सारङ्गी नै सहारा...

 साउन ८, २०७९ आइतबार ११:४८:५५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – सेतो कोठे ‘हाफ’ कमिज । निलो पाइन्ट । खुट्टामा निलै चप्पल । हँसिलो चेहेरा । सारङ्गी भिरेका । ढल्किँदो उमेर । र पनि माया भावले भरिएको गीत सारङ्गीको धुनमा मिसाउँदै हुनुहुन्छ, लमजुङका सीताराम गन्धर्व ।

भोटेओडारकोे चिया पसलमा भेटिनुभएका गन्धर्वले ‘मयसित एकछिन भेट नहुँदा, सिरानीको खोल भिज्यो म रुँदा.......’ यही माया भावको शब्द सारङ्गीको धुनमा मिसाउँदै, गाउँदै हुनुहुन्थ्यो ।

माया, प्रेम, मिलन, बिछोडका भावका साथै गाउँघर, उकाली, ओराली, मेलापातका गीत आफ्नो सारङ्गीको धुनमा बुन्दै सीतारामले लेकबेसी, गाउँघर, सहरबजार, चोक गल्ली डुलेको पनि झन्डै ७ दशक हुन लागिसक्यो । 

सीतारामको सारङ्गी मोह !

लमजुङ राइनास नगरपालिका-८ पिपलटारी भाटगाउँका सीताराम गन्धर्वले १२ वर्षको कलिलै उमेरदेखि सारङ्गी रेट्न थाल्नुभएका हो । सारङ्गीप्रतिको उहाँको छुट्टै अनुराग छ ।

पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्लामा पुगी आफ्नो सारङ्गीको धुन सुनाइसक्नुभएको छ, उहाँले । 

अझै पनि सारङ्गी बजाउँदै गाउँघर, सहरबजार डुलिरहनुहुन्छ । सारङ्गी बजाउँदै लमजुङसहित तनहुँ, गोरखा, कास्की, स्याङ्जा, बाग्लुङदेखि गोरखपुरसम्म पुगिसकेको उहाँ बताउनुहुन्छ ।

‘सारङ्गी बजाउँदै विभिन्न जिल्ला पुगेको छु । पश्चिमतिर झनै यसको महत्त्व गर्नुहुन्छ । सारङ्गीको धुनमा गीत सुन्न रुचाउनुहुन्छ । माया, इज्जत गर्नुहुन्छ,’ उहाँले भन्नुभयो ।

बाग्लुङमा पनि आफूले बजाएको सारङ्गीको धुन सुन्न चाहनेको जमात रहेको उहाँ बताउनुहुन्छ । ‘बाग्लुङमा पनि हामीले बजाएको सारङ्गीको धुन मन पराउनुहुन्छ । सुन्न रुचाउनुहुन्छ । बाग्लुङ्गेले निकै माया गर्नुहुन्छ । सहयोग पनि राम्रो गर्नुहुन्छ,’ उहाँले भन्नुभयो ।

त्यसो त सीतारामले प्रकाश सपूतको चर्चित गीत बोल माया गीतको भिडियोमा समेत समेत गन्धर्व दाइकै भूमिकामा अभिनय समेत गर्नुभएको छ । पहिले सञ्चारको माध्यम नहुँदाताका गन्धर्वहरुले देश, समाजका खबर, घटना, सन्देश गाउँघरसम्म पुर्याउने गरेको उहाँ बताउनुहुन्छ ।

‘पहिले खासै सञ्चारको सुविधा थिएन । रेडियो सुनेर देश, समाजका खबर टिपेर सारङ्गीको धुनमा गाउँदै गाउँघरसम्म पुर्याउने चलन थियो । गन्धर्व दाइ गाउँ पुगेपछि सारङ्गीको धुन सुन्न आउनेको भिड लाग्थ्यो,’ सीतारामले भन्नुभयो।

सारङ्गीको भरमै चलेको जीवन 

तर अहिले सञ्चारको विकास भएको छ । अहिले विभिन्न ठाउँ पुग्दा धेरैले माया, प्रेमकै गीत सुन्न रुचाउने गरेको उहाँको अनुभव छ । उहाँले सारङ्गी बजाएर पाएको सहयोगले नै जीवन चलाउँदै आउनुभएको छ । 

‘बाउबाजेबाट सारङ्गी बजाउन सिकेको । अहिलेसम्म बजाइ रहेको छु । सारङ्गी बजाउँदै गाउँटोल पुग्दा सकेको सहयोग गर्नुहुन्छ । यसैको आम्दानीले जीवन चलाएको छ । यो बिना त म बाँच्नै सक्दिनँ’ बजाउँदै गरेको सारङ्गी रोकेर मुस्कुराउँदै उहाँले भन्नुभयो ।

जीवन चलाउन मात्र नभइ आफ्नो बाउबाजेको पुर्ख्याैली पेसा संरक्षणको लागि पनि आफूले सारङ्गी बजाउन नछाडेको उहाँ बताउनुहुन्छ ।

‘अब त बुढेसकाल पनि लाग्यो । बलको काम गर्न सकिन्न । यो फेरि बाउ–बाजेको पुर्ख्याैली पेसा । यसलाई जोगाउन पनि सारङ्गी बजाउन छाडेको छैन,’ उहाँले भन्नुभयो ।

सुनिँदैनन् सारङ्गीको धुन, भतभती पोल्छ सीतारामको मन 

केही दशकअघि गाउँघरमा सारङ्गीको धुन गुञ्जन्थे । गन्धर्व दाइहरु सारङ्गीको धुनमा देश, समाजका खबर, सन्देश गाउँघरसम्म पुग्दै, सुनाउँदै हिँड्थे । गाउँघर, मेलापात, उकाली, ओरालीका साथै दुःख पीडा, वेदनाका भाव पनि उनीहरुका सारङ्गीका धुनमा मिश्रित हुन्थे ।

तर अहिले खासै गाउँघरमा सारङ्गीको धुन सुन्न पाइँदैन । गन्धर्व समुदायका नयाँ पुस्ताका युवाले चासो र चिन्ता नदिँदा यो पेसा पछिल्लो समय हराउँदै गएको बुढापाकाको बुझाइ छ । 

‘अहिलेका युवाले सारङ्गी बजाउनमा ध्यान दिँदैनन् । सारङ्गी बजाएर हिँड्न लाज मान्छन्,’ सीतारामले भन्नुभयो ।

‘मौलिक लोकभाका, बाजाको जगेर्ना गर्नुपर्छ’ 

सारङ्गी बजाउने पेसा हराउँदै गएकोमा उहाँको मन भतभती पोल्छ । जीवन निर्वाहकासाथै आफ्नो पुर्ख्याैली संस्कृति संरक्षणका लागि आफू यो उमेरमा पनि सारङ्गी बजाउँदै हिँड्ने गरेको उहाँ बताउनुहुन्छ । ‘हाम्रा मौलिक, लोकभाका, बाजा, संस्कृतिलाई जोगाउनुपर्छ’ उहाँले भन्नुभयो ।

लगत्तै सीताराम गन्धर्वले अर्को गीत पनि सुनाइहाल्नुभयो,

जति मैले फेरे नि वर्ण
सुखी ज्यानको सकिन मन पर्न 

अन्तिम अपडेट: बैशाख ६, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया