पैसा लिएर विदेश नपठाउने मेरिगोल्ड म्यानपावर विरुद्ध न्यायाधिकरणमा मुद्दा दायर

 साउन १९, २०७९ बिहिबार ११:४१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीका लागि युक्रेन लगायतका देशमा पठाइदिन्छु भन्दै ३८ जनाबाट रकम लिएर नपठाएको पाइएपछि वैदेशिक रोजगार विभागले मेरिगोल्ड ओभरसिज प्रालि विरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ ।

वैदेशिक रोजगारीको काम गर्न विभागसँग इजाजत लिई सञ्चालनमा रहेको मेरिगोल्ड म्यानपावरका सञ्चालक र कर्मचारीले रोजगारीको लागि युक्रेन लगायतका देशमा पठाइदिन्छु भन्दै ३८ जनाबाट १ करोड ८६ लाख १५ हजार २ सय रकम लिई रोजगारीमा नपठाई ठगी गरेको भन्दै विभागमा उजुरी परेपछि जाँचबुझ गर्दा ठगी गरेको पाइएपछि विभागले म्यानपावर विरुद्ध न्यायाधिकरणमा मुद्दा दायर गरिएको जनाएको छ ।

विभागका अनुसार अनुसन्धान गर्दा संस्थाका सञ्चालक रवीन्द्र कुमार श्रेष्ठ, भवानी प्रसाद कोइराला, याम बहादुर कार्की र कर्मचारी अमिर थुलुङ्गेले वैदेशिक रोजगार ऐन २०६४ को दफा ४४ बमोजिमको र गणेश प्रसाद मैनाली, सुरज कार्की र दीपेश गुप्ताले ऐनको दफा ४३ बमोजिम कसुर गरेको पुष्टि भएको छ ।

३८ जनाबाट उनीहरूले ठगी गरेको १ करोड ८६ लाख १५ हजार २ सयको ५० प्रतिशतले हुन आउने हर्जना क्षतिपूर्ति बापतको ९३ लाख ७ हजार ६ सय समेत गरी २ करोड ७९ लाख २२ हजार ८ सय पीडितहरूलाई दिलाउने गरी न्यायाधिकरणमा मुद्दा दायर भएको छ ।

मेरिगोल्ड ओभरसिज विरुद्ध वैदेशिक रोजगार ऐन २०६४ को दफा ४४ र ४३ अनुसार कैद सजाए वा संस्था खारेजी हुने प्रावधान अनुसार कारबाही हुने विभागले जनाएको छ । 

यो आर्थिक वर्षको सुरुवातमै ४ वटा म्यानपावर विरुद्ध ठगी मुद्दा दायर गरेको विभागका निर्देशक एवं सूचना अधिकारी कृष्ण प्रसाद भुसालले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया