पर्यटनमन्त्री श्रेष्ठद्वारा पशुपति क्षेत्र अवलोकन : सरसफाइमा ध्यान दिन र आगन्तुकलाई सहज हुनेगरी प्रबन्ध मिलाउन निर्देशन

 साउन २१, २०७९ शनिबार १५:५७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपतिनाथ मन्दिर क्षेत्र सफा सुग्घर राख्न र भक्तजनलाई सहज हुनेगरी प्रबन्ध मिलाउन निर्देशन दिनुभएको छ ।

आज पशुपति क्षेत्रको अवलोकन गर्दै मन्त्री श्रेष्ठले सरसफाइमा ध्यान दिन र भक्तजन, तीर्थयात्री, पैदलयात्री एवं पर्यटकलाई सहज हुने गरी सबै प्रबन्ध मिलाउन पनि पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिनुभयो । उहाँले पुनःनिर्माण भइरहेका सम्पदास्थल, विश्वरुप मन्दिर, मृगस्थली, श्लेषमान्तक वन, विभिन्न मठमन्दिर, स्तूपा, सत्तललगायत स्थलको अवलोकन पनि गर्नुभएको छ ।

यस्तै, मृगस्थली क्षेत्रमा अवस्थित लिच्छवीकालीन विश्वरूप मन्दिर पुनःनिर्माणको अवस्थाबारे पनि उहाँले जानकारी लिनुभएको छ । सांस्कृतिक एवं पुरातात्विक महत्वको पशुपति क्षेत्र खुला सङ्ग्रहालयका रूपमा रहेको बताउँदै मन्त्री श्रेष्ठले  सुरक्षा, संरक्षण र सरसफाइमा ध्यान दिनुपर्ने बताउनुभयो । घाट व्यवस्थापन, पानी, बिजुली तथा सार्वजनिक शौचालय व्यवस्थापन गरी सहज सेवा प्रवाह गर्न उहाँले निर्देशन दिनुभयो ।

सरकारले पशुपति क्षेत्र सुधार कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा राखेको र त्यसैअनुसार पशुपति क्षेत्रको बृहत्तर सुधार कार्यक्रम तथा पुनःनिर्माण कार्य भइरहेको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताउनुभयो ।    

तस्बिर साभार : मन्त्री श्रेष्ठकाे फेसबुकबाट

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया