सिन्धुपाल्चोककाे मेलम्ची खाेलामा बाढी

 साउन २१, २०७९ शनिबार ११:१:१८ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक - हिजो रातिदेखिको वर्षाका कारण मेलम्ची खोलामा बाढी आएकाे छ । बाढीका कारण मेलम्ची र हेलम्बुका विभिन्न सडक खण्ड अवरुद्ध भएका छन् । 

मेलम्चीकाे सिमखेत, मेलम्ची नगरपालिका-२ निवुगाउँ, मेलम्ची-भोताङ सडक खण्डमा पर्ने राम्चे, हेलम्बुकाे ढुङ्ग्रे बजार लगायतमा बाढीले सडक अवरुद्ध पारेकाे इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले जानकारी दिनुभयो।  हिजो रातिको बाढीका कारण हेलम्बुकाे ग्याल्थुम बजार जोखिममा परेकाे उहाँले बताउनुभयाे।

इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक कृष्ण तिमिल्सिनाका अनुसार हेलम्बु गाउँपालिकाको वडा नम्बर ५ को शिरिषेमा पहिरोले एउटा गोठ पुर्दा तीन वटा बाख्रा मरेका छन् । याे पहिरोका कारण ७ वटा घर जोखिममा परेका उहाँले बताउनु भयाे । 

अरनिको राजमार्ग अन्तर्गत जुरेमा लेदो माटोसहित आएकाे पहिराेले सडक पुरेकाे र अहिले खुलाउने प्रयास भइरहेको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । 

यस्तै, बाढीले साँधीखोलामा रहेको ह्युमपाइप बगाएपछि ठूला मालवाहक गाडी आवतजावतमा समस्या भएकाे उहाँले बताउनुभयाे। आज बिहान याे खोलामा एउटा मालवाहक ट्रक खसेकाे तर मानवीय क्षति भने नभएको प्रहरी बस्नेतले जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया