भरतपुर महानगरको शहरी क्षेत्रमा भूमिगत विद्युतीकरणको पहिलो फि...
माघ ११, २०८१ शुक्रबार
काठमाण्डौ – शिक्षाविद् प्रा. डा. विशालनाथ उप्रेतीले नेपाल विश्वमा सबैभन्दा बढी प्रकोपको जोखिममा रहेको देशमध्ये एक रहेकाे बताउनुभएको छ । नेपाल एसोसिएशन अफ हम्फ्रे फेलो (एनएएचएफ) र अमेरिकी दूतावासको समर्थनमा सोमवार भएको दिगो विकास शृङ्खलाको १३ औँ संस्करणको ‘विपद् न्यूनीकरण, तयारी र प्रतिकार्य गर्ने नेपालको क्षमतालाई बलियो बनाउने’ कार्यक्रममा प्रा. डा. उप्रेतीले यस्तो बताउनुभएको हो । उहाँले प्रतिघण्टा औसत एक मिलिमिटर वर्षामा पनि पहिरो जान सक्ने बताउनुभयो । उहाँका अनुसार दैनिक एक सय ४४ मिलिमिटरभन्दा बढी वर्षा हुँदा हिमाली भेगमा पहिरोको जोखिम अझ बढी हुन्छ ।
प्रा. डा. उप्रेतीले नेपालको पूर्वी, मध्य पश्चिमदेखि सुदूरपश्चिमसम्म आठदेखि आठ दशमलव पाँच रेक्टरस्केलसम्मको महाभूकम्प जान सक्ने सम्भावना रहेको पनि बताउनुभयो । ‘कोशीदेखि पूर्वमा १३ सय वर्ष र गोरखादेखि पश्चिमी क्षेत्रमा पाँच सय वर्षभन्दा बढी समय भूकम्प नगएकाले ती ठाउँमा ठूलो भूकम्प जान सक्छ । यसले दुई करोड जना मानिसलाई क्षति गर्न सक्छ’, उहाँले भन्नुभयो । प्रकोप न्यूनीकरणका उपकरणमा नेपाल धेरै पछाडि रहेको भन्दै उहाँले पूर्वचेतावनी प्रणाली स्थापना गर्न सके प्रत्येक वर्ष सयौँको जीवन बचाउन सकिने बताउनुभयो । यसका लागि सरकारले लगानी गर्नुपर्ने भए पनि कुनै चासो नदिएको प्रा. डा. उप्रेतीको गुनासो छ ।
कार्यक्रममा जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक अर्चना श्रेष्ठले मौसमी विपद् र प्रकोपमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । नेपालमा अझै पनि मौसमी विपद्को पूर्वानुमान गर्नसक्ने प्रविधि वा क्षमता विकास नभएको उहाँले बताउनुभयो । जोखिम न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय सङ्घ–संस्था र विश्वविद्यालयसँग सहकार्य गरेर अगाडि बढ्ने उहाँको भनाइ छ । ‘मौसमी विपदमा पूर्वानुमानको अवस्था पहिलाभन्दा अहिले केही सुधार भएको छ । तर प्रयाप्त स्रोत, साधनको अभाव अझै पनि छ । मोबाइलबाट एसएमएस, रेडियो–टीभीमा सूचना र विज्ञापनले पनि विपदमा असरको सम्भावना कम गर्न सहयोग पुर्याएकाे छ ।’
यस्तै प्रकोप जोखिम न्यूनीकरण विशेषज्ञ कृष्ण कार्कीले जोखिम कम गर्न महिलाको भूमिका पनि महत्त्वपूर्ण रहेको बताउनुभयो । विपद्लाई महिलाले आफ्नाे क्षमता विकास गर्ने अवसरका रूपमा लिने गरेकाले यस्तो समयमा महिलाको भूमिका महत्त्वपूर्ण हुने उहाँको भनाइ छ ।
कार्यक्रममा गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाले विपद्को पूर्वतयारी, प्रतिकार्य र पुनर्लाभको काम गृह मन्त्रालय र देशका अन्य सुरक्षा निकायबाट गरिरहेको बताउनुभयो । विपद् व्यवस्थापनको बढी जिम्मेवारी पालिकाकै भए पनि धेरै काम सङ्घीय सरकारबाट नै भएको उहाँले बताउनुभयो ।
यस्तै विपद् पूर्वतयारी नेटवर्क नेपालका उपाध्यक्ष राजु थापाले विपद् न्यूनीकरण पूर्वतयारीमा सोचेजस्तो काम हुन नसकेको गुनासो गर्नुभयो । ‘नेपालमा आपत्कालीन अवस्थाको पूर्वतयारीमा जम्मा ४१ प्रतिशतमात्र काम भएको देखिन्छ । सबै निकायले मिलेर काम गर्ने हो भने विपद् व्यवस्थापनमा सफल भइन्छ’, उहाँले भन्नुभयो ।
कार्यक्रममा इको–डिजास्टर रिस्क रिडक्शन (डीआरआरका) का कार्यक्रम प्रबन्धक सञ्चिता न्यौपानेले जोखिम नियन्त्रण र यसले पुर्याउने क्षति न्यूनीकरण गर्न नसक्नुमा सबै निकाय उत्तिकै जिम्मेवार रहेको बताउनुभयो । अहिले सबै निकाय यो विषयमा केही जिम्मेवार हुन थालेको उहाँको बुझाइ छ ।
एलुम्नी इन्गेजमेन्ट इनोभेशन फन्ड (एईआईएफ) का संस्थापक अध्यक्ष दीपक मरहट्टाले विपद् न्यूनीकरणमा विद्यालय तहबाटै विद्यार्थीलाई शिक्षा दिनुपर्ने धारणा राख्नुभयो । विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप र विभिन्न खेलको माध्यमबाट विद्यार्थीलाई विपद्को बारे जानकारी, विपद्मा बच्ने उपायबारे तालिम दिँदै आएको पनि उहाँले सुनाउनुभयो ।
कार्यक्रममा डा. मीनबहादुर क्षेत्रीले विपद् न्युनीकरण, तयारी र प्रतिकार्य गर्ने नेपालको क्षमतालाई सुदृढ गर्ने विषयमा छलफल गर्ने कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो । नेपालको शिक्षा, पर्यटन, ऊर्जा, कृषि क्षेत्रको विकासमा (एनएएचएफ) ले अनुसन्धान र काम गर्दै आएको क्षेत्रीले बताउनुभयो ।
यूएसएआईडी नेपालका डेभिड मानले नेपाल सुन्दर देश भए पनि पूर्वदेखि पश्चिमसम्म जोखिमै जोखिम रहेको बताउनुभयो । विपद्को जोखिमबाट बच्न राम्रो उपाय भए पनि नेपालमा प्रभावकारी हुन नसकेको उहाँले बताउनुभयो ।
कार्यक्रममा निष्कर्ष दिँदै नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तथा नेपाल सरकारका पूर्वसचिव दीपेन्द्र पुरुष ढकालले प्राकृतिक प्रकोपबाट बच्न सबैमा सूचनाको पहुँच हुनुपर्ने, मिडियाको सही प्रयोग, सही पूर्वानुमानको व्यवस्था हुनुपर्ने र विश्वसनीयता हुनुपर्ने बताउनुभयो । जोखिम न्यूनीकरणमा प्रशस्त अनुसन्धान भएको पनि कार्यान्वयन हुन भने बाँकी रहेको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।