गीत–सङ्गीतमा रम्दै, अवार्ड प्राप्त गर्दै कृष्ण सापकोटा

 साउन २२, २०७९ आइतबार १७:३८:१६ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – निरन्तरको मेहनत र लगनशिलताले नै सफलतामा पुर्‍याउँछ भन्ने भनाइ कलाकार कृष्ण सापकोटाको जीवनसँग मेल खाएको छ । गायनसँगै अभिनयमा लागेका सापकोटाले मेहनत र लगनशिलताका कारण नै राष्ट्रियस्तरका विभिन्न अवार्डसमेत प्राप्त गर्न सफल भएका छन् । 

२०४८ भदौ १८ गते अर्घाखाँचीको छत्रदेव गाउँपालिका ३ बल्कोटमा जन्मिएका सापकोटा सानैदेखि गीत सङ्गीतमा बढी रूचि दिन्थे । यही क्षेत्रमै केही गर्ने आँट बोकेर काठमाण्डौ छिरेका सापकोटा १० वर्षमा आफूलाई अब्बल बनाउन सफल भए । 

सापकोटाकाका भन्छौ तिमी, भुरुरु उडेर चरी, तिम्रो यादमा, नशा लगायतका गीत आएका छन् । गायनभन्दा पनि मोडलिङमा बढी समय खर्चेका सापकोटाले अहिलेसम्म एक सय ५० वटाभन्दा बढी गीतमा अभिनय गरेका छन् । उनी गीतकार र सङ्गीतकार पनि हुन् । 

उनले यो वर्ष मात्रै ज्योति फिल्मस् अवार्ड, नेशनल नेपाल म्युजिक फेशन अवार्ड, राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड प्राप्त गरेका छन् । यसअघि २०७४ सालमा उनले नाट्यस्वोरी म्युजिक अवार्ड पाएका थिए । गीत सङ्गीत र मोडलिङको माध्यमबाट अर्घाखाँचीका नाम चिनाउन सफल भएका छन् सापकोटा । जिल्लालाई चिनाउने गीत पनि निकाल्न लागेको उनले बताए । 

२०६७ सालदेखि गीत सङ्गीत क्षेत्रमा प्रवेश गरेका सापकोटालाई विद्यालयमा हुने कार्यक्रममा शिक्षकहरूले गीत गाउनका लागि प्रोत्साहन गर्ने गर्दथे, त्यो बेलादेखि नै उनले यस क्षेत्रमा लाग्ने सोच बनाएको थिए । 
सापकोटा आफूलाई कलाकारभन्दा पनि मोडल भनेर चिनाउन बढी रूचाउँछन् । उनी भन्छन्, ‘म अबको बाँकी जिन्दगी यसैमा बिताउने छु । यस पेसामा स्थापित हुन जति गारो छ, त्योभन्दा धेरै मजा पनि छ । यो पेसाले मलाई गर्व गर्न लायक बनाएको छ ।’ 

सुरुमा गीत सङ्गीतमा लाग्दा राम्रो हुन्छ भनेर कसैले पनि नभनेको तर आफैँ जबरजस्ती यस पेसामा लागेको उनको भनाइ छ । आफ्नै कम्पनी सापकोटा प्रोडक्शनमार्फत सापकोटाले म्युजिक भिडियोदेखि कलाकारिताका काम गर्दै आएका छन् । गीत सङ्गीतमा हुनेखाने र पैसा भएकाहरू मात्रै अगाडि बढ्न सक्छन् अरूले सक्दैनन् भन्नेहरूका लागि प्रेरणको स्रोत भएर लागिपरेको उनको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया