निकुञ्जमा विद्युत् लाइन भूमिगत गर्न अनुमति

 साउन २२, २०७९ आइतबार २०:२५:६ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डाै – वन तथा वातावरणमन्त्री प्रदीप यादवले पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै बाराको पिलुवासम्मको ३३ केभी विद्युत् प्रसारण लाइन भूमिगत (अन्डरग्राउन्ड) गर्न अनुमति दिनुभएको छ । मन्त्री यादवले नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बाराको पिलुवा भएर गढीमाईसम्म निर्माणाधीन एक सय ३२ केभी विद्युत् प्रसारण लाइन अन्तर्गत ३३ केभी क्षमताको भूमिगत विद्युत् प्रसारण लाइन जडानका लागि मन्त्रालयबाट अनुमति दिनुभएको हो । अनुमति नपाएर याे काम विगत तीन दशकभन्दा पनि बढी समयदेखि अगाडि बढ्न सकेको थिएन ।

पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्र हुँदै बाराको पिलुवाबाट पूर्व गढीमाई जाने मोडसम्मको ३३ केभी क्षमताको विद्युत् प्रसारण लाइन भूमिगत भएसँगै सबै समस्या समाधान हुने बताइएको छ । वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा अवस्थित उद्योग एवम् घरायसी प्रयोजनका लागि प्रसारण हुने लाइनमा पटक–पटक ट्रिपिङ हुने, विद्युत् लाइन अवरुद्ध हुने, विद्युतकाे गुणस्तर न्यून हुनेजस्ता समस्या भएपछि मन्त्री यादवले त्यस क्षेत्रमा विद्युत् प्रसारण लाइन भूमिगत गर्न अनुमति दिनुभएको थियो ।

विद्युत् प्रसारणमा पटक–पटक समस्या भएपछि त्यहाँँका उद्योग तथा नागरिक वर्षाैँदेखि आजित बन्दै आएपछि मन्त्री यादवले नागरिकको सहजताका लागि विद्युत् प्रसारण लाइन भूमिगत गर्न अनुमति दिनुभएको उहाँको सचिवालयले जनाएको छ । मन्त्री यादवले विद्युत् प्रसारण लाइन भूमिगत गर्न अनुमति दिनुभएपछि वीरगञ्ज उद्योग वाणिज्य सङ्घले मन्त्री यादवप्रति आभार व्यक्त गरेको छ ।

पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्र हुँदै बाराको पिलुवाबाठ पूर्व गढीमाई जाने मोडसम्मको ३३ केभी क्षमताको विद्युत् प्रसारण लाइन भूमिगत भएसँगै सबै समस्या समाधान हुने सङ्घकाे विश्वास छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया