्थ्य परीक्षणको सम्बन्धमा विशेष व्यवस्था राखिएको छ ।
उपचारका लागि गर्भवती बन्दी कारागारबाहिर बस्न चाहे सुत्केरी भएको ६० दिन पूरा भएको भोलिपल्ट कारागार फर्किन पाउनेगरी कारागार प्रशासनले अनुमति दिनुपर्ने प्रस्ताव पनि विधेयकमा छ । यो विधेयकले कैदीबन्दीलाई बिहे र प्रजनन अधिकार दिने प्रावधानलाई पनि समेटेको छ । विधेयकको दफा २३ मा प्रजनन अधिकार सम्बन्धी व्यवस्था छ ।
बन्दीको प्रजनन अधिकार संरक्षण गर्ने प्रयोजनका लागि कारागार प्रशासकले उपयुक्त व्यवस्था गर्ने भनिएको छ । अपाङ्गता भएका वा तेस्रो लिङ्गी बन्दीको बसोबास, शौचालय, स्नान गृहको लागि तोकिए बमोजिमको व्यवस्था मिलाउनुपर्नेछ । कारागार प्रशासकले मानसिक वा शारीरिक रुपमा अस्वस्थ बन्दीलाई सरकारी डाक्टरबाट उपचार गराउनुपर्ने उल्लेख छ । त्यस्तै बन्दीको पठनपाठनको लागि पनि आवश्यक प्रबन्ध मिलाउनुपर्नेछ ।
प्रतिनिधि सभाको आजको बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पेस हुनेछ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव पनि आजको बैठकमा पेस हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।