मन्त्री बडूलाई भेटेर परिसङ्घको टोलीले भन्यो– औद्योगिक क्षेत्रमा बढाइएको जग्गा भाडा घटाइयोस्

 साउन १७, २०७९ मंगलबार १५:२१:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल उद्योग परिसङ्घले औद्योगिक क्षेत्रमा रहेका उद्योगहरूको बढाइएको जग्गा भाडा तत्काल फिर्ता गर्न आग्रह गरेको छ । परिसङ्घका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारी नेतृत्वको परिसङ्घ टोलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र उद्योग सचिव अर्जनप्रसाद पोखरेललाई भेट गरी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बढाएको भाडा फिर्ता गर्न र दीर्घकालीन रूपमा समस्या समाधान गर्न आग्रह गरेको हो । 

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले २०७५ साउन १ गते देखि लागू हुने गरी अधिकतम ६ सय ८७ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको थियो । उद्योगीहरूको असहमति तथा विरोधपछि निर्णय तत्काल कार्यान्वयन नगर्न र यो विषयमा विस्तृत अध्ययन गर्न सरकारले निर्देशन दिएको थियो । तर गएको असार २२ गते बसेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पुनः २०७५ साउन १ गते देखिकै भाडा असुल गर्ने निर्णय गरेको छ । 

उत्पादनमूलक उद्योगमा हुने लगानी नै प्रभावित हुने तथा निजी क्षेत्रलाई हतोत्साहित गर्ने गरी भएको निर्णय फिर्ता लिन परिसङ्घले आग्रह गरेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले उद्योगमा रहेका उपकरणका आधारमा विद्युतको डिमान्ड चार्ज लिने, उद्योगलाई आवश्यक पानी उद्योग आफैँले बाेरिङ गरी निकालेको पानीमा समेत मिटर जडान गरी शुल्क लिने तथा अवाञ्छित किसिमले जग्गाको भाडा बढाउने लगायतका कार्यप्रति परिसङ्घको गम्भीर आपत्ति रहेको छ । 
कार्यवाहक अध्यक्ष अधिकारीले छिटो समस्या समाधान गरी उद्योगहरूलाई सहज रूपमा काम गर्ने वातावरण बनाइदिन आग्रह गर्नुभयो । परिसङ्घसँगको भेटमा मन्त्री बडूले भाडा वृद्धिसम्बन्धी विषयलाई मन्त्रालयले उच्च प्राथमिकतामा राखेको र निजी क्षेत्रसँगको सहकार्यमा समाधान गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उद्योग सचिव पोखरेलले औद्योगिक क्षेत्रमा लगानीकर्ताले सहज रूपमा उद्योग सञ्चालन गर्न पाउनुपर्ने भन्दै उद्योगी र औद्याेगिक क्षेत्र व्यवस्थापन लिमिटेडबीच छलफल गरी दीर्घकालीन रूपमा समस्या समाधान गरिने बताउनुभयो । 

अन्तिम अपडेट: पुस १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया