सांसदकाे प्रश्न : एम अधिकारी काे हुन् ?

 साउन २४, २०७९ मंगलबार १३:२७:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारूढ नेपाली कांग्रेसका सांसद अतहर कमाल मुसलमानले एम अधिकारीको पहिचान सदनले अझै गर्न नसकेको भन्दै आपत्ति जनाउनुभएको छ । सांसद मुसलमानले सदनमा पटक–पटक उठेको एम अधिकारी को हुन् ? भन्ने विषय आम जनताको पनि सरोकारको विषय भएकाले त्यसको तत्काल पहिचान गर्न आवश्यक रहेको बताउनुभयो । 

आज मङ्गलवार प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै उहाँले एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर हुन वा होइनन् ? भन्ने कुरा आम जनताको पनि सरोकारको विषय भएकाले त्यसको पहिचान गर्न संसदले ढिलाइ गर्न नहुने बताउनुभयो । सांसद मुसलमानले भन्नुभयो, ‘यो सदनभित्र पटक–पटक उठेको एम अधिकारीलाई हामीले पहिचान गर्न सकेनौँ । के हामी घर जाँदाजाँदा एम अधिकारीको पहिचान गर्न सक्छौँ ? किनभने सदनमा पटक–पटक उठेको विषयमा हामीले जनताकाे बीचमा गएर के जवाफ दिने हो ? एम अधिकारी को हुन् ? महाप्रसाद अधिकारी हुन् कि, माधव अधिकारी हुन् ? कहाँका बासिन्दा हुन । राष्ट्र बैंकका गभर्नर हुन् वा कुनै किसान हुन् ? यसको जानकारी प्राप्त भयो भने सायद हामी जनताको माझमा जाँदा सदनमा हामीले एउटा व्यक्तिको पहिचान गर्न सक्यौँ भनेर भन्ने थियौँ ।’

नेकपा (माओवादी केन्द्र) की सांसद अञ्जना विशंखेले हरुवाचरुवा र कमलरीहरूको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभयो । उहाँले संविधानले उनीहरूको जमिनको सुनिश्चितता गरे पनि त्यसअनुसारको व्यवस्था सरकारले अझै नगरेकोमा आक्रोश व्यक्त गर्नुभयो । सांसद विशंखेले उनीहरूको पुनर्स्थापनकाे व्यवस्था गर्न ढिलाइ नगर्नसमेत सरकारलाई सचेत गराउनुभयाे । 

नेकपा एमालेकी सांसद आशाकुमारी विकले नासु भन्दा तल्लो तहका कर्मचारीको मनोबल घटाउने गरी तलब वृद्धि गरेको भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । शाखा अधिकृत भन्दामाथिको कर्मचारीको तलब २६ प्रतिशतसम्म वृद्धि गरेको तर नासु भन्दा तलका कर्मचारीको तलब १५ प्रतिशत मात्रै वृद्धि गरेर उनीहरूमाथि सरकारले अन्याय गरेको उहाँको भनाइ थियो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद उमाशंकर अरगरियाले समानुपातिक, समावेशी सहभागिता सुनिश्चित हुने गरी न्यायाधीशको नियुक्त गर्न सरकारसँग माग गर्नुभयो । उहाँले न्यायाधीशहरूको नियुक्ति संविधानले व्यवस्था गरेअनुसार समानुपातिक ढङ्गले हुने नगरेको भन्दै असन्तुष्टि जनाउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया