गठबन्धनकाे गाँठागुँठी नमिलेर चुनावकाे मिति घाेषणा गर्न ढिलाे भएकाे हाे ? : लालबाबु पण्डित

 साउन ८, २०७९ आइतबार १४:४६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रतिनिधि सभा सदस्य लालबाबु पण्डितले सङ्घ र प्रदेशको चुनावकाे मिति घोषणा गर्न सरकारसँग माग गर्नुभएको छ । 

आज आइतवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य पण्डितले सरकारले चुनावको मिति घोषणा गर्न ढिलाइ गरेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले चुनाव नगरि गठबन्धन टिकाउनका लागि मिति घोषणा नगरिएको हो कि भन्ने आशङ्का व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धन सरकारले निर्वाचनको मिति घोषणा गर्न किन ढिलाइ गरिरहेको छ ? गठबन्धनको गाँठागुँठी नमिलेर हो कि ? आशीर्वाद लिन गएको ठाउँबाट आशीर्वाद नपाएर हो कि ? या चुनाव नगराउने मनसायले, गठबन्धन लामो समय टिकाउनका निम्ति हो कि जनता जान्न चाहन्छन् ।’

प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले सरकारले बालविकासको उचित व्यवस्थापन गर्न नसकेको बताउनुभयो । उहाँले बालविकासमा कार्यरत सहयोगी कार्यकर्तालाई निर्धारित तलब नदिइएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । 

प्रतिनिधि सभा सदस्य बिनादेवी बुढाथोकीले राष्ट्रिय भूमि आयोगले काम सुस्त रूपमा गरेको बताउनुभयो । उहाँले जग्गाको नापी भइसकेको स्थानमा जग्गा धनी पुर्जा वितरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधि सभा सदस्य विमला विश्वकर्माले मिर्गौला र क्यान्सर पीडितलाई मासिक पाँच हजार रुपैयाँ दिने प्रतिबद्धता कार्यान्वयन गर्न सरकारलाई ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधि सभा सदस्य शान्ता चौधरीले मुक्तकमैया र मुक्तकमलरीहरूको अहिलेसम्म यथोचित पुनर्स्थान नभएको भन्दै गुनासाे गर्नुभयाे । उहाँले सरकार र मुक्त कमलरीबीच भएको दश बुँदे सहमति यथाशीघ्र कार्यान्वयन गर्न माग गर्नुभयो । 

प्रतिनिधि सभा सदस्य शेरबहादुर तामाङले नेपाली कांग्रेस नेतृत्वको सरकारले विसं २०४८ सालमा नीजिकरण गरिएको उद्योग कस्तो अवस्थामा छ त्यसको संसदीय समिति बनाएर छानबिन गर्न माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य सत्य पहाडीले सामाजिक सुरक्षा भत्ता लिन पालिकाको केन्द्रसम्म जानुपर्ने अवस्था कतिपय ठाउँमा कठिन भएका कारण वडामै घुम्ती बैंकिङ सेवामार्फत दिने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधि सभा सदस्य समिना हुसेनले मधेस प्रदेशमा महिला हिंसा र हत्याको घटना बढेको उल्लेख गर्दै अपराधी र दोषीलाई कानुनी कारबाही गर्न माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य हीरा गुरुङले द्वन्द्व पीडितको समस्या समाधान गर्नका लागि योजना ल्याउन सरकारसँग माग गर्नुभयो । राजनीतिक परिवर्तन गर्न भूमिका खेल्ने द्वन्द्व पीडितको मन नदुखाउन पनि उहाँकाे आग्रह छ । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया