मौद्रिक नीति बजेटलाई सहयोग पुग्ने गरेर आएको छ : प्रधानमन्त्री

 साउन ८, २०७९ आइतबार १९:३३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले चालु आर्थिक वर्षको मौद्रिक नीति बजेटलाई सहयोग पुग्ने गरेर आएको बताउनुभएकाे छ । आज आइतवार नेपाल उद्योग परिसङ्घको १९ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले मौद्रिक नीतिमा कृषि क्षेत्र, उत्पादनमूलक, निकासीजन्य उद्योगको विकासका लागि सहयोग पुर्‍याउने लक्ष्य रहेको बताउनुभयो । 

प्रधानमन्त्री देउवाले मौद्रिक नीतिले प्रदान गरेका सहुलियतपूर्ण व्यवस्थाहरूको उपयोग गरी उत्पादनमूलक तथा निकासीजन्य उद्योगको विकासमा लाग्न उद्योगीहरूसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘भर्खरै सार्वजनिक भएकाे माैद्रिक नीतिमा कृषि क्षेत्र, उत्पादनमूलक, निकासीजन्य उद्योगको विकासका लागि सहयोग पुर्‍याउने कुरा छ । मौद्रिक नीतिले प्रदान गरेका सहुलियतपूर्ण व्यवस्थाहरूको उपयोग गरी उत्पादनमूलक तथा निकासीजन्य उद्योगको विकासमा लाग्न अनुरोध छ । देशलाई जतिसक्दो चाँडो समृद्ध देशकाे रूपमा स्थापित गर्नुपर्ने चुनौती हाम्रा सामु छ । यसलाई मध्यनजर गरेर स्थानीय सम्भाव्यतालाई सक्दो उजागर गरेर देशभित्र उत्पादकत्व वृद्धि गर्न, रोजगारीका अवसरहरू सिर्जना गर्न र देशलाई आर्थिक रुपमा सबल र आत्मनिर्भर बनाउन आफ्नो ठाउँबाट योगदान गर्न आग्रह गर्छु ।’

कार्यक्रमलाई सम्बाेधन गर्दै प्रधानमन्त्री देउवाले स्वदेशमा उत्पादित वस्तु तथा सामग्रीहरूको उत्पादन वृद्धि र बजारीकरण गर्न जोड दिनुभयाे । उहाँले नेपालको अर्थतन्त्रमा आन्तरिक तथा बाह्य चाप परेको भन्दै यसलाई निकास दिन विदेशमा उत्पादित महँगा र विलासीपूर्ण वस्तुहरू स्वदेशमा आयात गर्न छोड्नुपर्ने बताउनुभयो । उहाँले देशले धान्न नसक्ने गरी बढिरहेको व्यापार घाटा, विदेशी मुद्राको सञ्चिति घट्दो क्रममा रहेकाेले कृषि उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले स्वदेशमा नै उत्पादन भएका वस्तु तथा सामग्रीहरूको उत्पादन वृद्धि तथा बजारीकरण गर्दै आयात प्रतिस्थापनमा सहयोग पुर्‍याउन र यसतिर लगानी केन्द्रित गर्न आग्रह गर्नुभयो । 

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘नेपालको अर्थतन्त्रमा आन्तरिक तथा बाह्य दुवै चाप परेको स्थिति छ । सरकार र निजी क्षेत्रले दुवै एकआपसमा संवाद र सहकार्य गरेर अर्थतन्त्रको चुनौतीलाई सम्बोधन गर्नुपर्ने आवश्यकता छ । कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण गरी यस क्षेत्रको विकासमार्फत आर्थिक वृद्धिको जड बलियो बनाउनु र देशकाे गरिबी तथा आर्थिक असमानता हटाउन तपाईँहरूले आफ्ना पुँजी, प्रविधिहरूलाई त्यसतर्फ केन्द्रित गर्न आवश्यक छ । विदेशी मुद्रा आर्जन हुने आर्थिक क्रियाकलापहरू बढाउनुस् । ’

कृषि क्षेत्र देशकाे अर्थतन्त्रको आधारस्तम्भ भएकोले कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण गरी यस क्षेत्रको विकासमार्फत आर्थिक वृद्धिको जड बलियो बनाउनु र देशकाे गरिबी तथा आर्थिक असमानता हटाउनुपर्ने उहाँको भनाइ छ । प्रधानमन्त्री देउवाले उद्योग व्यवसायमा बिजुलीको उपयोग बढाइ पेट्रोलियम पदार्थको आयातको उपयोगलाई ध्यान दिन पनि आग्रह गर्नुभयो । उहाँले उद्योगी, व्यवसायीहरूले तत्कालीन लाभ लिने क्षेत्रमा मात्र नभइ दीर्घकालसम्म देशकाे आर्थिक विकासमा सहयोग पुग्ने, देशभित्रको कच्चा पदार्थको अति उत्तम परिचालन गरी निकासी बढाउने र देशको अर्थतन्त्रको जग बलियो बनाउने कुरामा लगानी बढाउन आग्रह गर्नुभयो । 

प्रधानमन्त्री देउवाले देशकाे अर्थतन्त्रलाई थप बिग्रिन नदिन र ट्र्याकमा ल्याउन सरकार निजी क्षेत्रसँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको सुनाउनुभयाे । उहाँले निजी क्षेत्रलाई उद्यम, व्यवसाय गर्न आवश्यक नीतिगत व्यवस्था, पूर्वाधार सुविधा उपलब्ध गराउन सरकार सधैँ प्रतिबद्ध रहेको स्पष्ट पार्दै देशभित्र उद्योग व्यवसायको पर्याप्त विकासविना आर्थिक विकास र समृद्धि आउन नसक्ने दाबी गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया