विश्व भुटानी साहित्यिक सङ्गठनको पाँचौँ संस्करण अमेरिकामा सम्पन्न

 साउन २२, २०७९ आइतबार १३:२७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्व भुटानी साहित्यिक सङ्गठन (जीबीएलओ) बृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठानको पाँचौँ संस्करण सम्पन्न भएको छ । जुलाई २९ देखि ३१ तारिखसम्म अमेरिकाको ह्यारिसबर्गमा भएको कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो । 

सिक्किमका पूर्व मुख्यमन्त्री एवम् कवि डा. पवन चाम्लिङलाई अभिनन्दन गरिएको कार्यक्रममा शिवलाल दाहाल, डा. हेमन्त घिसिङ, तिलारुपा आचार्य, विकास थुलुङ र लीला निशालाई सम्मान गरिएको थियो । कार्यक्रममा भारतीय साहित्यकार डा. महेश दाहाललाई दुई हजार एक डलर राशी रहेको ‘विभूसास दिनेश चाम्लिङ स्मृति युवा प्रतिभा पुरस्कार’ बाट पुरस्कृत गरिएको थियो । त्यस्तै ६ लाख रुपैयाँ राशीको ‘स्वीकारोक्ति आजीवन सिद्धि पुरस्कार’ बाट वरिष्ठ साहित्यकार लीलबहादुर क्षेत्रीलाई पुरस्कृत गरिएको थियो । भुटानी अमेरिकी समाजबाट सन् २०१९ देखि अहिलेसम्म विद्यावारिधि गरेका भुटानीहरूलाई अभिनन्दनसमेत गरिएको थियो । 

भारतको सिक्किम विश्वविद्यालयको भाषा तथा साहित्य विभागका डिन प्रा.डा. कविता लामाले ‘नेपाली साहित्य लेखनको स्थिति र वैश्विकीकरणको प्रवासमा भारतीय नेपाली अनि पुनर्वासित भुटानीहरू’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यस्तै साहित्यकार डा. मधु आचार्य श्रेष्ठ, भारतीय वरिष्ठ साहित्यकार विन्द्या सुब्बा, पर्यावरण लेखक विरेन हितान तथा वरिष्ठ साहित्कारहरू डा. गोविन्दराज भट्टराई र कृष्ण धरावासीले पनि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

आफ्नो भाषा, साहित्य र संस्कृतिबाट प्रतिबन्धित हुँदै देशबाट निर्वासित भएपछि आप्रवासी भुटानी युवाहरूले सुरु गरेको ‘बृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान’ ले नेपाली भाषा साहित्यका क्षेत्रको श्रीवृद्धिमा सकारात्मक काम गरेको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया