नेपाली चिलचित्रलाई विश्वबजारीकरण गर्न प्राविधिक पक्षलाई बलियो बनाउनुपर्ने : भुवन केसी

 साउन २१, २०७९ शनिबार १८:१४:३८ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चिलचित्रलाई विश्वबजारीकरण गर्न प्राविधिक पक्षलाई बलियो बनाउनुपर्ने बताएका छन् । पोखरामा शनिबार क्याराभान नेपाल प्रालीले आयोजना गरेको ‘आफ्नो कथा आफ्नो चिलचित्र’ कार्यक्रमको उद्घाटन गर्दै केसीले नेपाली चिलचित्रलाई विश्वबजारीकरण गर्न बोर्डले दक्ष प्राविधिक उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताएका हुन् ।

आफू छाेटाे समयकाे लागि बाेर्डमा आएकाे भए पनि यस क्षेत्रका समस्याबारे परिचित भएकाले तिनकाे समाधान तथा समग्र चलचित्र क्षेत्रको सुधारका लागि काम गर्ने बताए ।

‘चलचित्र विकास बोर्डको अध्यक्षमा भर्खरै मात्र नियुक्ति भएको छ । थुप्रै समस्या छन् । जसको समाधानको बाटो खोज्दै अगाडि बढ्नेछु । समग्र चलचित्र क्षेत्रको उत्थानका लागि सम्पूर्ण चलचित्रकर्मी, पत्रकार लगायत सबैको साथको अपेक्षा छ', उनले भने, 'काम गर्न आएको हुँ । छोटो समय नै सही काम गरेर देखाउने छु ।’

यस्तै नेपालको मौलिक कथाका विषयमा आफ्नो चिन्तन पहिलेदेखि नै भएको अभिव्यक्ति उनको थियो । जीवनको ४० वर्ष आफूले चिलचित्र क्षेत्रमा बिताएकाले चलचित्र निर्देशक, निर्माता, लेखक, कलाकार, प्राविधिकका समस्यालाई नजिकबाट नियालेको उनले बताए । केसीले निर्माता तथा निर्देशक एवम् कलाकार बिमल पौडेलले चालेको कदमको प्रशंसा गरे । समाजको कथा खोज्ने कार्यमा विकास बोर्डले सक्दो सहयोग गर्ने भनाई उनको छ ।

क्याराभान नेपाल प्रालीका निर्देशक एवम् कार्यक्रम ‘आफ्नो कथा आफ्नो चिलचित्र’ का परिकल्पनाकार विमल पौडेलले नेपाली चलचित्र र दर्शकबीचको दुरी बढ्दै गएको अभिव्यक्ति प्रस्तुत गरे । चलचित्र निर्माता तथा निर्देशक शिवजी लामिछानेले चलचित्र विकास बोर्ड सेन्सरमा मात्रै सीमित नरही कथाको खोजी गर्ने र चिलचित्रको संरक्षणमा लाग्नुपर्ने बताए । उनले यसका लागि सहज नीति नियमको अवधारणामा जानुपर्ने आवश्यकतालाई सुझाएका छन् ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया