रुसले ग्यास कटौती गरेपछि युरोपेली देश समस्यामा, प्रयाेग घटाउने ईयूकाे निर्णय

 साउन १०, २०७९ मंगलबार २०:२३:१६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी, फाइल फाेटाे

रुसले ग्यास कटौती गरेपछि युरोपका देश समस्यामा पर्न थालेका छन् । रुसको मुख्य ग्यास निर्यात कम्पनी गाजप्रोमले सबैभन्दा ठूलो पाइपलाइन नर्ड स्ट्रिम १ बाट हुने निर्यातमा व्यापक कटौती गरेपछि युरोपका देश समस्यामा परेका हुन् ।

आउँदो जाडोयामका लागि युरोपका धेरै देशले ग्यास भण्डारणलाई पूर्ण क्षमतामा भर्न चाहेका छन् तर रुसले निर्यात रोक्दा समस्यामा परेको बीबीसीले जनाएको छ । गएको वर्ष युरोपमा खपत भएको ग्यासको ४० प्रतिशत माग रुसले धानेको थियो । रुसले युक्रेनमा आक्रमण गरेको विरोधमा युरोपेली सङ्घ (ईयू) ले उसलाई कडा प्रतिबन्ध लगाएकाे छ । प्रतिबन्धको बदलामा रुसले ग्यास निर्यातमा कटौती गरेको छ । मागअनुसारको ग्यास उपलब्ध नभएपछि युरोपमा मूल्य बढेको छ ।

यसैबीच रुसले ग्यासमा राजनीति गरिरहेको भन्दै युरोपेली सङ्घका ऊर्जामन्त्रीहरूले प्रयोग घटाउने सहमति गरेका छन् । आज भएको वार्तापछि युरोपका ऊर्जामन्त्रीहरूले यही अगस्टदेखि आउँदो मार्च महिनासम्म ग्यासको प्रयोगमा १५ प्रतिशतले कमी ल्याउने सहमति गरेका छन् ।

जाडोयाममा ग्यासको प्रयोग घटाउने विषय चुनौतीपूर्ण भए पनि असम्भव नरहेको युरोपेली सङ्घका ऊर्जामन्त्रीहरूले  जनाएका छन् । तर ग्यास पाइपलाइनको सञ्जालमा नरहेका र वैकल्पिक ऊर्जाको सम्भावना कम रहेका देशलाई भने प्रयोग घटाउन बाध्य नपारिने खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया