स्वास्थ्यमाथि खेलबाड गर्ने १ सय १५ विरुद्ध मुद्दा दायर, ‘फलफूलदेखि प्रशाेधित पानीसम्म गुणस्तरहीन’

 साउन १७, २०७९ मंगलबार १९:१९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गुणस्तरहीन खाद्य वस्तु बेचेर उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने एक सय १५ वटा उद्योग, फर्म र व्यापारीविरुद्ध सरकारले मुद्दा दायर गरेको छ । आज मङ्गलवार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पत्रकार सम्मेलन गर्दै बजार अनुगमन गरी सङ्कलन गरिएका नमुना परीक्षणबाट दोषी देखिएका एक सय १५ उद्योग, फर्म र व्यापारीविरुद्ध मुद्दा दायर गरेको जानकारी दिएको हो ।

विभागले गएकाे आर्थिक वर्षमा बजार अनुगमन गरी चार हजार ६ सय ६० वटा नमुना सङ्कलन गरेको थियो । सङ्कलित नमुनामध्ये पाँच दशमलव ४२ प्रतिशत मापदण्ड विपरीत पाइएको विभागले जनाएको छ । विभागले अनुमगन गर्दा फलफूल तथा सागपातजन्य पदार्थ सबैभन्दा प्रतिकूल पाइएको बताएको छ । पत्रकार सम्मलेन बोल्दै विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले परीक्षणबाट फल तथा सागपातजन्य पदार्थका ६१ वटा नमुना दूषित देखिएको बताउनुभयो । उहाँले खाद्यान्न/दलहनजन्यका ५३, प्रशोधित पिउने पानीका २९, दाना पदार्थका १७, दूध तथा दुग्ध पदार्थका १५, तेल तथा घिउजन्यका १४, चिया कफीका १३, मसलाका ६, गुलियो पदार्थका चार, मासु तथा मासुजन्यको एक र अन्यको ११ गरी दुई सय २४ वटा नमुनाको परीक्षण प्रतिवेदन प्रतिकूल पाइएको बताउनुभयो ।

उहाँले दूषित खाद्य पदार्थ बेचेको अभियोगमा एक सय १५ वटा मुद्दा दायर गरिएकामध्ये खाद्यान्न एवम् दलहन तथा त्यसबाट बनेका पदार्थका सबैभन्दा धेरै ३० वटा रहेको बताउनुभयो । उहाँले दूध तथा दुग्ध पदार्थका १९, दानाको १८, प्रशोधित पिउने पानीकाे १४, चिया तथा कफीका आठ वटा मुद्दा दायर गरिएको बताउनुभयो । त्यस्तै फल तथा सागपातका सात, मसला पदार्थका पाँच, गुलियो पदार्थका तीन, तेल तथा घिउजन्यको दुई, सोयाससको एक र अन्य आठ वटाविरुद्ध पनि विभागले जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । 

विभागले गएकाे आर्थिक वर्षमा खाद्य दाना उद्योग, होटल रेस्टुरेन्ट, राजमार्गका होटलमा पनि अनुगमन गरेको थियो । विभागले तत्काल सम्बोधन टोली अर्थात् 'र्‍यापिड रेस्पोन्स टिम' मार्फत कारबाहीलगायत आठ हजार आठ सय ६६ पटक निरीक्षण गरेको थियो । विभागले गएकाे वर्षको अवधिमा सात सय तीन वटा नयाँ उद्योग स्थापना गर्न सिफारिस गरेको छ भने एक हजार चार सय ८१ वटा उद्योगको अनुज्ञापत्र नवीकरण गरेको छ । यस्तै विभागले गएकाे आर्थिक वर्षमा ६ सय ३६ वटा होटल रेस्टुरेन्टमा अनुगमन गरेको थियो ।

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया