लुम्बिनी केबलकार आउँदो माघदेखि सञ्चालनमा आउने

 साउन १६, २०७९ सोमबार १३:२५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – रुपन्देहीको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पाको तिनाहुँ गाउँपालिका वसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केबलकार आउँदो माघदेखि सञ्चालनमा आउने भएको छ । 

भर्खरै सम्पन्न कम्पनीको विशेष साधारण सभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी केबलकार प्राइभेट लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकारको निर्माण आउँदाे पुसभित्र सम्पन्न हुने र माघ १ गतेदेखि सञ्चालनमा आउने बताउनुभएको हो । झन्डै तीन किलोमिटर लामो केबलकारको यात्रापछि पुगिने वसन्तपुर डाँडामा सुविधा सम्पन्न होटल, मनोरञ्जन पार्क र मन्दिरसहितका संरचनाहरू निर्माण हुनेछन् । केबलकारको तल्लो स्टेशनसम्म पुग्ने झन्डै चार सय मिटर पहुँचमार्गको निर्माण कार्य सम्पन्न भएको छ । 

‘तल्लो स्टेशनको सब–इस्ट्रक्चरको निर्माण कार्य झन्डै सम्पन्न भइ सुपर स्ट्रक्चरको कार्य र साइट डेभलपमेन्टको काम अगाडि बढिरहेको छ । नौ वटा टावरमध्ये आठ वटा टावरको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ भने बाँकी रहेको टावरको कार्य अगाडि बढिरहेको छ’, कम्पनीका अध्यक्ष ढकालले भन्नुभयो । उहाँले माथिल्लो स्टेशनमा सब–इस्ट्रक्चरको कार्य अन्तिम चरणमा रहेको र केबलकारको उपकरण तथा पार्टपुर्जाहरूको आयात गर्ने काम अगाडि बढेको बताउनुभयो । 

त्यसैगरी माथिल्लो स्टेशनमा रहेको मन्दिर क्षेत्रको निर्माण कार्य पनि केबलकार परियोजना सँगसँगै सम्पन्न गर्नुपर्ने भएकोले अहिले कार्यरत निर्माण कम्पनीलाई नै पुरानै सर्त बमोजिम कार्य प्रारम्भ गर्न निर्देशन दिइएको उहाँले बताउनुभएको छ । ढकालले माथिल्लो स्टेशनमा प्रस्तावित होटललाई अन्तर्राष्ट्रिय चेन–होटलसँग आबद्ध गराउन अन्तर्राष्ट्रिय परामर्शदाताहरूसँग छलफल भइरहेको जानकारीसमेत गराउनुभयो ।

केबलकारको २०७७ साल फागुन १ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया