मेयरहरुको पोखरा सम्मेलनमा महानगरका चुनौती र अबको कार्यदिशाबारे छलफल

 साउन १५, २०७९ आइतबार ९:५२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पोखरामा भइरहेको मेयरहरुको सम्मेलनमा महानगरपालिकाका मुख्य योजनाहरु तथा कार्यान्वयनका चुनौतीबारे अनुभव आदानप्रदान भएको छ ।

साझा अधिकार र साझा समस्याबारे मेयरहरुले छलफल गरी अबको कार्यदिशाबारे एजेण्डा तयार पारेका छन् । सम्मेलनबाट आएको निचोडसहित आज पोखरा घोषणा जारी हुँदैछ । ‘मेट्रो मिट नेपाल’ नाम दिइएको यो सम्मेलनमा महानगरका साझा समस्या र अबका कार्ययोजनाबारे छलफल भएको छ।

सम्मेलनमा मुख्यगरी फोहर व्यवस्थापन, पूर्वाधार तथा विकास निर्माणको व्यवस्थापन र समन्वयबारे छलफल भएको थियो । पोखरा महानगरको आयोजनामा भएको सम्मेलनमा पोखरासहित काठमाण्डौ, ललितपुर, विराटनगर, चितवन र वीरगञ्ज महानगरका मेयर, उपमेयर तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको थियो । सम्मेलनमा महानगर सञ्चालनका विद्यमान कानुन र आवश्यक सुधारका विषयमा छलफलसहित अनुभव आदानप्रदान भएको पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिनुभयो ।

महानगरलाई थप उत्तरदायी बनाउन निर्वाह गर्नुपर्ने भूमिका तथा साझा सवालका विषयलाई सम्बोधन गर्न र कामलाई सहजीकरण गर्न पनि सम्मेलन फलदायी रहेको उहाँको भनाइ छ । २ दिनसम्म छलफल र विभिन्न विषयमा विज्ञहरुको प्रस्तुतिपछि मेयर सम्मेलनले पोखरा घोषणापत्र तयार पारेको छ ।

सम्मेलनको पहिलो दिन राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष एवम् क्षेत्रीय योजनाकार डा.जगदिश चन्द्र पोखरेलले सङ्घीयता, महानगर र अबको बाटो शीर्षकमा मुख्य प्रस्तुति राख्नुभएको थियो । सम्मेलनको दोस्रो दिन हिजो पूर्वाधार विज्ञ डा.सूर्यराज आचार्यले महानगरपालिकामा पूर्वाधार विकास तथा सुशासन, सुदृढ परियोजनाका डा. अजयचन्द्र लाल र सरोज बस्नेतले महानगरपालिकामा हरित, उत्थानशील तथा विकास अपरिहार्यता सम्भावना र चुनौतीबारे प्रस्तुति राख्नुभएको थियो।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया