यस पटककाे चुनाव त लड्नै पर्छ, ५ वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिन्छु : अध्यक्ष नेपाल

 साउन १९, २०७९ बिहिबार १८:२४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अबको पाँच वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिने सङ्केत गर्नुभएको छ । 

आज बिहीवार काठमाण्डाैमा आयोजित नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतादेखि विभाजनसम्म पुस्तक लोकार्पण कार्यक्रममा यस्तो सङ्केत गर्नुभएको हो । उहाँले राजनीतिको बारेमा समय निकाल्न धेरै सञ्चारकर्मीले समय मागिरहे पनि आफूलाई समय निकाल्न गाह्रो भइरहेको बताउनुभयो । अध्यक्ष नेपालले ७० वर्षमा नै राजनीतिबाट टाढिने विचार गरे पनि परिस्थितिले नदिएको र ७५ वर्षमा भने सक्रिय राजनीतिबाट बिदा लिने उद्घोष गर्नुभयो । उहाँले सक्रिय राजनीतिमा अब धेरै समय बस्न मन नरहेको उल्लेख गर्दै यस पटकको चुनावमा प्रतिस्पर्धामा गएर जित्नैपर्नै दबाब रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘अब यो राजनीतिबाट पाँच वर्षपछि बिदाइ हुनुपर्ला जस्तो लागिरहेको छ । धेरै बस्न पनि जरुरी छैन । ७० वर्षमा नै बिदा हुने भनेको हो तर राजनीतिक परिस्थितिले छोड्न नै दिएको छैन । यस पटकको चुनावमा त लड्नै पर्छ । जित्नै पर्छ । राजनीतिलाई एउटा मोडमा पुर्‍याउनै पर्छ । चुनावको मिति घोषणा भइ पनि सकेको छ । अब पनि चुनावमा नउठ्ने भन्ने कुरा गर्नै भएन । डराएछ कि के हो माधव नेपाल भन्ने पर्ला । सामना गरेर, चुनावमा उठेर, विजयको ढोका बजाएर तपाईँहरूको बीचमा मैले फेरि आउनुपर्नेछ ।’

अध्यक्ष नेपालले आउँदाे प्रदेश र सङ्घको चुनावमा पाँच दलीय गठबन्धन गरेरै प्रतिस्पर्धा गर्ने उद्घोष गर्नुभयो । उहाँले भाेलि शुक्रवारकाे बैठकमा पाँच दलीय गठबन्धनको तर्फबाट आउँदाे चुनावमा मिलेर प्रतिस्पर्धा गर्ने कुराको घोषणा हुने बताउनु भयो । उहाँले अब तेस्रो शक्ति बनाउन पार्टीहरू एकजुट भइरहेको उल्लेख गर्दै शक्तिमा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी एक ठाउँमा हुनुपर्ने आवश्यकता भएको बताउनुभयो । 

अध्यक्ष नेपालले नेपाली कांग्रेसमा हामी नै सबै थोक हौँ भन्ने आशङ्का परेको व्यक्त गर्दै अरू पार्टी पनि मैदानमा छन् भन्ने सोच्न जरुरी रहेको बताउनुभयो । उहाँले नेकपा एमालेप्रति इङ्गित गर्दै आफू सर्वेसर्वा हुँ भनिरहेको र यही प्रवृत्तिले देश बिगारिरहेको उल्लेख गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया