सप्तकोसीमा पानीको सतह केही घट्यो : थप राहत र उद्धारको काम आज पनि निरन्तर

 साउन १९, २०७९ बिहिबार ८:१:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - सप्तकोसी नदीमा पानीको सतह केही कम भएको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार अस्ति राति र हिजोको तुलनामा आज पानी केही कम भएको छ । हिजो बिहान सप्तकोसीको भङ्गालो फुटेर बस्तीमा पस्दा झन्डै १५ सय घरपरिवार प्रभावित भएका छन् ।

सप्तकोसी नदीको एउटा भङ्गालो उदयपुरको बेलका नगरपालिकाको डुम्रीबोटबाट तटबन्ध फुटाउँदै दक्षिण पश्चिम क्षेत्र पस्दा बेलका नगरपालिकाका १, २, ३, ८ र ९ वडाका झन्डै १५ सय घरपरिवार प्रभावित भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।  अहिलेसम्म कुनै मानवीय क्षति नभएको तर धान, मकैलगायतका खेतीबालीमा क्षति पुगेको छ । बाढीबाट प्रभावित परिवारलाई उद्धार गरी सुरक्षित ठाउँमा व्यवस्थापन गरिएको प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिनुभयो ।

उद्धार गरिएका नागरिकको आवश्यक व्यवस्थापनका लागि टेन्ट तथा अन्य बन्दोबस्तीका सामान पठाइएको पनि उहाँको भनाइ छ । सुरक्षित ठाउँमा राखिएका नागरिक तत्काल पुरानो ठाउँमा फर्कन सक्ने अवस्था छैन ।

हिजो बिहान बेलका नगरपालिकाको डुम्रीबोटबाट तटबन्ध फुटाउँदै सिसौली टप्पु–चिलिया बस्तीतर्फ पस्न सुरु गरेको थियो । बेलका नगरपालिका मेयर अशोक कार्कीको संयोजकत्वमा तीनै तहका सरकारका प्रतिनिधि, सुरक्षा निकाय र सरोकारवालाहरुबीचको बैठक बसेर बेलका र बराहक्षेत्र नगरपालिकाका मेयरको संयोजकत्वमा खोज, राहत तथा पुनर्स्थापना समिति गठन गर्ने निर्णय समेत भएको छ । बैठकले नदीले पुर्याएको तथा पुर्याउन सक्ने थप क्षतिबारे आधिकारिक सूचना सम्प्रेषण गर्न सूचना संयन्त्र निर्माण गर्ने पनि निर्णय गरेको छ ।

सप्तरीका सप्तकोसी र कञ्चनरुप नगरपालिकाका प्रभावित हुनसक्ने वडाका बासिन्दालाई सतर्क गराइएको छ । बाढी प्रभावितको आश्रयस्थलका लागि बेलका नगरपालिकाको वडा नम्बर–९ धौरीमा ५ सय घरपरिवार, वडा नम्बर–८ को एकता, चिलिया, दुर्गा मन्दिर टोलमा ५ सय घरपरिवार, वडा नम्बर–३ बुधबारे, शुक्रबारेमा ५ सय घरपरिवार, वडा नम्बर–३ बानडाँडा, रामनगर, नारायणपुरमा, शिवालयमन्दिर, लालभित्त, भागलपुरमा ८ सय घरधुरीका लागि आश्रयस्थल बनाउने निर्णय भएको छ ।

बाढी प्रभावित क्षेत्रका केही स्थानीयले घर छाड्न नमानेका र थप क्षति हुनसक्ने भन्दै जिल्ला प्रशासनले सबै नागरिकलाई सुरक्षित ठाउँतर्फ जान पनि अनुरोध गरेको छ । आवश्यक राहत र उद्धारका काम सुरक्षा निकायको सहयोगमा भइरहेको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया