अमेरिका ‘एक चीन नीति’ विरुद्ध गयो : नेकपा

 साउन १९, २०७९ बिहिबार १४:५४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालका कम्युनिस्ट पार्टीहरूले नेपाल एक चीन नीतिमा उभिनुपर्ने धाराणा राखेका छन् । आज बिहीवार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा कम्युनिस्ट पार्टीका वक्ताहरूले नेपाल एक चीन नीतिमा अडिग रहनुपर्ने बताएका हुन् । अमेरिकाको संसदकी सभामुख न्यान्सी पेलोसीले बुधवार ताइवानको भ्रमण गरेको विषयलाई नेपालका विभिन्न कम्युनिस्ट पार्टीहरूले अमेरिकाको यो भ्रमण एक चीन नीति विपरीत भएको बताएका छन् । 

पत्रकार सम्मेलनमा बोल्दै नेकपाका अध्यक्ष लोकनारायण सुवेदीले अमेरिकाले चीन विरोधी गतिविधिहरू गरेको यो पहिलो पटक नभएको बताउनुभयो । उहाँले अमेरिकी संसद्को सभामुखले ताइवानको प्रमुख सहर ताइपेईको भ्रमण गर्नु एक चीन नीतिविरुद्ध भएको भन्दै नेपाल एक चीन नीतिको पक्षमा रहनुपर्ने बताउनुभयो । 

अध्यक्ष सुवेदीले नेपाल कम्युनिस्ट पार्टीले नेपालमा जबसम्म सामन्तवाद र साम्राज्यवाद रहन्छ तबसम्म विकास सम्भव नहुने उल्लेख गर्दै आएको भन्दै अमेरिकाले आईपीएस र एमसीसी लगायतका कार्यक्रम अघि सारेर चीनविरुद्ध गतिविधि गरिरहेको बताउनुभयो । अमेरिका चीनको बढ्दो शक्ति देखेर आत्तिएको भन्दै विभिन्न देशमा घुसेर चीनिविरुद्धका गतिविधि गरिरहेको उहाँको भनाइ छ । 

त्यस्तै नेकपाका अध्यक्ष ऋषि कट्टेलले नेपाललाई अमेरिकी सैन्य अखडा बनाउन नदिने र नेपालबाट चीन विरोधी गतिविधि गर्न नदिने कुरामा नेपाल कम्युनिस्ट पाटी प्रतिबद्ध रहेको बताउनुभयो । चीनलाई घेर्ने अमेरिकी रणनीतिलाई सफल गर्न नदिने पक्षमा आफू रहेको उहाँको भनाइ छ । 

अध्यक्ष कट्टेलले नेकपाले आफूलाई एक चीन नीतिको पक्षमा दृढताका साथ अघि बढाउने पनि स्पष्ट पार्नुभयो । उहाँले अहिलेको सरकारका वर्ष दिनका गतिविधिले इन्डो–अमेरिकी हितमा समर्पित भएको सङ्केत गरेको आरोप लगाउनुभयो । उहाँले सरकार नेपालको हितलाई छोडेर शक्तिको हितमा समर्पित रहेको बताउनुभयो । 

अध्यक्ष कट्टेलले प्रशान्त क्षेत्रीय रणनीतिक अन्तर्गतको हेड क्वार्टर नेपाललाई बनाउन नुवाकोट र पाल्पामा ठूलो मात्रामा जमिन किन्न लागेको दाबी पनि गर्नुभयो ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया