संसदीय समितिको प्रश्न : प्रधानसेनापति आईपीएसको बैठकमा किन ?

 साउन १९, २०७९ बिहीबार १५:५६:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संसदीय समितिले इन्डाे–प्यासेफिक स्ट्राटेजी (आईपीएस) बैठकमा प्रधानसेनापतिले भाग लिएको विषयमा सरकारले स्पष्ट जानकारी दिनुपर्ने बताएको छ । 

आज बिहीवार सिंहदरबारमा बसेको राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको बैठकले समितिले निर्देशन दिएको बैठकमा मन्त्री, सचिव र प्रधानसेनापति उपस्थित नहुनुले झनै यसमा सशङ्कित बनाएको निष्कर्ष निकालेको हो । बैठकमा बोल्दै समिति सभापति निरादेवी जैरुले समितिले बोलाएको बैठकमा मन्त्रीको काम आइपरे पनि रक्षा मन्त्रालयका सचिव र प्रधानसेपति किन नआउनुभएको भन्दै प्रश्न गर्नुभयो । उहाँले सम्बन्धित मन्त्रालय, परराष्ट्र मन्त्रालय र प्रधानसेनापतिलाई तत्काल समितिमा उपस्थितिका लागि पत्राचार गर्न समिति सचिवलाई निर्देशन दिनुभयो । 

उहाँले भन्नुभयो, ‘सरकारले हामी एसपीपीमा सहभागी हुँदैनाैँ भनेर कुटनीतिक पत्र पठाइसकेको जानकारी दिएको छ, त्यसो हुँदाहुँदै पनि आईपीएसमा प्रधानसेनापति भाग लिइराख्नुभएको छ । समितिको ध्यानाकर्षण त्यसमा भएको छ । परराष्ट्रमन्त्रीज्यूलाई केही काम अकस्मात् आइलाग्न सक्छ । तर रक्षा मन्त्रालयका सचिव, प्रधानसेनापतिलाई पत्र गरेका छौँ । किन आउनुभएन ? यो उपस्थिति नभइसकेपछि समितिको अधिकार क्षेत्र नै कमजोर उपस्थिति रह्यो कि भन्नेसम्म समितिलाई महसुस भएको छ । भोलिका दिन कुनै पनि नजिर किन नबसोस् भने समितिले निर्णय, निर्देशन, सुझाव दिन्छ, मन्त्रीको अकस्मात् काम हुँदा रक्षा मन्त्रालयको सचिव उपस्थित हुन पनि सकस हो भने समितिको मर्यादा के ? समितिलाई सरकारले हेर्ने दृष्टि के ?’

सभापति जैरुले २०७२ भदौ २४, २०७२ असाेज १३ गते, कात्तिक १० गते, २०७४ वैशाख २१ गते, वैशाख २४ गते र २०७६ साउन २७ गते भएको एसपीपी सम्झौतासम्बन्धी दस्तावेज समितिले अध्ययनका लागि मागेको भन्दै उपलब्ध गराउन निर्देशन दिनुभयो । उहाँले आईपीएसको बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले भाग लिएकोबारे सरकारले जानकारी गराउनुपर्ने माग पनि गर्नुभयाे । 
समितिले आजको बैठकमा छलफलका लागि परराष्ट्रमन्त्री, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख, प्रधानसेनापति लगायतलाई बोलाएको थियो । 

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया