स्मार्टच्वाइस टेक्नोलोजिज, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आईएमई बैंकद्वारा सहकारीका लागि कुप कार्ड सेवा जारी

 साउन २०, २०७९ शुक्रबार १३:३९:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्मार्टच्वाइस टेक्नोलोजिज, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आईएमई बैंक लिमिटेडले सहकार्यमा सहकारीका लागि कुप कार्ड सेवाकाे शुभारम्भ गरेका छन् । 

सबै सदस्यलाई सेवा पुर्याउन राष्ट्रिय सहकारी बैंक लिमिटेडको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीहरुका लागि एउटै ब्रान्डकाे कोप कार्ड जारी गरिएकाे हाे । भूमिका र कारोबारलाई मध्यनजर गर्दै सहकारीहरुले पनि न्यूनतम लागतमा सहजै एटीएम कार्ड जारी गर्न सक्ने प्रविधि र प्रकिया मिलाइएको छ ।

विगत केही समय अगाडिदेखि एससीटीले १०० भन्दा बढी सहकारीहरुलाई कार्ड सेवा दिइसकेकाे छ । यसरी प्रदान गर्ने कार्ड अन्तर्राष्ट्रियस्तरको चिप कार्ड र कन्ट्याक्टलेश प्रविधिमा आधारित हुने र नेपाल तथा भारतका एटीएम/पोस जुनसुकै ठाउँबाट सहजै चलाउन सकिने छ । याे कोप कार्ड ग्लोबल आईएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंकमार्फत सहकारीहरुले जारी गर्नेछन् । 

सहकारीमा आबद्ध सदस्यहरुले आफ्नो सहकारीको खाताबाट जुनसुकै बेला जहाँबाट पनि एटीएममार्फत रकम निकाल्न सक्नेछन् भने पोसकाे माध्यमबाट कुनै पनि सेवा वा वस्तु खरिद गर्न सक्नेछन्। 

यस सहकार्यले समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणालीमा र विद्युतीय कारोबारमा पहुँच बढ्दै जाने र साधारण बैंकिङ्ग कारोबारको लागि बैंक गइरहनु पर्ने बाध्यताबाट मुक्ति दिने विश्वास लिइएकाे छ ।

कार्यक्रममा बाेल्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले सार्वजनिक निजी र सहकारी क्षेत्रको सहभागिता एवम् विकास मार्फत उपलब्ध साधन श्रोतको अधिकतम परिचालनद्वारा तीव्र आर्थिक वृद्धि हासिल गर्दै दिगो आर्थिक विकास गर्दै शोषणरहित समाजको निर्माण गर्ने लक्ष्य सरकारले लिँदै आएको बताउनुभयो । 

कार्यक्रममा तारापुञ्ज मल्टिप्रपोज को-अपरेटिभ लिमिटेड, मुनाल सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र फ्रेन्डस सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड गरी तीन सहकारी पुरस्कृत भएका छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया