धादिङमा पहिरोले घर पुर्दा एक जनाकाे ज्यान गयाे

 साउन १०, २०७९ मंगलबार १३:२५:४४ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - धादिङकाे  निलकण्ठ नगरपालिका-४ रानागाउँ बेसीघरमा पहिरोले घर पुर्दा एक जनाको ज्यान गएकाे छ । घरमाथिबाट आएको पहिरोले पुरिँदा ३० वर्षीया शर्मीला थापामगरको ज्यान गएकाे हाे ।

यस्तै, अरुण खाेलामा बाढी आउँदा पाँच वटा घरमा क्षति पुगेकाे छ । स्थानीय सुरेश राना र दिपेन्द्र रानाको घर पूर्ण रुपमा भत्केको छ भने राजकुमार राना, साहिँला राना र नारायण श्रेष्ठको घरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताउनुभयाे । 

पहिराे कारण बन्द भएको धादिङ बेसी मलेखु-सडक डोजरले पहिरो हटाएपछि सञ्चालनमा आइसकेकाे उहाँले बताउनु भयाे । धादिङ बेसी-तिप्लिङ, धादिङ बेसी-खाल्टे-फोस्टार, धादिङ बेसी-सुनौलाबजार सडक खण्ड भने पहिरोका कारण अवरुद्ध रहेका छन् । 

धादिङ बेसीबाट सल्यानटारतर्फ लगिएको ३३ केभी प्रसारण लाइनमा क्षति पुगेकाले धादिङको ज्वालामुखी, गङ्गाजमुना, त्रिपुरासुन्दरी र गोरखाको केही भागमा समेत विद्युत् सेवा अवरुद्ध भएको भण्डारीले बताउनु भयाे । मर्मत गरी सेवा सञ्चालनमा आउन ३/४ दिन लाग्ने नेपाल विद्युत् प्राधिकरण धादिङले जनाएकाे छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया