गठबन्धनका दलहरूले चुनावमा तालमेल गर्नु संविधान विपरीत : नेता रावल

 साउन २०, २०७९ शुक्रबार १४:३०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य डा. भीम रावलले विपरीत सिद्धान्त हुँदाहुँदै गठबन्धनका दलहरूले आउँदाे चुनावमा तालमेल गर्नु संविधान विपरीत भएको बताउनुभएको छ । 

आज शुक्रवार काठमाण्डाैमा भएकाे एक कार्यक्रममा बाेल्दै नेता रावलले जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा लिने संवैधानिक व्यवस्था भएकोले विपरीत सिद्धान्त भएका राजनीतिक दलहरूले तालमेल गर्नु गलत भएको बताउनुभयो । यस प्रकारको गठबन्धनले देशको राजनीतिलाई सिद्धान्तहीन, आर्दशहीन र गन्तव्यहीन दिशातर्फ धकेल्ने उहाँकाे भनाइ छ । 

उहाँले भन्नुभयो, ‘पाँच दलीय गठबन्धनका बैठकहरू हेर्दा ती राजनीतिक दलहरूले विपरीत सिद्धान्त हुँदाहुँदै पनि तालमेल गर्ने कुरा अगाडि सारेको हामीले पाएका छौँ । यसरी आम चुनावमा विपरीत सिद्धान्त भएका राजनीतिक दलहरूले तालमेल गर्ने कुरा नेपालको संविधानको धारा २६९ को विरुद्धमा छ । नेपालको संविधान निर्माण गर्ने बेलामा, मस्यौदा गर्ने बेलामा उहाँहरूले दलीय प्रतिस्पर्धामा जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा माग गर्ने कुराप्रति प्रतिबद्धता गरेकाे कुरा अहिले स्मरण गर्नुपर्छ । त्यस कारण आउँदाे चुनावमा यस्तो खालको सिद्धान्तहीन, गन्तव्यहीन, आदर्शहीन, मूल्यहीन, मान्यताहीन राजनीतिको बाटो होइन आ–आफ्नो सिद्धान्त र नीतिमा राजनीतिक दल अगाडि बढ्नुपर्छ । उनीहरूले त्यो घोषणापत्रको आधारमा जनतासँग मत माग्नुपर्छ । जनताले जसलाई बहुमत दिन्छ त्यसले सरकार चलाउने हो । यदि कसैले बहुमत ल्याएन भने समान राजनीतिक दृष्टिकोण, विचार, कार्यक्रम या कतिपय विषयमा समान धारणा भएका राजनीतिक दलहरूले मिलेर संयुक्त सरकार गठन गर्ने हो ।’

नेता रावलले नेकपा एमालेकाे समान विचार, समान दर्शन र समान कार्यक्रम भएका राजनीतिक दलहरूलाई मात्र एक ठाउँमा ल्याउने नीति रहेको स्पष्ट पार्नुभयो ।

अन्तिम अपडेट: चैत २२, २०८०

तपाईको प्रतिक्रिया