उद्याेगले मागेजति बिजुली दिन प्राधिकरण तयार छ : घिसिङ

 साउन १५, २०७९ आइतबार १७:४७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सिमेन्ट उद्योगमा ६५ प्रतिशत विद्युत् क्षमता दिन नसकेको विषय गलत भएको दाबी गर्नुभएकाे छ । आज आइतवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले क्रस बोर्डर विद्युत् व्यापारमा खुला पहुँच र प्रसारण मूल्य निर्धारणलाई प्राथमिकता विषयक परामर्श कार्यशालामा बाेल्दै उहाँले अहिले सबै उद्योगमा शतप्रतिशत क्षमतामा विद्युत् दिएको दाबी गर्नुभयो । 

निर्देशक घिसिङले उद्योगहरूमा विद्युतमा सामान्य समस्या हुँदा पनि ठूलो मुद्दा बनाउने काम भइरहेको भन्दै त्यस्तो नगर्न आग्रह गर्नुभयो । उहाँले उद्याेगहरूले मागेजति बिजुली दिन प्राधिकरण तयार रहेको भन्दै प्राधिकरणले अहिले ट्रान्समिसन र सब–स्टेसनमा लगानी बढाएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘अहिले सबै उद्योगले विद्युत सय प्रतिशत नै पाएको छ । कहिलेकाँही ट्रान्सफर्मर बिग्रिँदा समस्या हुन्छ । त्यसलाई हेरेर त्यसरी प्रचार गर्नु हुँदैन । अहिले ६ सय मेगावट क्षमताको विद्युत् स्वीकृत गरेका छौँ । विद्युतमा सामान्य समस्या हुँदा पनि ठूलो मुद्दा बनाइ दिनुहुन्छ । अहिले कुनै पनि उद्योगले विद्युत् नपाएको भन्ने छैन ।

निर्देशक घिसिङले विद्युतीय गाडीकाे कुरामा सबै विद्युतीय गाडी चलाए पनि चार सय मेगावट खपत हुँदैन भन्ने तथ्याङ्क गलत भएको दाबी गर्नुभयो । उहाँले विद्युतीय गाडीमा प्रतिकिलोमिटरमा एक रुपैयाँ पनि नपर्ने भन्दै अहिले पेट्रोल/डिजलमा २० रुपैयाँ गाडी भाडा रहेको बताउनुभयो । वातावरणमा प्रभाव पर्ने कार्बन पेट्रोलियम पदार्थबाट नै सिर्जित भएकाले कार्बन कम गर्न पेट्रोल/डिजलबाट चल्ने गाडीलाई प्रतिस्थापन गर्न जरुरी रहेको उहाँकाे भनाइ छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया