निजी क्षेत्रलाई २० वर्षपछि पनि बिजुली व्यापार गर्न दिन सकिँदैन : कुलमान घिसिङ

 साउन १५, २०७९ आइतबार १६:९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजी क्षेत्रलाई २० वर्षपछि पनि बिजुली व्यापार गर्न दिन नसकिने बताउनुभएको छ । 

आज आइतवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले क्रस बोर्डर विद्युत् व्यापारमा खुला पहुँच र प्रसारण मूल्य निर्धारणलाई प्राथमिकता विषयक परामर्श कार्यशालामा बोल्दै निर्देशक घिसिङले यस्तो बताउनुभएको हो । उहाँले प्राधिकरणले प्रसारण लाइनको जोखिम तथा शुल्क तिर्ने र २० वर्षपछि निजी क्षेत्रलाई व्यापार गर्न दिने कुरा हुन नसक्ने स्पष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो, ‘विद्युत् व्यापारमा भारतबाट राम्रै मूल्य आएको छ, प्राधिकरणले केही कमाइ गरेकाे छ । अब २० वर्षपछि यसलाई परिवर्तन गरेर निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिने कुरा हुँदैन ।’

निर्देशक घिसिङले प्रसारण लाइनमा वन तथा अन्य विविध कारणले प्रसारण शुल्क बढाउँदै जान नहुने बताउनुभयो । उहाँले पछिल्लो समय प्रसारण लाइनमा शुल्क उच्च हुँदै गएको बताउँदै प्रसारण लाइनको लागत कम गर्नुपर्ने उल्लेख गर्नुभयाे । विद्युतको मूल्य भारतमा राम्रो पाएकाले यो वर्ष प्राधिकरणले झन्डै १६ अर्ब रुपैयाँ विद्युत् निर्यातबाट कमाउने उहाँकाे भनाइ छ । गएकाे वर्ष प्राधिकरणले पाँच अर्ब रुपैयाँको विद्युत् निर्यात गरेको थियो ।

कार्यक्रममा ऊर्जा मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले विद्युत् उत्पादन र व्यापारका लागि मन्त्रालयले आवश्यकताअनुसार नीतिहरू परिमार्जन गर्दै गएको बताउनुभयो । उहाँले जलविद्युत् क्षेत्रको विकासका लागि लगानी बढाउन आवश्यक रहेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया