पर्यटनमन्त्री श्रेष्ठसँग काठमाण्डाैका मेयर साहको भेट

 साउन ९, २०७९ सोमबार २०:३२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले भेट गर्नुभएको छ । सिंहदरबारमा रहेकाे मन्त्रालयमा भएको भेटमा मन्त्री श्रेष्ठले कोभिड–१९ महामारीबाट अति प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने मन्त्रालयको कार्ययोजनामा महानगरपालिकासँग सहकार्य गरिने बताउनुभयो । 

काठमाण्डाै, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्राको सुरुवात गर्ने योजना रहेको बताउनुहुँदै मन्त्री श्रेष्ठले काठमाण्डाैका पालिका सरकारहरूकाे सहयोग आवश्यक रहेको बताउनुभयो । साथै उहाँले विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ मन्दिर र हनुमानढोका दरबार क्षेत्रलाई सम्पदा पदयात्रामा जोड्ने योजनामा पनि महानगरपालिकाको सहयोग आवश्यक रहेको बताउनुभयो ।

साथै उहाँले पर्यटकीय यातायातलाई सहज बनाउन निजी क्षेत्रको सहकार्यमा 'होप अन हप अफ' सिटी बस सञ्चालनमा ल्याउने योजना अघि बढाइएको बताउनुभयो । महानगरपालिकाले खुला पार्क निर्माण तथा सम्पदा संरक्षण र सम्वर्द्धन गरी ऐतिहासिक सहरको पहिचानलाई थप बलियो बताउनेतर्फ अग्रसर हुनुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । स्थानीय सांस्कृतिक सम्पदाहरूको प्रवर्द्धनले आन्तरिक एवम् बाह्य पर्यटन प्रवर्द्धन हुनुका साथै नागरिककाे आर्थिक विकासमा टेवा पुग्ने मन्त्री श्रेष्ठले बताउनुभयो । 

भेटमा महानगरका मेयर साहले आउँदाे इन्द्रजात्राको अवसरमा विदेशका विभिन्न सहरका मेयर र पाहुनाहरू काठमाण्डाै आउने जानकारी दिनुहुँदै इन्द्रजात्रा व्यवस्थापनमा विभिन्न निकायबाट हुन सक्ने सहयोगबारे चासो राख्नुभएको थियो । इन्द्रजात्रालाई पर्यटन क्षेत्रको विकाससँग जोडेर अघि बढाउन विश्वका विभिन्न देशका मेयरसहित पाहुनाहरूलाई सहभागी गराउने योजना बनाइएको साहले बताउनुभयो ।

परम्परागत जात्रा, चाडपर्व, संस्कृति र सभ्यताले पर्यटकीय आकर्षण बढाउने उहाँको भनाइ छ । मूर्त–अमूर्त सम्पदा संरक्षण–सम्वर्द्धन गरी महानगरले सांस्कृतिक सहरको पहिचानलाई जीवन्त राख्नुपर्ने मन्त्री श्रेष्ठले बताउनुभयो । भेटमा मन्त्री श्रेष्ठले महानगरले गर्ने राम्रा काममा सङ्घीय सरकारको साथ र सहयोग रहने बताउनुभएको थियो । साथै उहाँहरूबीच काठमाण्डाै महानगरपालिकाले अघि बढाएको सम्पदा निर्माण–पुनर्निर्माणको अवस्थाबारे पनि छलफल भएको थियो ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया