माैद्रिक नीतिबारे डेपुटी गभर्नर : हातखुट्टा दुखेर अस्पताल गएकाे मान्छेलाई सिधैँ आईसीयूमा राख्ने काम नगराैँ

 साउन २२, २०७९ आइतबार १९:५४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले मौद्रिक नीतिपछि उद्योगी, व्यवसायी र बैंकर्सहरू निराश हुनुपर्ने अवस्था नभएको बताउनुभएको छ । आज आइतवार काठमाण्डौमा भएको एक कार्यक्रममा बोल्दै डेपुटी गभर्नर मिश्रले यस्तो बताउनुभएको हो । उद्योगी, व्यवसायी र बैंकर्सहरूले मौद्रिक नीतिपछि सबै क्षेत्र खत्तम भयो भन्ने स्थिति नभएको उहाँको भनाइ छ । 

मिश्रले एक जना मान्छे सामान्य बिरामी भएर अस्पतालमा गएकाे मान्छेलाई सिधै आईसीयूमा राख्न नहुने बताउनुभयो । उहाँले उद्योगी, व्यवसायी र बैंकर्सहरूलाई अहिलेको मौद्रिक नीतिलाई नराम्रो तरिकाबाट नहेर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो मौद्रिक नीतिबाट उद्योगी र बैंकर्सहरू निराश हुनुपर्ने अवस्था छैन । बैंकर्स सङ्घका अध्यक्षले मसँग एक पैसा पनि छैन, म पैसा दिन सक्दिन भन्नुभयो । उद्योग परिसङ्घले हामी खतम भयौँ भन्ने, अटोमोबाइल्स नाडाका अध्यक्षले हामी बर्बाद भयौँ भन्नुभयो । चेम्बरका अध्यक्ष रिसाउनुभयो । यस्तो निराश हुनुपर्ने स्थिति छैन । सामान्य हातखुट्टा दुखेर अस्पताल गएकाे मान्छेलाई सिधै आईसीयूमा लगेर सलाइन पानी चढाउन थाल्ने काम उद्योगी, व्यवसायी, बैंकर्सहरूले नगरौँ । सञ्जीवनी बुटी मौद्रिक नीतिमा शतप्रतिशत निस्कन सक्ने अवस्था छैन ।’

डेपुटी गभर्नर मिश्रले राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा सबै क्षेत्रका सुझाव लिएर त्यसको आधारमा नै नीति ल्याएको दाबी गर्नुभयो । उहाँले अर्थतन्त्र बुझेका विज्ञहरूले सिआरआर अनुपात तीन प्रतिशतबाट बढाएर चार प्रतिशत बनाउँदा राष्ट्र बैंकले मार्न खाज्यो भन्नु बुझेर पनि नबुझेको जस्तो गरेको देखिएको बताउनुभयो । 

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले मौद्रिक नीतिले सात प्रतिशत मूल्यवृद्धि कायम राख्न असम्भव रहेको बताउनुभयो । उहाँले मौद्रिक नीतिमा आठ प्रतिशतको ग्रोथ रेट र मूल्यवृद्धिलाई सात प्रतिशतमा सीमत राख्ने लक्ष्य महासङ्घलाई वास्तविक नलागेको बताउनु भयो । मौद्रिक नीतिले बैंकको ब्याजदर वृद्धि हुने भएकाले कर्जाको माग कम हुने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया