असारमा मात्रै विदेशबाट डेढ खर्ब रुपैयाँभन्दा बढीको आयात

 साउन ९, २०७९ सोमबार ९:३२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै - सरकारले आयात नियन्त्रण गर्ने भने पनि असारमा मात्रै विदेशबाट डेढ खर्ब रुपैयाँभन्दा बढीको वस्तु भित्रिएको छ ।

भन्सार विभागकाअनुसार असारमा १ खर्ब ५७ अर्ब रुपैयाँको आयात भएको छ । जेठमा १ खर्ब ५८ अर्ब रुपैयाँको आयात भएको थियो ।

सरकारले वैशाखमा १० प्रकारका वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो । तर वैशाखमा भन्दा जेठ र असारमा आयात बढेको छ । वैशाखमा १ खर्ब ३७ अर्ब रुपैयाँको आयात भएको थियो ।  

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १९ खर्ब २० अर्ब रुपैयाँको वस्तु आयात भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २४ प्रतिशतले बढी हो । यस अवधिमा ३ खर्ब २० अर्ब रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थको आयात भएको छ । यस्तै १ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढीको भटमास, पाम र सूर्यमुखीको कच्चा तेल तथा ७३ अर्ब रुपैयाँभन्दा बढीको खाद्यान्न, ५२ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल र ल्यापटप, ४८ अर्बको सुन–चाँदी आयात भएको छ । 

गएको आर्थिक वर्षमा १ खर्ब ४१ अर्ब रुपैयाँको निर्यात भएकोमा यस वर्ष दुई खर्ब रुपैयाँको हाराहारीमा निर्यात भएको छ । निर्यात बढेको देखिए पनि मासिक रुपको तथ्याङ्क हेर्ने हो भने निरन्तर खस्किँदै गएको छ । मंसिरसम्म मासिक २० अर्ब रुपैयाँको दरले निर्यात भएकोमा त्यसपछिका महिनाहरूमा निर्यात घट्दै गएको छ ।

भटमास, पाम र सूर्यमुखीको प्रशाेधित तेल, गलैँचा, धागो र ऊनी नेपालबाट निर्यात हुने गरेको छ । एक वर्षको अवधिमा ४५ अर्ब ३५ करोड रुपैयाँको भटमासको तेल र ३७ अर्ब ९४ करोड रुपैयाँको प्रशोधित पाम तेल निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ ।

यस्तै ७ अर्ब ७१ करोड रुपैयाँको उनी गलैँचा, ५ अर्ब ७६ करोड रुपैयाँको तयारी कपडा र ५ अर्ब २१ करोड रुपैयाँको जुटका बुनिएका कपडा पनि निर्यात भएका छन् । अत्यावश्यक वस्तु मात्रै नभइ विलासिताका वस्तुको उच्च आयात तथा अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिले व्यापार घाटा बढेको छ । व्यापार घाटा बढेर १७ खर्ब २० अर्ब रुपैयाँ पुगेको भन्सार विभागको तथ्याङ्क छ ।

आर्थिक वर्ष ०७८/७९ मा व्यापार घाटा २३ प्रतिशतले बढेर १७ खर्ब २० अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड रुपैयाँको थियो।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया