नेपालको असंलग्न परराष्ट्र नीतिमा शङ्का गर्ने ठाउँ धेरै भयो : डा. केसी

‘सरकारले एमसीसी पास गरेर आईपीएसको अङ्ग हुने बाटो खनिरहेको त होइन ?’

 साउन १३, २०७९ शुक्रबार १७:२५:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ प्राध्यापक डा. खड्ग केसीले अमेरिकी स्टेट पार्टनरशिप प्राेग्राम (एसपीपी) का कारण नेपालको असंलग्न परराष्ट्र नीतिमा शङ्का गर्ने ठाउँ धेरै भएको बताउनुभएको छ । 

आज शुक्रवार ललितपुरमा आयोजित बदलिँदो भू–राजनीतिक अवस्था र नेपालबारे अन्तरक्रियात्मक कार्यक्रममा डा. केसीले यस्तो बताउनुभएको हो । उहाँले एमसीसी साँच्चिकै आईपीएसको अङ्ग हो वा होइन भन्ने कुरा नागरिकले अझै बुझ्न नसकेको भन्दै यसबारेमा स्पष्ट हुन आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारका पछिल्ला गतिविधिबाट एमसीसी आईपीएसको अङ्ग हो वा होइन भन्ने कुरामा विश्वस्त हुनसक्ने स्थिति नरहेको बताउनुभयो । उहाँले सरकारले कतै एमसीसी पास गरेर आईपीएसको अङ्ग हुने बाटो खनिरहेको होइन ? भन्दै प्रश्न पनि गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘नेपालको असंलग्न परराष्ट्र नीतिमा शङ्का गर्ने ठाउँ धेरै छ । एमसीसी साँच्चिकै आईपीएसको अङ्ग हो वा होइन भन्ने कुरा दोधार छ । हुन त व्याख्यात्मक टिप्पणी भन्ने एउटा लाज छोप्ने आधार ल्याएको छ । तर आईपीएसको अङ्ग हो वा होइन भन्ने कुरा अझै विश्वस्त भएका छैनौँ । एमसीसी पास गरेर आईपीएसको अङ्ग हुने बाटो खनिरहेको हो कि भन्ने कुरा आउँछ । राजनीतिक दलहरू नै यस मामिलामा अलि बढी गम्भीर नभएको हो कि जस्तो लाग्छ । नेपालको मित्रता टाढाको छिमेकीसँग बढ्दै गयो भने त्यसले राष्ट्रिय सुरक्षामा पार्ने असर गम्भीर हुन्छ ।’

अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ केसीले एसपीपी भित्रभित्रै फरक नाममा ल्याउन लागिएको आशङ्का गर्नुभयो । उहाँले अमेरिकाले सन् २०१९ मा नै नेपाललाई क्रिटिकल पार्टनरको रूपमा उल्लेख गरेको बताउनु भयो । 

डा. केसीले नेपालमा बीआरआईलाई बुझेर नै पश्चिमा देशहरूले नेपाललाई बढी नियालिरहेको बताउनुभयो । उहाँले अमेरिकाका राजनीतिक र सैनिक अधिकारीहरूको बाक्लिँदो नेपाल भ्रमणले नागरिकमा विभिन्न संशय पैदा गरेको उल्लेख गर्नुभयो । भू–राजनीतिक मामिलाका विश्लेषकसमेत रहनुभएका डा. केसीले नेपालमा बीआरआईमा हस्ताक्षर गर्दा नेपाली कांग्रेस र नेकपा माओवादीको सरकार रहेको, प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत रहेको उल्लेख गर्दै सबै राष्ट्रिय दलहरूको सहमतिमा त्यो भएको बताउनुभयो । 

डा. केसीले डोनाल्ड लु अमेरिकाको विदेश मन्त्रालयका उपसचिव भएको तर नेपालमा दक्षिण एसिया हेर्ने भनिसकेपछि ठूलो रूपमा बखान गरिएको दाबी गर्नुभयो । उहाँले नेपालमा उपसचिवले नै दक्षिण एसिया थर्कमान बनाउँछन् भन्ने डर रहेको बताउनुभयो । 

अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ केसीले एमसीसी इन्डोप्यासिफिकको अङ्ग हो वा होइन भन्ने प्रशस्त बहसको विषय भएको बताउनुभयो । अमेरिकाले पटक–पटक एमसीसीको बारेमा बताइरहँदा समेत नेपालले कुनै प्रतिक्रिया र देशको स्वाधीनताका लागि खबरदारी नगर्नुले नेपाली समाज 'नलेजिबल' बनिनसकेको जस्तो महसुस भएको उहाँको भनाइ छ । 

(नोटः यो समाचार सामग्री प्राध्यापक डा. खड्ग केसीको प्रस्तुतिमा आधारित रहेर तयार पारिएको हो । प्राध्यापक केसी अन्तर्राष्ट्रिय सम्बन्धको विज्ञको रूपमा परिचित हुनुहुन्छ । साथै केसीले त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिक विभागमा प्राध्यापन गर्नुहुन्छ ।)

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया