पूर्व अर्थमन्त्री शर्मामाथि छानबिन गर्न बनेको समितिले प्रतिवेदन लेख्दै

 साउन ११, २०७९ बुधबार ८:५१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामाथि अध्ययन गर्न गठित संसदीय छानबिन विशेष समितिले प्रतिवेदन लेख्ने तयारी गरेको छ ।

प्रहरीको फरेन्सिक ल्याबबाट रिकभर गरिएको अर्थ मन्त्रालयको सीसीटीभी फुटेजबाट पनि यकिन तथ्य थाहा हुन नसकेपछि समितिले थप अनुसन्धान नगरि प्रतिवेदन लेख्न लागेको हो ।  समितिका सदस्यहरुबीच मत नमिल्दा कल डिटेल अध्ययन र लोकेसन ट्र्याक नगरिने भएको छ ।

रिकभर गरिएको सीसीटीभी फुटेज हेरेको समितिले करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नताको यथेष्ट प्रमाण नभेटिएको प्रारम्भिक निष्कर्ष निकालेको छ । समितिकाअनुसार फुटेजमा भएका दृष्य स्पष्ट देखिएको छैन । सीसीटीभी फुटेजमा जेठ १४ गते राति इम्बोस्ड नम्बर भएको सेतो कार अर्थ मन्त्रालयमा प्रवेश गरेको देखिए पनि त्यसमा को थियो भन्ने चाहिँ प्रष्ट भएको छैन ।

समितिले जेठ १४ गते दिउँसो १२ देखि भोलिपल्ट १२ बजेसम्मको सिंहदरबार पश्चिम र दक्षिण गेटको सीसीटीभी फुटेज मागेको मागे पनि गृह मन्त्रालयले फुटेज १६ दिनको मात्रै रेकर्ड रहने जानकारी समितिलाई दिएको छ । तर अर्थ मन्त्रालयको फुटेज रिकभर गराएको समितिले सिंहदरबार गेटको फुटेजलाई रिकभर गराउन चासो दिएको छैन ।

समितिका सदस्यबीच तत्कालीन अर्थमन्त्री शर्माको कल डिटेल हेर्ने/नहेर्ने भन्ने विषयमा विवाद हुँदा पनि अनुसन्धान प्रभावित भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको आरोप पूर्वमन्त्री जनार्दन शर्मामाथि लागेको छ ।

यो आरोपबारे छानबिन गर्न सभामुख अग्नि सापकोटाले गएको असार २२ गते ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गर्नुभएको थियो । समिति गठन भए लगत्तै अर्थमन्त्रीबाट शर्माले राजीनामा दिनुभएको थियो।  

अन्तिम अपडेट: पुस १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया